बागमती

निकुञ्जले घर जलाइदिएपछि बिल्लीबाठ

आन्दोलन गर्ने तयारी

सरिता दाहाल |
चैत १६, २०७८ बुधबार ८:५६ बजे

मकवानपुर- अनिकालको समयमा बस्‍ने बास गुमाएर बिचल्ली भएका चितवनको माडी नगरपालिका-९ का चेपाङहरू न्यायको लागि सडक आन्दोलमा आउने भएका छन् । 

गत आइतबार राति चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडीको कुसुमखोलामा रहेको २० घरमा आगजनी गरिदिएपछि उनीहरूको बास उठेको छ ।


निकुञ्जले आफ्नो जंगल क्षेत्रमा घर बनाएर बसोबास गरेको भन्दै स्थानीयको घरमा आगो लगाइ दिएको थियो । जसमा १७ घर पूर्ण रूपमा ध्यस्त भएको नेपाल चेपाङ संघका पूर्व केन्द्रीय सदस्य तथा संविधान सभा पूर्व सांसद गोविन्दराम चेपाङले बताए ।

उनका अनुसार निकुञ्जले आगो लगाएपछि अहिले झण्डै एकसय जना चेपाङहरू बासविहीन भएका छन् । ओत लाग्ने ठाँउ नभइरहेको बेला हिजो (मंगलबार) साँझ परेको असिना पानीले झनै समस्या भएको उनले बताए ।

असिना पानी परेपछि उनीहरू अहिले छिमेकी बस्ती भालुखोला भन्ने ठाउँ आश्रय लिएर बसेका छन् । 'सरकारले घर दिएको छ भनेर एउटै कुरा गर्छ, घरले खान दिँदैन, के खाने ?' उनले इकागजसँग भने ।

राजनीति र राष्ट्रिय निकुञ्जबीचकै कुरा नमिल्दा चेपुवामा चेपाङ परेको उनले बताए । राजनीति (सरकार) ले घर बनाएर राखेँ भन्छ, अहिले सारेको क्षेत्र पनि बफर्जुन क्षेत्र नै हो आर्मीले फेरि लखेट्छ' उनले भने, '२ दशकदेखि यहीँ समस्या भोग्दै आएका छौँ, कहिलेसम्म भोग्‍ने ?'

चेपाङलाई सधैँभरी दु:खै मात्रै दिएको तर, काम गरेर खाने व्यवस्था नगरेको उनले बताए । अन्‍न उब्जाउने, मेलापात र ज्यालादारी गर्ने ठाउँ पनि चाहियो, ओत लागेर मात्रै त बाँचिन्‍न नि, हामी पनि मान्छे नौ हौँ' पूर्व सांसद चेपाङले भने ।

सरकारले चेपाङको समस्या नसुन्‍ने पीडा मात्रै दिने गरेपछि नेपाल चेपाङ संघले सडक आन्दोलनमा जाने तयारी गरेको उनले बताए । 'सुरुमा हामी धादिङ, चितवन मकवानपुर केन्द्रित आन्दोलन गर्ने तयारीमा छौं' उनले भने । 

चितवन राष्ट्रिय निकुञ्ज स्रोतका अनुसार चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रमोद यादवको नेतृत्वमा गएको नेपाली सेनासहितको टोलीले आइतबार राति स्थानीयको घरमा आगो लगाएका थिए । एकपटक स्थानान्तरण गरिसकेपछि पुनः पुरानै स्थानमा पुगेर घर बनाउने र बस्ने गरेको कारण घर जलाएको निकुञ्जले जनाएको छ । 

माडी नगरपालिका-९ का वडाध्यक्ष तथा माडी नगरपालिकाका प्रवक्ता शिवहरी सुवेदीका अनुसार कुसुमखोलामा यसअघि गत साउनमा पनि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगजनी गरेको थियो । उक्त क्षेत्र निकुञ्जभित्र पर्ने भन्दै २०७७ साल भदौ महिनामा पनि स्थानीयलाई हटाउन निकुञ्ज प्रशासनले आगजनी नै गरेको थियो ।

यसअघि माडी नगरपालिकाले कुसुमखोलालगायतका निकुञ्जको क्षेत्रका बासिन्दाहरू बाढी, जंगली जनावरको जोखिममा रहेको भन्दै दुई सयभन्दा बढी घरधुरी स्थानान्तरण गरेको थियो। त्यसयता यहाँका सुकुम्बासीलाई माडीको ७, ८ र ९ नम्बर वडाका विभिन्‍न क्षेत्रमा राखिएको छ।

यो क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको पूर्ण मध्यवर्ती क्षेत्रमा पर्दछ । उक्त क्षेत्रका निकुञ्ज छेउछाउ अव्यवस्थित बसोबास गर्ने सुकुम्बासीहरूको स्थायी बसोबासको विषयलाई लिएर राजनीतिक दलहरूबीच विवाद पनि हुँदै आएको छ । पछिल्लो समय सरकारले भूमिहीनहरूलाई बसोबास गरिरहेको स्थलको जमिनको निस्सा वितरण गरिरहेकोले बसोबास स्थानान्तरण गरिएकाहरू पनि पुनः कुसुमखोला फर्किएर घर निर्माण गरेको निकुञ्ज स्रोतको दाबी छ।

घटनाको विरोध

​माडी नगरपालिकाको वडा नम्बर ९ कुसुमखोलास्थित चेपाङ बस्तीमा आगोलागीप्रति मानव अधिकारवादीहरूले विरोध जनाएका छन् । 

नेपाल चेपाङ संघ चितवन र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद चितवनले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी उक्त घटनाप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

चेपाङ संघ चितवनका अध्यक्ष भीमबहादुर चेपाङले विज्ञप्तिमार्फत अति सिमान्तकृत चेपाङ समुदायमाथि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगो लगाएको घटनाको निन्दा गरेका छन् । 

घरबारविहीन भएका चेपाङ परिवारलाई तत्काल गाँस, बास र कपासको व्यवस्थापन गर्न सरकारसमक्ष माग गरिएको छ।

घटनाको नेकपा एमाले चितवनले पनि विरोध जनाएको छ । एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेद्वारा जारी विज्ञप्तिमा घरभित्र भएका अन्नपात, लत्ताकपडा समेत झिक्न नपाई नष्ट गर्ने कार्य अत्यन्त निन्दनीय र भत्सर्नायोग्य भएको उल्लेख छ । 

यसै गरी नेपाल चेपाङ संघका पूर्वअध्यक्ष गोविन्दराम चेपाङले माडी कुसुमखोलामा रहेका चेपाङवस्तीमा गरिएको आगजनी घटनाको छानविन गर्न माग गरेका छन् । सरकारभन्दा ठुलो भएको दम्भ राख्दै चितवन राष्ट्रिय निकुञ्जले कुसुमखोलामा बस्दै आएका चेपाङ समुदायमाथि दुर्व्यवहार वर्षेनी दोहोर्‍याउनु गलत भएको पूर्व सांसदसमेत रहेका चेपाङले भने ।

गत १० चैतमा कुसुमखोलाका चेपाङलाई बस्नको लागि राइडाँडामा बनाइएको नमुना बस्तीमा सार्नको लागि बस्तीको उद्घाटन गरिएको थियो। राइडाँडामा निर्वाचन क्षेत्र विकास कोषबाट ४१ घरहरू बनाइएका छन् । तर, माडी–९ कुसुमखोलामा अझैपनि चेपाङ वस्ती रहेको छ । २४ वर्षयता सो ठाउँमा चेपाङ समुदायको बसोबास रहेको छ ।

माडी नगरपालिकाका मेयर ठाकुर ढकालले स्थानीयको गाँस र बासको लागि नगरपालिकाले पहल गरिरहेको बताए । मेयर ढकालका अनुसार चेपाङ बस्तीको एक पुरानोसहित केही १९ वटा नयाँ घरमा आगजनी गरिएको छ । कुसुमखोलामा २०४८ सालदेखि बसोबास गर्दै आएका चेपाङलाई माडी नगरपालिकाले गत वर्ष स्थानान्तरण गरेको थियो । अहिले फेरि पुरानै बस्तीमा गएर बनाइएका नयाँ घरमा निकुञ्जको सेनाले आगजनी गरिदिएको हो ।

मेयर ढकालले चेपाङ बस्तीमै पुगेर आफूहरूले स्थानान्तर गरेको बस्तीमा सर्नको लागि समन्वय गरिरहेको बेलामा एक्कासी गएर निकुञ्जले रातको समयमा घरघित्रको सामानसमेत झिक्न नदिइ आगो लगाएको बताए । 'हामीले स्थानीय चेपाङहरूलाई समन्वय गर्दै, सार्ने काम गरिरहेका थियौँ, निकुञ्जले हामीसँग समन्वय नै नगरी बस्तीमा आगो लगाएछ' उनले भने ।

सरकारले स्थानान्तरण गरेको स्थानमा उनीहरूको लागि २ कोठाको घर मात्रै छ, तर चेपाङहरूले आफूहरूलाई कम्तिमा ६ कठ्ठा जग्गा नदिएसम्म स्थानान्तरण भएर नजाने अडान राख्दै आएका छन् ।


Author

थप समाचार
x