गण्डकी

युवाको लगानी, महानगरको ताला !

धनबहादुर गुरुङ |
साउन ९, २०८० मंगलबार २१:२७ बजे

पोखरा- पोखरामा साउन ५ गते ‘पोखरा फुटवेयर बिजनेस सेन्टर’ सञ्चालनमा आयो । जहाँ १० कम्पनीका जुत्ता चप्पल एकै छानामुनि पाइन्थ्यो । कम्पनीबाट सिधै पसलमा आउने भएका कारण पनि अन्य ठाउँमा भन्दा केही सस्तो पर्थ्याे । यसले गर्दा ग्राहकहरू पनि निकै खुसी थिए ।

पोखरा फुटवेयर बिजनेस सेन्टरमा शिखर, सु–ल्यान्ड, पिजी सुज, वन वर्ल्ड, फुटस्टेप, बोस सुज, रन सुज, ब्याम्बो सुज, स्मार्ट सुज, हिमानी कलेक्सन कम्पनीका जुत्ता र चप्पल बिक्रीमा राखेका थिए । यो सेन्टरको गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले उद्घाटन गरे । औपचारिक रूपमै स्थापनापछि ग्राहकको भीड बढेको थियो । तर, चलिरहेको पसलमा पोखरा महानगरले एक्कासी सटर लगायो ।


दर्ता नभएको कारण देखाउँदै सटर लगाएको महानगरले जनाएको छ । तर, युवा व्यवसायीहरूले झण्डै एक महिना अघिदेखि दर्ताका लागि निवेदन दिएकोमा महानगरले तामेलीमा राखेको बताएका छन् । बिजनेस सेन्टरमा जुत्ता चप्पलको बिक्री कक्ष राखेका दशवटै कम्पनीले घरेलु लगायतका कार्यालयमा दर्ता गरी पान नम्बरसमेत लिइसकेका छन् । तर, पोखरा महानगरले आफूहरूलाई व्यवसाय गर्न निरूत्साहित गरेको व्यवसायीहरूको आरोप छ ।

मेयर धनराज आचार्यले प्रलोभनमा परेर सटर बन्द गर्न उर्दी लगाएको व्यवसायी रुद्र न्यौपानेको आरोप छ । ‘हामीले ५ गते उद्घाटन गर्ने तयारी गरेका थियौं । सबैलाई निमन्त्रणा पठाएका छौं । त्यति बेला केही भन्नुभएन, आज अपर झट बन्द गराउनुभयो,’ उनले भने, ‘सहुलियत दरमा सामान बेच्दा अरुको व्यापार घट्ला भन्ने डरले बन्द गरिएको हो । यसमा सरासर नियत छ । कि उहाँ (मेयर) आर्थिक प्रलोभनमा पर्नुभो, कि भोटको राजनीतिमा लाग्नुभयो ।’

चार महिना अघि नै सोही युवाहरूले शोरुमको सट्टा जुत्ता प्रदर्शनी गर्ने तयारी गरेको थियो । सिद्धार्थ चोकमा प्रदर्शनी गर्न लाग्दा मेयर आचार्यले नै शोरुम खोलेर बेच्न सुझाव दिएको न्यौपानेले सुनाए । ‘सबै प्रदेशमा प्रदर्शनी गरिरहेका थियौं । पोखराको सिद्धार्थ चोकमा यस्तै प्रदर्शनीका लागि अनुमति लिन महानगर गयौं । तर, मेयरसावले प्रदर्शनी नगर्नुस् शोरुम खोल्नुस् भन्नुभयो,’ उनी अगाडि भन्छन्, ‘प्रदर्शनीलाई कानुनी रूपमा रोक्न मिल्दैनथ्यो तर हामी मिलेर जाऔं भनेर शोरुम खोल्यौं । मेयरलाई के कुरामा चित्त बुझेन थाहा छैन ।’

सुरुमा एउटै कम्पनीबाट १० जना युवाले छुट्टाछुट्टै पसल राख्ने र एउटै कारोबार चलाउने योजना बनाएर लगानी गरेका थिए । तर, महानगरले १० जनाले एउटै कम्पनीबाट जुत्ता बेच्न नदिने भन्दै १० जनाको छुट्टाछुट्टै कम्पनी बनाएर निर्देशन दियो । अनि उनीहरू सोही अनुसार अघि बढ्यो । तर, एउटै प्रक्रियाबाट दिएको निवेदनमध्ये विकास खत्रीको नाममा ‘नेपाली जुत्ता घर’ विधिवत् दर्ता भयो । सोही विधि र प्रक्रियाबाट दर्ता गर्न निवेदन दिँदा अन्य नौवटा कम्पनीको भने दर्ता रोकियो । अन्यको दर्ता प्रक्रियाका लागि महानगरले तामेलीमै राख्नु गलत भएको युवा व्यवसायी सविन कार्कीले बताए ।

प्रक्रिया पूरा गरेर आउनका लागि बन्द गरेको पोखरा महानगरका मेयर धनराज आचार्यले बताए । ‘बन्द गरेर प्रक्रिया पूरा गरेर आउनुस् भनेका हौं,' उनले भने, ‘प्रक्रिया पूरा गरेर दर्ता भएपछि सञ्चालन गर्न पाउनुहुन्छ ।’ 


Author

थप समाचार
x