मधेश

स्थानीय तहका कर्मचारीको सरुवा र बढुवाको व्यवस्था गर्न माग

सुभाष कर्ण |
भदौ ३, २०८० आइतबार १७:२८ बजे

जनकपुरधाम- मधेश प्रदेशस्थित स्थानीय तहका कर्मचारीहरूले समायोजन भएर आएका आफूहरूको सरुवा र बढुवा प्रदेशस्तरबाटै हुनुपर्ने व्यवस्था गर्न माग गरेका छन् । 

आइतबार सभामुख रामचन्द्र मण्डललाई ज्ञापन बुझाउँदै समायोजन भई स्थानीय तहमा कार्यरत कर्मचारीहरूले कानुन अभावमा ५ वर्षदेखि सरुवा र बढुवा हुन नसकेकाले स्थानीय तह सम्बन्धी बन्न लागेको कानुनमा व्यवस्था गर्न माग गरेका हुन् ।


प्रदेश सभामा पेस भएका स्थानीय सेवाको गठन, सञ्चालन सेवा र सर्तहरू सम्बन्धी विधेयकमा सरुवा र बढुवासहित संघ तथा प्रदेशमा खुल्ला प्रतिष्पर्धा गर्दा सेवा अवधि जोडिने व्यवस्था र उमेरहद नलाग्ने, कर्मचारीहरूलाई उच्च शिक्षा तथा छात्रवृत्तिको व्यवस्था लगायतका कुरा समावेश गरिदिन ज्ञापन पत्र मार्फत कर्मचारीहरूले गरेका छन् ।

कर्मचारीहरूको मागबारे सभामुख मण्डलले प्रदेश सभामा पेस भएको विधेयक छलफलका सम्बन्धित प्रदेश मामिला तथा कानुन समितिमा पठाइसकेको जानकारी दिए । तर, सो समिति सभापतिविहीन भएका कारण अहिलेसम्म छलफल हुन नसकेको उनले बताए ।

समितिका साथै विज्ञहरूसँगको छलफल पनि हुन बाँकी नै रहेकाले आफ्नो राय राख्ने क्रममा यी मागहरूका लागि समन्वय गर्ने प्रतिबद्धता उनले जनाए ।

स्थानीय तहका कर्मचारी मध्येका विक्रम यादवले अन्य प्रदेशले समायोजन भएका स्थानीय तहका कर्मचारीहरूलाई सरुवा र बढुवा गर्दै आएका छन् । तर, मधेश प्रदेशमा कानुन अभाव रहेको भन्दै ५ वर्षदेखि एकै पदमा एकै स्थानमा काम गर्न बाध्य छन् । सरुवा र बढुवा हुन नसक्दा कर्मचारीको काम गर्ने मनोबलमा ठूलो ठेस पुगेको उनीहरूले  बताएका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x