बागमती

बागमती प्रदेश मन्त्रालयका प्रगतिविहीन सय दिन

सरिता दाहाल |
चैत १४, २०७८ सोमबार १९:५० बजे

मकवानपुर - बागमती प्रदेशमा रहेको साविक ८ मन्त्रालय फुटाएर १४ बनाइएको सय दिन पूरा भएको छ । सरकारले मन्त्रालय फुटाएर १४ पु¥याएको सय दिन पुगेपछि प्रदेशका केही मन्त्रालयहरुले उत्सव जत्तिकै गरेर सय दिनको समीक्षा गरेका छन् । तर यो बीचमा मन्त्रालयले गरेको कार्यप्रगति सन्तोषजनक छैन ।

मन्त्रालयले गरेको काम सन्तोषजनक नभएको आमजनता वा प्रतिपक्षीले भनेका हैनन् । स्वयम् मन्त्रालयका सचिवहरु नै कार्यप्रगति निराशाजन भएको बताउँछन् । गठबन्धनको सरकारलाई मन्त्रालय भाग पु¥याउन मन्त्रालय फुटाइएपछि मुख्यमन्त्री राजेन्द्र पाण्डे आवश्यकताको आधारमा मन्त्रालय फुटाईएको दाबी गरेका थिए । उनले “२ महिना भित्र जनतालाई मन्त्रालय फुटाउनुको औचित्य कार्य प्रगतिमार्फत दिन्छु” भनेका थिए । तर सय दिन नाघ्दै गर्दा मन्त्रालय फुटाउनुको औचित्य देखिएको छैन ।


बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले सोमबार सय दिन पूरा गरेको अवसरमा आफ्नो प्रगति विवरणसहित समीक्षात्मक पत्रकार सम्मेलन गरे । मन्त्री दाहालले यातायात क्षेत्र प्रदेश सरकारको राजश्वको मुख्य श्रोत रहेको बताउँदैं यस क्षेत्रको सेवा प्रवाह प्रदेश सरकार जनतासँग जोडिने मुख्य आधार रहेको पनि बताए पनि जनतासँग जोडिने गरी काम भएका छैनन् ।

अघिल्लो सरकारले सम्झौताको अन्तिम चरणमा रहेको भनिएका योजनाहरू अहिले पनि अन्तिम चरणमा रहेकै बताउँदै आईरहेको छ । यातायात क्षेत्रमा देखिएको समस्याहरू अहिले पनि उस्तै रहेको सेवाग्राहीको गुनासो छ । अघिल्लो सरकारले नै प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक सवारी साधनमा विद्युतीय माध्यमबाट भाडा भुक्तानी हुने व्यवस्था मिलाउन सेवाप्रदायक छनोटको प्रक्रिया अगाडि बढाएको थियो । हाल पनि यो प्रक्रियामा नै रहेको यातायात मन्त्री घनश्याम दाहालले बताए ।

यसैगरी अघिल्लो सरकारले नै सुरु गरेको सवारी साधनको कर एवम् नवीकरण शुल्क अनलाइन र वालेट सेवा प्रदान गर्ने प्लेटफर्म (कनेक्ट आइ पि यस, खल्ती र इसेवा) मार्फत भुक्तानी हुने व्यवस्था अझै सुरु भएको छैन ।

सोमबार भएको पत्रकार सम्मेलनमा मन्त्री मन्त्रालयका सचिव नेत्र सुवेदीले ‘प्राविधिक काम भन्न जस्तो सजिलो नहुने’ भन्दै यसले अझै केही समय लिने बताए ।

सार्वजनिक सेवा प्रवाह हुने सबै कार्यालयमा मन्त्रीसहितको टोलीबाट स्थलगतरुपमा अवलोकन तथा निरीक्षण गरिएको र सम्बद्ध सरोकारवालासँग छलफलका माध्यमबाट समस्याको पहिचान गरी तत्काल संभव हुने समस्याहरु समाधान गरिएको र नीतिगत समस्या समाधानको पहल शुरु गरिएको सचिव सुवेदीले बताए ।

सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा भएको १०–१५ दिन सम्म पनि प्रणालीमा नतिजा प्रविष्टि नहुने समस्याको अन्त्य गरी प्रयोगात्मक परीक्षा भएको ४८ घण्टा भित्र नतिजा प्रविष्टि हुने व्यवस्था मिलाइएको, सिन्धुलीको खुर्कोटमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गर्न तथा चितवन र मकवानपुरमा रहेको यातायात व्यवस्था सेवा कार्यालयको स्तरोन्नतिका लागि प्रक्रिया अगाडि सुबेदीले बताए ।

यसैगरी अघिल्लो सरकारले यातायात व्यवस्था सेवा कार्यालय, भरतपुरको कार्यालय भवन तथा ट्रायल सेन्टर निर्माणका लागि जग्गा प्राप्तिको प्रकृया अगाडि बढाइएको बताएको थियो, अहिले पनि यो प्रक्रियामा नै रहेको छ ।

यात्रुवाहक सार्वजनिक सवारी साधनलाई क्रमश विद्युतीय सवारी साधनले प्रतिस्थापन गर्न प्रोत्साहनका लागि नीतिगत र कानुनी व्यवस्थाको मस्यौदाले अझै पनि पूर्णता पाएको छैन । यसैगरी ३ महिना अघि अघिल्लो सरकारले नै विद्युतीय सवारी साधनको लागि चार्जिङ स्टेशन निर्माण गर्न प्रदेशभित्रका केही स्थानीय तहहरुसँग सहकार्य गरी प्रकृया अगाडि बढाइएकोमा यो अझै प्रकृयामा नै रहेको मन्त्री दाहालले बताए । १० अर्व ८५ करोड १२ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको मन्त्रालयले हालसम्म ७ अरब १२ करोड ७३ लाख संकलन गरेको छ ।

सरकार फेरिने र अघिल्लो सरकारले अघिसारेको काम पछिल्लो सरकारले सकेसम्म अघि नबढाउने गरेपछि प्रदेशको कृषि विकास निर्देशनालयले चालु आर्थिक वर्षको ८ महिनामा २० प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको समिक्षा कार्यक्रममा प्रगति बिवरण यस्तो सार्वजनिक गरिएको हो । कृषि विकास निर्देशनालयका प्रमुख रबिन्द्रबहादुर प्रधानले बजेटको २० प्रतिशत रकम खर्च भएको बताए । चालु आर्थिक वर्षमा ५० करोड ५८ लाख ४८ हजार रुपैयाँ बजेट बिनियोजन गरिएको थियो । यो अवधिमा जम्मा १५ करोड ९२ लाख ३५ हजार रुपैया मात्र बजेट खर्च भएको प्रमुख प्रधानले जानकारी दिए । दोश्रो चौमासिकका लागि मन्त्रालयले निर्देशनालयलाइ १५ करोड रुपैयाँ दिए पनि निर्देशनालयले जम्मा सात करोड मात्र अर्थात् दोश्रो चौमासमा ६६ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेले मन्त्रालयको वित्तिय प्रगती साह्रै निराशाजनक भएको टिप्पणी गरे ।
 


Author

थप समाचार
x