मधेश

मधेश सरकारको प्रशासनिक भवन ५२ विघामा राख्‍ने तयारी

सुभाष कर्ण |
भदौ २०, २०८० बुधबार १३:४ बजे

जनकपुरधाम- मधेश प्रदेशका प्रशासनिक भवन मधेश भवनबाट सारेर जनकपुरधामको शिवपुरस्थित ५२ विघामा राख्ने तयारी अघि बढाइएको मुख्यमन्त्री सरोजकुमार यादवले बताएका छन् । जनकपुरधाम- १९ बेंगामा आयोजित कृष्णाष्टमी मेलाको उद्‌घाटन गर्दै मुख्यमन्त्री यादवले यसै वडामा रहेको ५२ विघामा मधेश सरकारको सम्पूर्ण प्रशासनिक भवन तथा आवास राख्ने तयारी अघि बढाइएको बताए । 

मिथिला क्षेत्र राजा जनकको राज्य भएको हुनाले यहाँका सरकारको प्रशासनिक भवन पनि काठमाडौँको सिंहदरबार जस्तै जनक दरबारले नामाकरण गरिने बताए ।


मुख्यमन्त्री यादवले सररकारको प्रशासनिक भवन तथा आवासको लागि सो ५२ विघा जग्गा प्रदेश सरकारलाई हस्तान्तरणका लागि संघीय सरकारलाई चार महिनाअघि नै पत्र पठाइसकेको जानकारी दिए । जग्गा हस्तान्तरण भएलगतै डिपीआर तयार गरी सम्भवतः यसै आर्थिक वर्षदेखि निर्माण प्रक्रिया अघि बढाइने बताए ।

हाल प्रदेश सरकारको प्रशासनिक भवन तथा आवास जनकपुर चुरोट कारखाना लिमिटेडको भवनमा रहेको छ । अहिले प्रदेश सरकारको प्रशासनिक क्षेत्रलाई मधेश भवन भनेर नामाकरण गरिएको छ ।

कृष्णाष्टमी मेलाको अवसरमा सहभागी भएका मुख्यमन्त्री यादवले भगवान कृष्ण राधाको दर्शन तथा पूजापाठका साथै प्रतिकात्मक स्वरुपलाई माल्यार्पण गरेका थिए । उनले कृष्णाष्टमी पूजनोत्सवका लागि आयोजित कलश यात्राको शुभारम्भ समेत गरेका थिए । सो कार्यक्रममा प्रदेश सांसद शेषनारायण यादव र एमालेका नेता सन्तोष यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x