बागमती

मकवानपुरका महिला नेतृः बन्लान् त स्थानीय तहमा प्रमुख ?

सरिता दाहाल |
चैत १७, २०७८ बिहीबार २०:२ बजे

मकवानपुर– मकवानपुरमा नेपाल कम्युनिष्ट पार्टी एमाले सबैभन्दा ठूलो पार्टी हो । ५ वर्षअघिको चुनावी मत परिणाममा सबैभन्दा ठूलो पार्टीको पहिचान बनाएको नेकपा एमालेलाई आगामी चुनावमा आफ्नो बिरासत जोगाउनु सबैभन्दा बढी चुनौती देखिएको छ ।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै चुनावी उम्मेदवारहरुको चर्चा चोक–चोकमा सुरु भएको छ । नेताहरुले प्रत्यक्ष अप्रत्यक्ष रुपमा घरदैलोमा मतदाता भेट कार्यक्रम पनि सुरु गरिसकेका छन् । 


एमालेलाई अब आगामी चुनावमा जिल्ला नेतृत्व गर्न धेरै चुनौतीहरु देखिएका छन् । पार्टी भित्रको परिस्थिति एकातिर छंदैछ, जनताबीचमा देखिएका असन्तुष्टिलाई पनि चिर्नु छ । मकवानपुरमा ५ वर्ष जिल्लाको १० स्थानीय तहहरुमध्ये ८ वटा स्थानीय तहमा नेकपा एमालेले नेतृत्व ग¥यो । यो बीचमा जनताको मन जितेर काम गरे नगरेको चर्चाको विषय पनि छ ।

र, अर्को असन्तुष्टिको विषय छः महिला उम्मेदवारको। पार्टीभित्र असंख्य महिला अबको निर्वाचनमा प्रमुख पदको उम्मेदवार बन्ने आकांक्षामा छन् । ५ वर्ष उपप्रमुख भएर कार्य अनुभव बनाएका महिलाहरु अबको निर्वाचनमा प्रमुख भएर आफ्नो अनुभवलाई आफ्नो पालिकामा लगाउन चाहन्छन् । 

अघिल्लो स्थानीय तहमा अत्यधिक बहुमत ल्याएर उपमेयर र गाउँपालिका उपाध्यक्ष जितेका महिलाहरु अब पार्टीले प्रमुख पदको लागि टिकट दिनु पर्ने दाबी गर्दै आएका छन् । पार्टी फुटे पनि एक उपमेयर र एक उपाध्यक्ष मात्र नेकपा (एकीकृत समाजवादी) मा गएका छन् । अझै पनि नेकपा एमालेसँग ६ महिला उपाध्यक्ष, एक जिल्ला समन्वय उपप्रमुख महिला छन् । 

यी बाहेक अन्य महिला नेतृहरु पनि छन् जो स्थानीय तहको प्रमुख पदकै दावेदार छन् । मकवानपुरमा नेकपा एमाले बाहेकका पार्टीमा स्थानीय तह हाँक्न सक्ने महिला नेतृहरु छन, जो अबको निर्वाचनमा प्रमुख पदको दाबी गरिरहेका छन् । मकवानपुरका १० स्थानीय तहमध्ये महिलालाई कुन कुन पालिका देला त पार्टीले ? यसबारे पार्टीमा छलफल भइनसकेको नेकपा एमालेका जिल्ला अध्यक्ष एकलाल श्रेष्ठले बताए ।

यस्तो छ स्थानीय तहगत रुपमा अवस्था

कैलाश गाउँपालिकाः
 

मकवानपुर जिल्लको कैलाश गाउँपालिकाको उपाध्यक्ष बिजयी सुकुमाया थिङ अहिले कार्यवाहक अध्यक्ष छिन् । अध्यक्ष टंक मुक्तानलाई मुद्दा लागेपछि थिङले अध्यक्षको कार्य अनुभव संगाल्ने अवसर पाएकी छिन् । वैशाख ३० गतेको निर्वाचनमा थिङलाई अध्यक्ष बनाउने बारे कसैले कतै बोलेका छैनन् ।  
केही साताअघि माओवादीबाट एमालेमा आएका र २०७४ मा माओवादीबाटै अध्यक्षका उम्मेदवार भएका नरेन्द्र रिजाललाई गाउँपालिकाको अध्यक्ष दिनुपर्छ भन्ने चर्चा सुरु भएको छ । उपाध्यक्ष थिङकै वडा (वडा ९) मा दुई पुरुष बुद्ध लामा र श्याम उप्रेती गाउँपालिका अध्यक्षको दाबी गरिरहेका छन् । 

बकैया गाउँपालिका

मकवानपुरमा एमालेको सशक्त उपस्थिति भएको अर्को गाउँपालिका हो बकैया । फरक पार्टीको अध्यक्ष र उपाध्यक्ष हुँदा पनि ५ वर्षको अवधिमा अध्यक्षसँग कुनै टकराव नभइ राम्रो काम भएको अर्को भूगोल हो बकैया । त्यहाँकी उपाध्यक्ष सरला बोलखे उमेरको हिसाबले जिल्लाकै कान्छी उपाध्यक्ष हुन् ।
यसपटक बोलखे पार्टीबाट अध्यक्षकै दाबी गर्नेमा छिन् । तर बोलखेको कार्य अनुभवलाई हेर्ने छाँटकाँट देखिदैन । उनको बेला भएको छैन भन्दै यो गाउँपालिकामा उनी बाहेक ६ पुरुष अध्यक्षको चर्चामा छन् ।  बोलखे परिवारकै पुरुष उम्मेदवारसमेत अध्यक्षको आकाक्षि छन् ।

थाहा नगरपालिका
 

मकवानपुरको थाहा नगरपालिकामा अघिल्लोपटक एमालेको उपस्थिति मेयर उपमेयरमै भएन । मेयरमा पराजित विष्णु दाहाल लामो समयसम्म पार्टीभित्रको विवादमा माधव नेपाल समूहमा रहे । पछि पार्टी उपाध्यक्षकै हैसियतमा एमालेमै फर्किए । पार्टी अधिवेशनमा उम्मेदवारसमेत हुन नपाएका उनलाई अधिवेशनपछि जिल्ला सदस्य मनोनयन भएर थाहा इञ्चार्ज छन् । अबको मेयरको उम्मेदवारी एमालेबाट उनी हुने संभावना बलियो देखिएको छ।

हेटौँडा उपमहानगरपालिका

एमालेले सबैभन्दा फराकिलो मत अन्तरमा जितेको स्थानीय तह हो हेटौँडा उपमहानगरपालिका । तर यसपटक एमालेले मेयर कसलाई बनाउने भन्ने टुंगो अझै गरेको छैन । एमालेबाटै ५ जनाको नाम मेयरको चर्चामा छ । त्यो चर्चाको नाममा महिला छैनन् ।
यद्यपि नेकपा एमालेबाट अघिल्लो निर्वाचनमा उपमेयर जितेकी र हाल नेकपा समाजवादीमा गएकी मिना लामाको भने केही सम्भावना देखिएको छ । उपमहानगरपालिकामा सामाजिक काम गरेर लामाको राम्रो छवि बनेको छ ।

नेकपा समाजवादीले निर्वाचनमा एक्लै भिड्न परेमा समाजवादी जिल्ला अध्यक्ष श्रीधर पोखरेल, केन्दीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देल र लामा मध्ये एकलाई मेयरको उम्मेदवार बनाउने र गठबन्धन भएमा लामालाई पुनः उपमेयरमै उठाउने तयारी गरेको छ ।
उपमहानगरमा एमालेबाट हालका मेयर हरिबोल महत, पूर्व संविधान सभा सदस्य अनन्त पौडेल, जिल्ला समन्वय प्रमुख रघुनाथ खुलाल,पार्टी अध्यक्ष एकालाल श्रेष्ठलगायत नेताको चर्चा छ । यद्यपि अनेमसंघ मकवानपुर अध्यक्ष सुमित्रा काफ्लेको उपमेयरमा चर्चा छ । यसैगरी एमालेका आरती पाठक, रमिला सापकोटा, सीता विष्टलगायत पनि दरिलो उम्मेदवार बन्न सक्छन् उपमेयरमा ।

मनहरी गाउँपालिका

एमालेको अर्को जित भएको स्थानीय तह हो मनहरी गाउँपालिका । यस पालिकामा पनि हालसम्म महिला अध्यक्ष हुने कुनै चर्चा छैन । यस गाउँपालिका उपाध्यक्ष मनिला विष्ट पार्टी विभाजनपछि नेकपा समाजवादीमा छिन् । नेकपा समाजवादीले पनि उनलाई अध्यक्ष बनाउने विचार सार्वजनिक गरेको छैन । अहिले एमालेबाट एकराज उप्रेती पुनः अध्यक्षमा दोहोरिनको लागि बलिया उम्मेदवार हुन् ।

राक्सिराङ गाउँपालिका

नेकपा एमाले पराजित भएको राक्सिराङ गाउँपालिकामा एमालेले महिलालाई अध्यक्ष बनाउने कुनै चर्चा छैन । हार्ने ठाउँमा महिलालाई दिने परिपाटीको विकास पार्टी भित्र पनि भएकाले यहाँ महिलाले उम्मेदवारीको लागि टिकट पाउने सम्भावना रहेको पार्टीले जिल्लास्तरको एक महिला नेतृले बताइन् । 
यद्यपि गाउँपालिका भरको सबैभन्दा प्रभावशाली पुरुष उम्मेदवारलाई अध्यक्षमा एमाले अघि बढाउने देखिएको छ । सरिखेत पलाँसे अर्थात् वडा नम्बर ३ का बाबुलाल स्याङ्तान अध्यक्षको चर्चामा छन् । यसैगरी उपाध्यक्षमा सुन्तली चेपाङको चर्चा छ तर अध्यक्षमा महिला उठाउने कुरा एमाले भित्र गौण छ ।

भिमफेदी गाउँपालिका

मकवानपुरको भिमफेदी गाउँपालिका एमालेको पक्कडवाला अर्को स्थानीय तह हो । यसपटक पनि एमालेले अध्यक्षमा महिला उम्मेदवार बनाउने विषय चर्चामा छैन । मकवानपुरकी चर्चित महिला नेतृ पार्वती राना उपाध्यक्ष रहेको गाउँपालिकामा रानाले अध्यक्ष कै दाबि गरिरहेकी छन् । 
तर पार्टीले उनलाई अध्यक्षको टिकट दिने सम्भावना बलियो छैन । हालका अध्यक्ष हिदम लामा नै दोहोरिने सम्भावना रहेकाले रानाको सम्भावना कम छ । रानाले पार्टी जिल्ला अधिवेशन उपसचिव दाबी गर्दा पनि हिदम लामा नै पार्टी उपसचिव बनाएर पार्टीले रानालाई पाखा लगाएको आरोप छ ।

मकवानपुरगढी गाउँपालिका

हाल मकवानपुरगढी गाउँपालिकामा उपाध्यक्ष एमालेकै हर्कमाया रुम्बा छिन् । एमालेबाटै विजयी  अध्यक्ष विदुर हुमगाईसँगको समन्वयमा स्थानीय विकास र पार्टीको काममा राम्रै अनुभव बनाएकी रुम्बा पनि आगामी निर्वाचनमा अध्यक्षमा उठ्न सक्ने अब्बल महिला नेतृत्व हुन् । तर पार्टी भित्र र स्थानीय तहमा हालमै अध्यक्ष हुमागाईंकै चर्चा छ ।

बागमती गाउँपालिका

अघिल्लो निर्वाचनमा बागमती गाउँपालिकाको अध्यक्षमा एमाले पराजित भएको थियो । तर उपाध्यक्षमा एमाले कै धनमाया स्याङतान विजयी भइन् । पाँचवर्षे कार्यकाल सफल भइरहँदा बागमती गाउँपालिकामा अध्यक्षका उम्मेदवारमा एमालेले राजकुमार तिमिल्सिना, खेम जर्गा, नरबहादुर घलान, उत्तम पौडेलको नाम चर्चामा छ । उपाध्यक्षबाट अनुभव लिएकी धनमायाले अध्यक्षको टिकट पाउने सम्भावना कम छ।

इन्द्रसरोवर गाउँपालिका
 

इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा एमालेबाट निर्वाचित हुन्, तर पार्टी विभाजन पछि उनले समाजवादी रोजे । यद्यपि उपाध्यक्ष उमाकुमारी लामा एमालेमै छिन् । ५ वटा मात्रै वडा रहेको यो गाउँपालिकामा पनि एमालेले महिला उम्मेदवार बनाउने चर्चा छैन, पुरुष उम्मेदवारहरुकै चर्चा छ ।

जिल्ला समन्वय समिति

स्थानीय तह निर्वाचनपछि बन्ने जिल्ला समन्वय समिति मकवानपुरमा उपप्रमुख हाल भगवती पुडासैनी छिन् । एक उपमहानगर, एक नगर र ८ गाउँपालिकामा महिला मेयर र अध्यक्षको चर्चा नभए जस्तै जिल्ला समन्वय समितिमा पनि महिलाको उम्मेदवारी बारे चर्चा नै छैन ।

उप पदबाटै महिलाहरुलाई बिदाइ गर्ने परीपाटी दलभित्रको रोग नै भएको प्रतिक्रिया दिन्छिन् पुडासैनी । क्षमता र योग्यता भए पनि हम्मेसी पहिलो पदमा महिलाहरुले दाबी नै गर्दैनन्, आँट गरेर दाबी गर्दा पनि पार्टीले अवसर नदिने गरेको उनले बताइन् । 

“नीति निर्माणमा होस् वा जस्तोसुकै काममा होस् महिला सफल भएकै छन् तर, उपबाटै विदाइ गरिन्छ, यो राम्रो हैन” उनले भनिन् ।

मकवानपुरमा महिला नेतृत्वमा अब्बल उम्मेदवार र जनप्रतिनिधि बनाउन सफल एमालेको तत्कालीन नेतृत्व लोभलाग्दो थियो । पार्टीले अवसर दिएमा आफूहरुले जित्न सक्ने दाबी महिलाले गरिरहेका छन् यद्यपि महिलाको लागि पार्टी सकारात्मक देखिएको पाइन्न ।
पहिलो पार्टी नेकपा एमालमा उपाध्यक्षको अनुभवी महिलासँगै दक्ष महिलाहरुमा सीता विष्ट बानियाँ, सुमित्रा काफ्ले, आरती पाठक, रमिला सापकोटालगायत छन् । दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसमा महिला नेतृहरु इन्दीरा न्यौपाने, लक्ष्मी श्रेष्ठ, रीता खनाल तथा माओवादीमा लक्ष्मी माझीलगायत पनि उम्मेदवार बन्न सक्ने महिला नेतृहरु हुन् । 

स्थानीय तहमा यसअघि उपप्रमुख भएका काम गरेका अनुभवीले नै टिकट पाउने सम्भावना नभएपछि दलहरुले अबको चुनावमा नयाँ आउने नेतृत्वमा एकै पटक पहिलो पदको लागि टिकट दिने सम्भावना झनै रहेन । राजनीतिमा महिलाको अग्रसरताको लागि क्षमता विकास र टिकाउनको लागि पार्टीले जुन रुपमा भाषणा र घोषणापत्रहरुमा बोल्ने गरेको छ त्यसको कार्यान्वयन कुनै पनि पार्टीमा नभएको प्रष्ट देखिन्छ ।

कानूनले अनिवार्य समावेशी तोकेपछि उपप्रमुख अर्थात सहायक पदमा मात्रै महिलालाई सिमित गर्न खोजिएकोमा महिलाले अझै अधिकारको लागि आफ्नै पार्टीमा संघर्ष गर्नुपर्ने बताउँछिन् महिला अधिकारकर्मी रेणु अधिकारी ।
“प्रमुख पदमा रहेका पुरुषहरुलाई उनीहरुको सहयक बनेर पुरुषलाई सघाउने मात्रै महिला हैनन्, आफैं पनि जिम्मेवारी लिन सक्छन्, दलहरुभित्रको पितृसत्तात्मक सोच महिला नेतृहरुको लागि बाधक हो” महिला मानव अधिकार रक्षक अधिकारीले भनिन् ।
 


Author

थप समाचार
x