मधेश

सीमा सुरक्षामा कडाइ गर्ने नेपाल-भारत अधिकारीबीच सहमति

सुभाष कर्ण |
साउन २०, २०८० शनिबार २१:५० बजे

जनकपुरधाम- नेपाल–भारत सीमा सुरक्षा अधिकारीहरूको संयुक्त बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

भारतको विहार राज्यको मधुबन्नी जिल्लाको शौराठमा शनिबार बसेको जिल्ला स्तरीय सीमा समन्वय बैठकमा सीमा क्षेत्रबाट हुने गरेको लागूऔषधको ओसार पसार नियन्त्रणमा थप कडाइ गर्ने र सीमा क्षेत्रबाट हुने गरेका अन्य आपराधिक गतिविधि नियन्त्रण गर्ने लगायतका निर्णय भएको छ ।


सिमानामा दुवै देशका सुरक्षा गस्ती बढाउने, सीमा क्षेत्रमा हराएका सीमा स्तम्भको पुर्न निर्माणका लागि संयुक्त सर्भेका लागि केन्द्रमा लेखि पठाउने, भत्केका सीमा स्तम्भहरूको पुनः निर्माण गर्ने, नेपाल तर्फ हुने गरेको नक्कली नोटको कारोबार एवं ओसारपसारमा कडाइ गर्ने, एक ठाउँमा अपराध गरेर सीमावर्ती क्षेत्रमा भागेर लुकी बस्नेको विषयमा सूचना आदान प्रदान गर्ने सहमति भएको जनाइएको छ ।

नेपाली टोलीका नेतृत्व गरेका धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सीमा क्षेत्रबाट हुने चोरी पैठारीसहितको विषयमा कडाइ गर्ने र सीमा क्षेत्रका अन्य कुनै समस्या आएको खण्डमा मिलेर समाधान गर्ने दुवै देशका सुरक्षा अधिकारीबीच सहमति भएको जानकारी दिएका छन् ।

दुवै देशका संयुक्त सीमा सुरक्षा अधिकारीको बैठकमा नेपालका तर्फबाट धनुषासहित मधेश प्रदेशका महोत्तरी, सिरहा तथा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रहरी उपरीक्षकहरू, सशस्त्र प्रहरी उपरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सहभागी रहेको थियो भने भारतीय पक्षको नेतृत्व मधुबनी जिल्लाका डिएम अरविन्द कुमारले गरेका थिए ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x