बागमती

महानगरभित्रका विद्यालयले अनिवार्य रूपमा छात्रवृत्ति उपलब्ध गराउनुस् : मेयर साह

इकागज |
बैशाख ९, २०८० शनिबार १६:५९ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई अनिवार्य रूपमा छात्रवृत्ति उपलब्ध गराउन आग्रह गरेका छन् । कूल विद्यार्थी सङ्ख्याको १० प्रतिशत नघटाइ छात्रवृत्ति उपलब्ध गराउन महानगरपालिका भित्रका सबै विद्यालयलाई उनले आग्रह गरेका हुन् । 

नयाँ शैक्षिक सत्र सुरु भई भर्ना अभियान चलिरहेको उल्लेख गर्दै प्रमुख साहले कामपा क्षेत्र भित्र रहेका निजी विद्यालयलाई निमयसङ्गत छात्रवृत्ति प्रदान गर्न ध्यानाकर्षण गराएका छन् । कामपाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ मा छात्रवृत्तिसम्बन्धी व्यवस्था छ । 


'सो नियमअनुसार निजी तथा संस्थागत विद्यालयले प्रत्येक कक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीलाई क्रमशः शत प्रतिशत र ५० प्रतिशत शुल्क मिनाहा गर्नुपर्छ,' उनी भन्छन्, 'विद्यालयले कूल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशत नघटाइ जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्गता भएका, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्छ ।'

यसरी उपलब्ध गराइएको छात्रवृत्तिसम्बन्धी विवरण विद्यालयको वेबसाइट तथा सूचना पाटीमा टाँस गरेर अभिभावक र विद्यार्थीलाई सूचित गराउन सम्बन्धित सबै विद्यालयलाई प्रमुख साहले आग्रह गरेका छन् । नियमको पालना गर्ने विद्यालयको दायित्व हो । अभिभावक र सरोकारवालाले नियम पालना भए/नभएको निगरानी गर्नुपर्छ । प्रमुख साहले व्यवस्था कार्यान्वयनका लागि आग्रह गर्दै, अन्यथा अवस्था देखिए कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने बताए ।  

कामपाभित्र ८९ सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय रहेका छन् । ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गरिरहेको तथ्याङ्क छ । त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् । 

केही दिनअघि कामपाले एक सूचना जारी गर्दै शिक्षा नियमावली २०७९ को ९ संशोधनको नियम १४६ (२) बमोजिम सामुदायिक विद्यालयको प्राथमिक र निम्न माध्यमिक तहमा अध्ययन गर्ने कुनै पनि विद्यार्थीसँग शुल्क लिन नपाउने भन्दै सार्वजनिक सूचना जारी गरेको थियो । अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार, चन्दा वा सहयोग भने लिन सकिने सूचनामा उल्लेख छ ।


Author

थप समाचार
x