गण्डकी

एमाले गण्डकी : अध्यक्षमा नवराज र मायानाथको उम्मेदवारी दर्ता, प्यानल नबनेकाे दाबी

धनबहादुर गुरुङ |
असोज १७, २०८० बुधबार १६:० बजे

पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको अध्यक्षका लागि नवराज शर्मा र मायानाथ अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् । 

गण्डकीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षबीच अधिवेशन अघिदेखि नै गुटबन्दीको चर्चा चले अनुरुप नै शर्मा र अधिकारीले उम्मेदवारी दर्ता गराएका हुन् । शर्मा पृथ्वीसुब्बा पक्षबाट र अधिकारी खगराज पक्षबाट उम्मेदवार बनेका हुन् । तर, उम्मेदवारी दर्ता पछि भने दुवैले प्यानल नबनेको दावी गरेका छन् । 


उम्मेदवारी दर्ता पछि नवराज शर्माले उम्मेदवारी दर्ता भएपछि उनले प्यानल नबनेको बताए । उनले भने, ‘हामी उच्चस्तरको अभ्यास गर्ने पार्टीको कार्यकर्ता पनि हो यसलाई विधिपूर्वक राम्रो ढंगले सम्पादन गर्दा सबैले सकारात्मक रुपमा लिनुपर्छ ।’ शर्माले उम्मेद्वारी दर्ता भएपनि अझै सहमतीको सम्भावना नटरेको दावी गरें । उनले भने, ‘नोमिनेसन गरिएको छ, अझै सर्वसम्मतको प्रयास हुन्छ, सम्भव भएन भने पनि हामीले स्वच्छ मर्यादित हार्दिकताको वातावरणमा निर्वाचनमा जान्छौं,’ उनले भने, ‘हामीले पहिला पनि प्रयास गरेको हो, रिजल्ट नभइकन बाहिर आउँदैन, आन्तरिक भएका कुराहरु आन्तरिक नै भैरहेका छन्, सम्भव भएन भने स्वस्थ प्रतिष्पर्धा गर्छौ, त्यस्तो अप्ठ्यारोे मान्नुपर्ने छैन ।’ 

यता, मायानाथ अधिकारी पनि प्यानल बनेको विषय स्वीकार्दैनन् । उनले मनमिल्ने साथीले भोट माग्नु स्वाभाविक हुने तर्क गरें । ‘जहाँसम्म प्यानलको कुरा छ प्यानल हामीले बनाउने कुरा छैन, हाम्रो आचार संहिताले पनि प्यानल बनाउन पर्छ भनेको छैन,’ उनले भने, ‘स्वभाविक रुपले मन मिल्ने साथीहरु मिलेर भोट माग्ने कुरा हुनसक्छ त्यो उहाँहरुको कुरा हो, म फलानो प्यानल, ढिक्सानो प्यानल भनेर उम्मेद्वार भएको छैन ।’ 

अध्यक्षका उम्मेदवार शर्माले प्रदेशमा नेकपा एमालेको पोजिसन थप उचाईमा पुर्‍याउन उम्मेदवारी दिएको बताए । ‘संगठन कमिटीको अध्यक्षको रुपमा मैले जिम्मेवारी पाए, अधिवेशन गर्नु हाम्रो कर्तव्य थियो, यद्यपी यो बीचमा विभिन्न चुनाव लगायतका कारणले करिब दुई वर्ष यो अवधि लम्बियो,’ उनले भने,  एक कार्यकाल गण्डकी प्रदेशको अध्यक्ष हुने र पार्टीको आज जुन पोजिसनमा छ त्यसलाई अझै माथि पुर्‍याउने मनसायले अध्यक्षमा दोहोरिन खोजेको हुँ ।’

अध्यक्षका उम्मेदवार मायानाथ अधिकारीले सबैलाई समन्वय गरेर लैजानको लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् । उनले आफनो उम्मेदवारी पार्टी बलियो बनाउनका लागि भएको दावी गरें । उनले भने, ‘मलाई धेरै नेता तथा कार्यकर्ताले आग्रह गरेको कारणले उठेको हुँ, कसैलाई निषेध गर्नको लागि हैन, पार्टी बलियो बनाउन, पार्टी एकताबद्ध बनाउनका लागि हो ।’ 

गण्डकी प्रदेशमा उत्साहपूर्वक रुपमा उम्मेद्वारी दर्ता भएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता थापामगरले जानकारी दिए । ‘यो उम्मेदवारी दर्तापछि प्रारम्भिक मतदाता नामावली प्रकाशन, दावी विरोधको समय दिन्छौं । त्यसपछि दोस्रो नामावली प्रकाशन गर्छौं,’ उनले भने, ‘त्यसपछि उम्मेदवारी फिर्ताको समय साढे १ घण्टा राखेका छौं । त्यो समयसम्म सहमति भएर आयो भने सोही अनुसार अघि बढ्ने नभए विद्युतीय मतदान प्रक्रियाबाट निर्वाचन कार्य हुन्छ ।’ आफूहरु मतदान कार्य रातको समयमा नगर्ने मनस्थितिमा रहेकाले बिहीबार मात्र चुनाव हुने उनले जानकारी दिए । 

गण्डकी एमालेमा १ सय ६५ जनाको कमिटी गठन हुनेछ । गण्डकीमा नेतृत्व छान्न ९ सय ७ जना प्रतिनिधि पोखरामा छन् । ८५ मध्ये ८४ पालिकामा सर्वसम्मत प्रतिनिधि चयन भएकोमा कास्कीको रुपाले भने मतदान मार्फत प्रतिनिधि छनोट गरेको थियो । अधिवेशनका लागि कास्कीबाट सबैभन्दा धेरै १ सय ४६ र मनाङबाट सबैभन्दा कम १४ प्रतिनिधि सहभागी छन् । प्रतिनिधिहरुलाई पोखराका विभिन्न २१ वटा होटलहरु बुक गरेको राखिएको छ । 
 


Author

थप समाचार
x