मधेश

अनियन्त्रित चुरे वन क्षेत्र उत्खननले स्थानीय आजित

इकागज |
फागुन २४, २०८० बिहीबार २०:२९ बजे

सिरहा- सिरहामा चुरे वन क्षेत्रबाट अनियन्त्रित ग्राभेल उत्खननले गर्दा स्थानीयवासी आजित भएका छन् । चुरे वन क्षेत्रमा उत्खनन भइरहेको स्थानीय प्रहरी प्रशासनलाई खबर गरे पनि सरोकारवाला निकाय मौन बस्दा स्थानीयवासी आजित भएका हुन् ।

यो क्षेत्रमा विगत तीन वर्षदेखि नियमित रूपमा प्रहरी प्रशासन कै आडमा अनियन्त्रित उत्खनन भइरहेको स्थानीयहरूको आरोप छ । आज मात्र वन कार्यालय सिरहाको गस्ती टोलीले चुरे वन क्षेत्रबाट अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरिरहेको अवस्थामा एक-एक जेसिबी  र टिपर नियन्त्रणमा लिएको छ । 


सबडिभिजन वन कार्यालय, चोहर्वाको गस्ती टोलीले नरहा गाउँपालिका ३ जचौहर्वा आर्मी क्याम्प पछाडिको चुरे वन क्षेत्रबाट बा. ५ प १८६७ नम्बरको टिपर र नम्बर नभएको जेसिबी बुधबार बिहान नियन्त्रणमा लिएको सबडिभिजन वन कार्यालय चोहर्वाले जनाएको छ । 

विशेष सूचनाका आधारमा सबडिभिजन वन कार्यालय, चोहर्वाका वन अधिकृत मनोजकुमार कर्ण नेतृत्वको टोलीले प्रहरीको सहयोगमा दुवै सवारी साधन नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय लहानका प्रमुख सुजितकुमार झाले जनाएका छन् । 

वन कर्मचारीलाई देखेपछि फरार चालकको खोजी भइरहेको वन कर्मचारीले बताए । चालक फरार भए पनि यस क्षेत्रमा ग्राभेल व्यवसायीका नामले परिचित रामबाबु यादवको टिपर र जेसिबी भएको बुझिएको छ । 

नियन्त्रणमा लिएको दुवै सवारी साधन सबडिभिजन वन कार्यालय चोहर्वामा राखिएको छ । यसबारे थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ । एक वन कर्मचारीले अहिले गाडी बेवारिसे अवस्थामा रहे पनि यो रामबाबुकै हो भन्ने जानकारी दिए । तर, अहिलेसम्म कोही जेसिबी र टिपर मेरो हो भनेर दाबी गर्न आई सकेका छैनन् । 

यस क्षेत्रबाट वर्षौंदेखि बिनादर्ता निर्वाध रूपमा प्रहरी प्रशासनकै मिलेमतोमा अवैध उत्खनन हुँदै आएको छ । स्थानीयको दबाबपछि केही टिपर र जेसिबी नियन्त्रणमा लिए पनि सामान्य राजस्व बुझाएर छुट्ने गरेको स्थानीयहरूको भनाइ छ । 

विद्यालयकै वरपर गैरकानुनी रूपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र बिक्रीवितरण हुँदै आए पनि प्रहरीको मौनता उदेकलाग्दो रहेको स्थानीय बासिन्दा बताउँछन् ।

विद्यालयको क्षेत्रमा अवैध उत्खनन रोक्न जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी गर्दा पनि नरोकिएको उनीहरूको गुनासो छ । दिनरात प्रहरीको ड्युटी रहने चोहर्वा चोककै बाटोबाट दर्जनौं स्थानमा खाल्डो खनेर वर्षौंदेखि ढुङ्गा, गिट्टी, बालुवा उत्खनन भइरहेको छ । तर, सरोकारवाला निकायको मौनताले स्थानीय आजित भइसकेको स्थानीय बताउँछन् ।


Author

थप समाचार
x