मधेश

प्रदेश २ : दसैं भत्ता फिर्ता गर्दै सत्तारुढ सांसद, अलमलमा कांग्रेस र नेकपा

सुवास कर्ण |
कात्तिक ४, २०७७ मंगलबार १२:४६ बजे

जनकपुरधाम : कोभिड–१९ महामारीलाई दृष्टिगत जनता समाजवादी पार्टीका प्रदेश सांसद पनि दशैं भत्ता फिर्ता गर्ने तयारी गरेका छन् । जसपाको केन्द्रीय कार्यसमिति बैठककै क्रममा सोमबार सरकारसँग सांसदहरुलाई उपलब्ध गराउंदै आएको दशैं भत्ता खारेज गर्न गरेका थिए। 

उक्त भत्ता खारेज नभएपनि आफ्नो सबै तहका सांसदले भत्ता नलिने निर्णय गरे। बैठकमा गरिएका निर्णय बारे जानकारी दिँदै केन्द्रीय कार्यकारिणी सदस्य मनिष सुमनले भने,‘कोभिड महामारीको दृष्टिगत गर्दै आफ्नो पार्टीले सरकारले उपलब्ध गराउंदै दशैं भत्ता खारेज गरी सो रकम कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न माग गरिएको हो ।’


उक्त निर्णय अनुरुप जसपाका संघीय तथा प्रदेश सांसदहरु र प्रदेश २ का मन्त्रीहरुले समेत पाएको दशैं भत्ता अब कोरोना संक्रमण रोकथाम एवं नियन्त्रण तथा उपचारका लागि कोषमा रकम जम्मा हुने भएको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र यादवले भने,‘पार्टीको निर्णय स्वागत योग्य हो, सांसदहरुको दशैं भत्ता फिर्ता हुन्छ ।’ 

प्रदेश सभामुख सरोजकुमार यादव पार्टीले निर्णय गर्नु अघि नै आफूले पाएको दशैं भत्ता कोरोना रोकथाम एवं नियन्त्रणका लागि कोषमा रकम जम्मा गर्ने घोषणा गरिसकेका थिए । उनले विभिन्न संचार माध्यम मार्फत् आफूले पाएको दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने घोषणा गरेका थिए ।

प्रदेश २ स्थित सत्तारुढ दलका सांसदहरुले दशैं भत्ता फिर्ता गर्ने निर्णय गरेपनि प्रतिपक्षी नेपाली कांग्रेस र नेकपाले कुनै निर्णय गर्न सकेका छैनन् ।  प्रतिपक्षी दल कांग्रेसका प्रदेश संसदीय दलका नेता रामसरोज यादवले भने,‘पार्टीको केन्द्रीय कमिटीले संघीय सांसदका लागि भत्ता फिर्ता  गर्ने निर्णय गरेको हो, प्रदेश सांसदका लागि होइन, हामी किन फिर्ता गर्ने जसको कुनै हिसाब नै हुदैन ।’

प्रदेश सांसदहरुले प्रति महिना ६१ हजार २० पारिश्रमिक वापतको रकम र दसैं भत्ता वापत पाएका छन् भने सभामुखले मन्त्री सरह ६८ हजार ४ सय ४० रुपौयाँ पाएका छन् । त्यस्तै उपसभामुख, प्रमुख दलका नेता र प्रमुख सचेकहरुले राज्यमन्त्री सरह ६७ हजार २४ रुपैयाँ दसैं भत्ता पाएका छन् ।

प्रदेशमा सत्तारुढ दल जसपाका ५५, प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ३२, नेपाली कांग्रेसका १९ र संघीय समाजवादी पार्टीका १ जना गरी कुल १ सय ७ जना सांसद छन् । जसमध्ये एक मुख्यमन्त्री, ६ जना मन्त्री र ६ जना राज्य मन्त्री रहेका छन् ।   


Author

थप समाचार
x