गण्डकी

[तस्बिरसहित]

पोखरामा साटियो चिनियाँ र नेपाली संस्कृति

धनबहादुर गुरुङ |
असार ७, २०८० बिहीबार २१:५८ बजे

पोखरा- पोखरा सभागृह हल परिसरमा बिहीबार दिउँसो चिनियाँ नागरिकको निकै चहलपहल थियो । उनीहरूसँगै नेपालीहरू पनि रमाइरहेका भेटिन्थे । त्यो हुलमा चीनको लिन्जी र सिचुवान नगरका प्रमुख र उपप्रमुख लगायत चिनियाँ पाहुनाहरू थिए । नेपालबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, जनप्रतिनिधि लगायत अन्य पोखरेलीको राम्रै उपस्थिति थियो ।

चिनियाँ पाहुनाहरू नेपालीलाई देख्ने बित्तिकै आफ्नै भाषामा स्वागत गर्दै भन्थे, ‘निहाओ !’ केहीले झुकेर ‘नमस्ते’ टक्राउँथे । नेपालीहरू पनि चिनियाँ पाहुनालाई ‘नमस्कार’ भन्दै स्वागत गर्थे । यो सन्दर्भ थियो, चिन र नेपालको सांस्कृति गरिने सांगितिक कार्यक्रम । बिहीबार पोखरा महानगरपालिकाले भगिनी सम्बन्ध विस्तार गरेको चिनको लिन्जी सहरको संस्कृति आदान प्रदान गर्ने उद्देश्यले सांगितिक कार्यक्रम आयोजना गरिएको थियो ।


जहाँ पोखरासँग भगिनी सम्बन्ध रहेको चीनको लिन्जी सहरका कलाकारले पोखरामा गीत र नृत्य प्रस्तुत गरे । भने, नेपालको तर्फबाट पनि सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । करिब २ घण्टासम्म चलेको सांगीतिक प्रस्तुतिमा २ देशको गीत संगीतमा पोखरेली र चिनियाँ नागरिक मज्जाले झुमे । उनीहरूले एक अर्काका गित त बुझेनन् तर, संगितको तालमा मज्जैसँग रमाए । 

नेपालको तर्फबाट विभिन्न क्षेत्रको मौलिक संस्कृति झल्किने कौडा, धिमाल, मारुनी नृत्य प्रस्तुत गरिएको थियो । चिनको तर्फबाट चिनियाँ लोक संस्कृति ‘कोङ्बु’ लगायत गित प्रस्तुत गरिएको थियो । उनीहरूले सिन्जीको सांस्कृतिक नृत्य पनि प्रस्तुत गरेका थिए । सांगितिक कार्यक्रममा सहभागीहरूले २ घण्टा बितेको पत्तै पाएनन् । अन्त्यमा नेपाली र चिनियाँ कलाकारहरूले ‘टासी देलेक’ भन्दै धन्यवाद गीत प्रस्तुत गरेपछि अतिथिहरूले सांगितिक कार्यक्रम सकिएको भेउ पाए । 

कार्यक्रममा लिन्जी सहरका मेयर बाटाले पोखरामा जस्तै लिन्जी सहरमा पनि हिमाल, पहाड र तालतलैया भएकाले पोखरा र लिन्जी उस्तै रहेको बताए । पोखरा आउँदा आफूलाई आफ्नै सहरमा आएकोजस्तो लागेको उनले सुनाए । ‘पोखरासँगको हाम्रो भगिनी सम्बन्धको इतिहास लामो छ । यहाँको हिमाल, पहाड, तालहरू हाम्रो ठाउँमा पनि छ । त्यसैले म चाहन्छु पोखरासँगको सम्बन्ध अझै प्रगाढ होस्,’ मेयर बाटाले भने ।

पोखराका मेयर धनराज आचार्यले लिन्जी सहरले सुखमा मात्र नभएर दु:खमा पनि साथ दिएको बताए । लिन्जीले कोरोनाका समयमा पोखरालाई निकै सहयोग र साथ दिएको उनले सम्झिए । संस्कृतिमा अब्बल लिन्जीसँग सांस्कृति साटासाट गर्न पाउनु पोखरेलीका लागि सुखद रहेको उनले बताए । यहाँको पर्यटन प्रवद्र्धनका लागि सांगितिक कार्यक्रमले सघाउने उनको विश्वास थियो । 


Author

थप समाचार
x