बागमती

मकवानपुरमा ५ दलीय गठबन्धन गर्ने सहमति

सरिता दाहाल |
चैत १९, २०७८ शनिबार १७:४५ बजे

मकवानपुर–नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा मकवानपुरमा सत्तारुढ दलबीच वडास्तरबाटै गठबन्धन गर्ने सहमति भएको छ । 
नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा बसेको सत्तारुढ गठबन्धनको बैठकले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा वडा तहबाटै गठबन्धन गर्ने सहमति गरेको हो । अब आगामी निर्वाचनमा जिल्लाको १०२ वटै वडा र दशवटा स्थानीय तहमा गठबन्धन कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले बैठक पश्चात् आयोजित पत्रकार सम्मेलनमा बताए ।

केन्द्रको निर्देशन अनुसार जिल्ला, स्थानीय तह र वडा तहमै गठबन्धनको संयन्त्र तयार गरिने सभापति लामाले बताए । “गठबन्धनको सहमति जुटेको भएपनि कुन पार्टीले उम्मेदवार को उठाउने भन्ने बारेमा टुंगो लागेको छैन” लामाले भने “प्रारम्भिक छलफल भएको हो, केन्द्रीय निर्देशन अनुसार हामी अगाडि बढ्नेछौं।”


गठबन्धनले निर्वाचनका लागि कांग्रेसको जिल्ला सभापति बुद्ध लामाको संयोजकत्वमा पाँच सदस्यीय सचिवालय बनाउने समेत निर्णय गरेको छ । जिल्लाको सचिवालयमा नेकपा माओवादी केन्द्रका सर्केश घलान, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष श्रीधर पाखरेल, जनता समाजवादी पार्टीका सोनामसिं स्याङ्तान र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सहभागी रहनेछन् ।

निर्वाचन लक्षित सचिवालय स्थानीय तह र वडासम्मै नै यही संरचनामा निर्माण हुनेछ । बैठकले स्थानीय तह र वडासम्मै गठबन्धनको संयन्त्र निर्माण गर्न आवश्यक थप छलफल र बैठक बस्न समेत पार्टीको तल्लो संरचनालाई निर्देशन दिएको छ ।

एमाले एक्लै मैदानमा जाने

निर्वाचनको केही महिना मात्रै अघि पार्टी विभाजनको पीडा भोगेको एमाले अब एक्लै मैदानमा ओर्लदै छ । नेकपा एमाले स्थानीय तह निर्वाचनको आन्तरिक तयारीमा जुटीरहेको बेला सत्तापक्षको गठबन्धनले एमालेलाई धक्का पुग्ने विश्लेषकहरुको भनाई छ ।

अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेले मकवानपुरमा ६ वटा स्थानीय तह तथा नेपाली कांग्रेस र माओवादीले २÷२ वटा स्थानीय तह जितेका थिए । एमालेले आमरुपमा पार्टी विभाजनको असर नपरेको दावी गरे पनि नेकपा (एकीकृत समाजवादी) को वडा तहैसम्म संरचना निर्माण भएको छ । एमालेबाट विभाजन भएको निर्माण भएको नेकपा (एस), नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले एक भएर वडा तहबाटै गठबन्धन गर्ने सहमति गरेसँगै मकवानपुरे राजनीतिमा एमाले एक्लो भएको छ ।

गठबन्धनलाई पराजित गर्ने सार्मथ्य नेकपा एमाले एक्लैसँग भएको पार्टीका जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले दाबी गरेका छन् ।

त्यस्तै सत्तागठबन्धनको अप्राकृतिक गठबन्धनलाई बागमती गाउँपालिकाका जनताले भत्काईदिने नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय सभाको सदस्य रामचन्द्र राईको दाबी छ । 

नेकपा एमाले बागमती गाउँपालिकाले आयोजना गरेको निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै राइले गठबन्धन जनताको इच्छा विपरीत भएकोले त्यो जनताले नमान्ने बताए ।


Author

थप समाचार
x