बागमती

बागमतीमा दलीय सहमति नजुट्दा बस्न सकेन प्रदेश सभा बैठक

इकागज |
माघ २३, २०७९ सोमबार १९:३१ बजे

फाइल तस्बिर

मकवानपुर- बागमती प्रदेश सभामा दलीय सहमति नजुट्दा प्रदेश सभा बैठक बस्न सकेन । आज मध्याह्न १२ बजे बस्ने गरी बोलाइएको बैठक दलीय सहमति नजुट्दा पटक-पटक स्थगित भयो, अन्तत: साँझ बस्ने भनिएको बैठक पनि बस्न सकेन ।

प्रदेश सभाका सात वटा विषयगत समितिका सदस्यहरू मनोनीत गर्न बस्ने भनिएको बैठक नेपाली कांग्रेस र राप्रपाले सदस्यहरूको नाम नपठाएपछि बैठक बस्न नसकेको हो । हिजो (आइतबार) बसेको प्रदेश सभा बैठकले कार्यव्यवस्था तथा परामर्श समितिका सदस्यहरू मनोनीत गरेको थियो ।


सोमबार बाँकी सात वटा विषयगत समितिहरूको सदस्य मनोनीत गर्ने कार्यसूची रहे पनि नेपाली कांग्रेस र राप्रपाले समितिमा सहभागी हुने सदस्यहरूको नाम नपठाएपछि बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ । 

बागमती प्रदेश सभामा संसदीय समितिहरू गठन गर्ने कार्यसूची तय भए पनि नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले सदस्यहरूको नाम नपठाउँदा प्रदेश सभा बैठक प्रभावित भएको हो । आइतबार सर्वदलीय बैठक बसेर सोमबारको बैठकमा संसदीय समिति गठन गर्ने सहमति भए पनि सोमबार कांग्रेस र एकीकृत समाजवादीले सदस्यहरूको नाम पठाउन अरुचि देखाएपछि १२ बजेका लागि बोलाएको प्रदेश सभा बैठक निर्धारित समयमा बस्न सकेन त्यसपछि ४ बजेका लागि बोलाइयो ।

४ बजे पनि बैठक बस्न नसकेपछि ५ बजेलाई बोलाइयो । फेरि पनि बैठक बस्न दलीय सहमत जुटेन । अन्ततः बैठक माघ २६ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको हो ।

कांग्रेस र समाजवादीका नेताहरू सङ्घीय सरकारमा समेत समितिहरू गठन नभएको भन्दै प्रदेशमा अहिले नै हतार गर्न नपर्ने भन्दै दुई दलले नाम दिएनन् ।

उनीहरूले  प्रदेश संसद् सचिवालयका सचिव र सभामुख मिलेर सत्तापक्षलाई बल पुग्ने गरी समिति गठनको प्रक्रिया अघि बढाएको आरोप लगाउँछन् ।

'सत्तापक्षलाई बल पुग्ने गरी एकलौटी गर्न खोजियो त्यसैले कांग्रेसले अहिले नै नाम पठाउँदैन,' कांग्रेसका एक सांसदले भने, 'हामीमा नाम फाइनल छ, उता नदिएका मात्रै हौं ।' 

त्यस्तै नेकपा (एकीकृत समाजवादी)का सांसद कृष्ण खनाल पनि आफ्नो पार्टीबाट समितिमा पठाउने सदस्यहरूको नाम तयार भए पनि अहिले नै नपठाउने बताए । खनालले भने, 'नामहरू फाइनल छ तर अहिले पठाउँदिनँ ।'

प्रदेश सचिवले कार्यव्यवस्था परामर्श समितिलाई बेवास्ता गर्दै सर्वदलीय बैठक बोलाएको उनीहरूकाे दाबी छ ।


Author

थप समाचार
x