मधेश

सटर बनाउन मेयरले रामजानकी मन्दिर भत्काएपछि सडक अवरुद्ध

सुभाष कर्ण |
भदौ २५, २०८० सोमबार २२:२ बजे

जनकपुरधाम - धनुषाको एक मन्दिरमा स्थानीय जनप्रतिनिधिले डोजर चलाएपछि स्थानीयवासी सडक अवरुद्ध गरी प्रदर्शनमा उत्रेका छन । 

जिल्लाको विदेह नगरपालिका-७ तिनकोरिया चोकमा रहेको ७ दशक पुरानो रामजानकी मन्दिर नगरपालिकाले भत्काएपछि स्थानीयवासीले मेयरले हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र मन्दिरमा डोजर चलाएको भन्दै  हुलाकी राजमार्ग ठप्प पारेका छन् ।


बजारका लागि सटर निर्माणका गर्न मन्दिर भत्काएर र त्यससँगै जोडिएका ऐतिहासिक पोखरी मेयर बेचन दासको आदेशमा पुर्न थालेपछि स्थानीयवासीले विरोध प्रदर्शन गर्दै राजमार्ग अवरुद्ध गरेका हुन् । हिन्दुवादी युवकहरुले जनकपुर–साघारा हुलाकी राजमार्गमा टायर बालेर प्रर्दशन समेत गरेका छन् । 

राष्ट्रिय एकता अभियानका युवा अभियन्ताहरुले तिनकोरिया चोकमा नै टायर बालेर प्रदर्शन गरेका छन् । राष्ट्रिय एकता अभियानका मनिष हिन्दुको अगुवाईमा दर्जन बढी युवाहरु, साधुहरुले मन्दिर भत्काउन पाइँदैन भनी मेयर बेचन दासको विरोध गरेका छन् । 

तिनकोरिया चोकमा नै रहेको उच्च माध्यमिक विद्यालय बेलापट्टि मातहतको जग्गामा सो मन्दिर र पोखरी रहेको थियो  । तर मेयर दासले निजी व्यक्तिको जग्गामा मन्दिर रहेकाले हटाएको बताएको रामजानकी मन्दिरका पुजारी राजकिशोर दासले गुनासो गरे । 

उनले भने, 'मेयर दाससँग कुरा राख्दा रामचन्द्र साह भन्ने व्यक्तिको निजी जग्गा परेको हुनाले मन्दिर भत्काएको भनेर हप्काउने गरेका छन् । जबकि रामचन्द्र साहको जग्गा मन्दिर परिसरमा मुश्किलले ५ फिट अर्थात एक धुरको हाराहारीमा परेको छ र उनले सो जग्गा छोडिसकेका छन् । '

​​नगरप्रमुख दासको आदेशमा मन्दिरको पूजाघर बाहेक सबै घर भत्काई फलफूलका बगैँचा कटान गरिसकेको उनको बताए । 

मन्दिरका पूजारी राजकिशोर दासले बजार विस्तारको नाउँमा मन्दिर भत्काउने तर पोखरीको डिलमा विभिन्न व्यक्तिले अतिक्रमण गरी व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेपनि तिनीहरुलाई नहटाई मन्दिरलाई नै लक्षित गरिएको गुनासो गरे । 

यता मेयर दासले मन्दिरलाई भत्काएर बजार विस्तार गर्न लागिएको स्वीकार गरेका छन् । उनले भने, 'बजार विस्तार र मन्दिरको पुननिर्माण गर्न भत्काउन लागिएको हो । उनले सो स्थानमा ३ सयभन्दा बढी सटर निर्माण गर्ने लक्ष्य रहेको जानकारी दिए । पहिलो चरणमा ९० वटा सटर निर्माण गरिने छ ।'

 सटर निर्माणसंगै अव्यवस्थित रहेको तिनकौरिया बजार व्यवस्थित हुने नगरप्रमुख दासको भनाई थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x