बागमती

खानीखोलामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

इकागज |
असोज १५, २०७९ १२:२६ बजे

सांकेतिक तस्बिर

काभ्रेपलाञ्चोक- डाँडापारिस्थित खानीखोला गाउँपालिका–१ मा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

डाँडागाउँबाट बनेपातर्फ आउँदै गरेको बा५ख ४११७ नम्बरको बोलेरो खानीखोला गाउँपालिका–१ र बेथानचोक गाउँपालिका–६ को सिमाना गैरीभञ्ज्याङमा आज बिहान दुर्घटना हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार मृत्यु हुनेमा खानीखोला गाउँपालिका–४ का २५ वर्षीय दिपेश जिम्बा रहेका छन् । जिम्बाको शव परीक्षणको लागि धुलिखेल अस्पतालमा राखिएको छ ।

सो घटनामा परी घाइते भएका चार जनामध्ये दुई जनाको धुलिखेल अस्पताल धुलिखेलमा र दुई जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये धुलिखेल अस्पतालमा उपचार भइरहेको एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले गाउँबाट दसैँको लागि खसीबोका बेच्न ल्याउने क्रममा गाडी दुर्घटनामा परेको बताए । 


Author

थप समाचार
ad
x