गण्डकी

प्रदेशमा पर्याप्त अक्सिजन

तनहुँ र मनाङमा एक वर्षमा पनि सुरु भएन अक्सिजन प्लान्ट

अनिष भट्टराई |
जेठ ४, २०७८ मंगलबार ११:४३ बजे

फाइल तस्‍बिर

तनहुँ : प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्रले गत असारमा जिल्ला अस्पतालहरूलाई अक्सिजन प्लान्ट स्थापना गर्न बजेट पठायो । अहिले प्रदेशका ९ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भइसकेका छन् । तनहुँ र मनाङमा भने अहिलेसम्म प्लान्ट स्थापना भएको छैन । करिब १ वर्षअघि नै रकम पठाइसके पनि २ जिल्लाका अस्पताल भने अहिलेसम्म प्रक्रियाकै चरणमा छन् । 

जिल्ला अस्पताल तनहुँका मेडिकल सुपरेटिन्डेन्ट सुनिल पौडेल अबको २०/२५ दिनमा अक्सिजन प्लान्ट स्थापना हुने बताउँछन् । सामाजिक विकास मन्त्रालयले आफूहरूलाई टेक्निकल स्पेसिफिकेसन पठाउन ढिला गरेको र इलेक्ट्रोनिक टेण्डर प्रक्रियामा जाँदा ढिला भएको बताउँछन् । 


तनहुँ जिल्ला अस्पताललाई गत असारमै आपूर्ति केन्द्रले ७० लाख रुपैयाँ  पठाएको थियो । अहिले अस्पतालले जय शंकर प्रालिसँग ५७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । कम्पनीले २५ दिनभित्र अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने उनको दाबी छ । ‘हामी क्राइसिसमा पनि पर्‍यौँ, इ–टेण्डरमा जाँदा पनि ढिला भयो, अब स्थापना गर्छाैं,’ पौडेलले भने । 

अहिले जिल्ला अस्पतालमा कोभिड उपचारका लागि २५ बेड छुट्टाइएको छ । ७ वटा आइसीयूु भेन्टिलेटर छन् । तर जनशक्तिको अभावमा आइसीयू, भेन्टिलेटर सञ्चालन गर्न नसकिएको पौडेल बताउँछन् । ‘हाम्रो जनशक्तिले सकेसम्म त चलाएकै छौं, तर पूरा चलाउन सक्ने अवस्था छैन, एनेस्थियोलोजिस्ट र फिजिसियन डाक्टर आवश्यक छ,’ उनले भने, ‘प्रदेशसँग धेरै पटक माग गरिसक्यौं, तर अहिलेसम्म आएनन् ।’

मनाङ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सुरु गर्न अझै समय लाग्ने भएको छ । अहिलेसम्म त्यहाँ मेसिन फिक्स गर्ने काम पनि हुन सकेको छैन । मेसिन राख्न पहिला पूर्वाधार नभएकाले पूर्वाधार समेत बनाएर काम बढाउनु परेकाले ढिला भएको अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रतिभा गौलीले बताइन् । ‘अहिले ट्रस्ट बनाउँदै छौं, असारसम्म त समय लाग्छ अझै त्यो भन्दा बढी पनि हुन सक्छ,’ उनले भनिन् । 

गत असारमै अक्सिजन प्लान्टका सबै सामाग्री पुगे पनि ट्रस्टकै अभावमा काम सुरु नभएको हो । ट्रस्ट बनाउन पनि बजेट ढिला गरी पुगेकाले आफूहरूलाई अहिले समस्या भएको गौलीले सुनाइन् । ‘म यो अस्पतालमा असोजमा आउँदा ट्रस्टकै अभावमा काम नभएको रहेछ, चैतमा मात्रै बजेट आयो, ढिला त हुने नै भयो,’ गौलीले भनिन् ।

अस्पताललाई अक्सिजन प्लान्ट स्थापनाका लागि ७३ लाख रुपैयाँ बजेट गएको थियो । २३ लाख रुपैयाँमा स्थानीय एक कम्पनीसँग ठेक्का सम्झौता भएपछि काम सुरु भएको गौलीले जानकारी दिइन् । 

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्रका प्रमुख खिमबहादुर खड्काले आफूहरूले एक वर्षअघि नै बजेट पुर्या‍ए पनि अस्पतालकै लापरबाहीले ढिलाइ भएको बताउँछन् । तनहुँ जिल्ला अस्पतालमा टेक्निकल स्पेसिफिकेसन १० दिन ढिला गरेर पुगे पनि १ वर्षसम्म काम हुन नसक्नु अस्पताकै लापरबाही भएको उनको ठहर छ । ‘१० दिन हामीले ढिला गर्दा १ वर्षसम्म ढिला कसरी हुन्छ, अरु जिल्लामा काम भइसक्यो, तनहुँमा मात्रै हो र गाह्रो अवस्था,’ उनको प्रश्न छ । 

प्रदेशमा अक्सिजन पर्याप्त
स्वास्थ्य निर्देशनालय, गण्डकीले जारी गर्ने अक्सिजन सम्बन्धी दैनिक विवरणमा प्रदेशमा अक्सिजन अहिले पर्याप्त रहेको देखाउँछ । प्रदेशका अस्पतालहरू र पोखराका २ अक्सिजन उत्पादक कम्पनीले अहिले अक्सिजनको माग धानिरहेका छन् । प्रदेशमा दैनिक १४८९ सिलिन्डर उत्पादनको क्षमता छ । क्षमता अनुसारको अक्सिजन भने उत्पादन हुन सकेको छैन । 

प्रदेशमा ५६३२ अक्सिजन सिलिन्डर रहेको स्वास्थ्य निर्देशनलायले जनाएको छ । कोरोनाका बिरामी र अन्य रोगका बिरामीलाई प्रदेशमा दैनिक ८४६ सिलिन्डर अक्सिजनको आवश्यकता रहेकोमा खपत पनि सोही मात्रामा भइरहेको निर्देशनालयको विज्ञप्तिले देखाउँछ ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x