गण्डकी

पहिराेले डुम्रे-बेँसीसहर सडक अवरुद्ध

इकागज |
साउन ५, २०७९ बिहीबार १४:३७ बजे

फाइल तस्बिर

लमजुङ- निरन्तर अविरल वर्षासँगै आएको बाढी र पहिराेले गए रातिदेखि डुम्रे-बेँसीशहर सडकखण्ड अवरुद्ध बनाएको छ ।

उक्त सडक अन्तर्गत बेँसीशहर नगरपालिका वडा नंं १ स्थित उदिपुरको देउराली डाँडामा पहिराेले सडक अवरुद्ध बनाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश रेग्मीले भने, 'यस सडकको वैकल्पिक रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने भागमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध पारेको छ ।'


गए रातिदेखि परेको अविरल वर्षा अझै नरोकिँदा पहिरो जाने तथा लेदो खस्‍ने क्रम जारी रहेको उनको भनाइ थियो । पानी परिरहेकाले मर्स्याङ्दी नदीमा पानीको बहाव बढेमा उक्त सडक कटान गर्न सक्ने सम्भावना छ । पटकपटक आएको बाढी र पहिराेले यात्रा गर्न समस्या हुँदै आएको छ । प्रहरीका अनुसार सडक अवरुद्ध भएसँगै कुनै पनि सवारी साधन आवतजावत हुन सकेको छैन ।  गत वर्ष र असार पहिलो साता गएको बाढीले डुम्रे-बेँसीशहरको देउराली डाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडक सञ्चालन हुँदै आएको थियो तर उक्त वैकल्पिक सडकसमेत बाढी र पहिराेको चपेटामा परेको छ ।

गन्तव्यमा बिहानै जान लागेका यात्रु सडक अवरुद्धका कारण समस्यामा परेका छन् । पानी नरोकिएसम्म अवरुद्ध सडक खुलाउन असम्भव हुने बताइएको छ । 

वैकल्पिक सडकसमेत अवरुद्ध हुन थालेपछि काठमाडौँ, पोखरा, चितवनलगायत बेँसीशहर आवत-जावत गर्ने यात्रुलाई सास्ती भएको छ । उक्त सडकबाट मनाङवासी यात्रा गर्दै मनाङ पुग्‍ने गर्दछन् । डुम्रे-बेँसीशहर ४२ किलोमिटरको छ ।


Author

थप समाचार
x