मधेश

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ताले यौन दुर्व्यवहार गरेको शहीद परिवारको आरोप

सुभाष कर्ण |
साउन १९, २०८० शुक्रबार २१:११ बजे

जनकपुरधाम- मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरमाथि सोही कार्यालयमा कार्यरत एक कार्यालय सहयोगी शहीद परिवारले यौन दुर्व्यवहारको आरोप लगाएको छ ।

मधेश आन्दोलनका क्रममा शहीद भएका रामविवेक यादवकी श्रीमती अनिलाकुमारी यादव सोही कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत छिन् । उनले मुख्य न्यायाधिवक्ता ठाकुरले यौन दुर्व्यवहार गरेको भनी कारबाहीको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन दिएकी छिन् ।


अनिलाले निवेदनमा मुख्य न्यायाधिवक्ता ठाकुरले आफूलाई यौन दुर्व्यवहार गर्नेसहितका मानसिक यातना दिँदै आएको निवेदनमा उल्लेख गरेकी छिन् ।

‘मधेश प्रदेश सरकारको कानुनी सल्लाहकार मुख्य न्यायाधिवक्ताको कार्यालयमा विगत ६ वर्षदेखि कार्यरत छु, म आफ्नो काम इमान्दारीपूर्वक गर्दै आएको छु । पूर्व मुख्य न्यायाधिवक्ताको कार्यकालमा सौहार्दपूर्ण वातावरणमा काम गर्ने अवसर पायौँ । तर, वर्तमान मुख्य न्यायाधिवक्ता ठाकुरले तिमी काम ठीकै गर्छौं, तिम्रो अनुहारमा मुस्कान छैन, रिसाएको जस्तो गरी बस्छौं, मकहाँ आउँदा हँसमुख भएर आउनु, म जे भन्छु त्यो सबै मान्नु, नत्र तिमी काममा नआउनू, तिम्रो करारको म्याद थप्दिनँ,' भनी मानसिक यातना दिनुका साथै यौन दुर्व्यवहार गर्ने गरेकाे निवेदनमा उल्लेख छ ।

'प्रदेश सरकारको बदनामी हुन्छ भनी चुप लागेर बसेकी थिएँ । पछिल्लो दिनमा उक्त घटना तीव्र हुँदै गएकाले म एकल महिला भएको र उक्त कार्यालयमा काम गर्दा  चिया, खाजा लिएर जानुपर्ने हुन्छ । उक्त अवधिमा निज मुख्य न्यायाधिवक्ताबाट कुनै प्रकारको हिंसा हुन सक्ने असुरक्षाले सुरक्षाको व्यवस्थासहित मुख्य न्यायाधिवक्तामाथि कारबाहीको माग गरेकी छु,' उनले भनिन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले पटक पटक दुर्व्यवहार हुन थालेपछि आफूले गत साउन १४ गते मुख्यमन्त्री कार्यालयमा मुख्य न्यायाधिवक्ताविरुद्ध निवेदन लिएर पुगेको तर मुख्यमन्त्रीले निवेदन दर्ता नगरी उनलाई सम्झाउने भनी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट फर्काइएको गुनासो गरिन् ।

यता मुख्य न्यायाधिवक्ता ठाकुरले आफूमाथि लगाइएको आरोप निराधार रहेको दाबी गरेका छन् । उनले भने, ‘एक पटक मैले सर्वोच्च अदालतको महत्वपूर्ण कागजात उनलाई राख्न दिएको थिएँ । तर, उनले हराइदिइन् । त्यसपछि मैले कराएपछि उनले म माथि यस्तो निराधार आरोप लगाएको हो ।’

उनले थप्दै भने, 'उनी मेराे कार्यकक्षमा प्रवेश गरी बिनाअनुमति भिडियो बनाएको र बाहिर अनर्गल कुरा गरेर मलाई अपमान गरेकी हुन् । मैले यस विषयमा मुचुल्का उठाई सकेको छु, चाहेको भए अभद्र व्यवहार मुद्दा उनीमाथि चलाउन सक्थेँ तर मैले त्यस्तो गरिनँ । शहीदहरूको बलिदानीले यो प्रदेश बनेको हो, त्यसमाथि शहीदको पत्नी सोचेर मैले मुद्दा नचलाउने सोचे पनि उल्टै त्यसको फाइदा उठाउँदै अनर्गल प्रचारबाजी उनले गरिरहेकी छिन् ।'

लालबाबु राउत नेतृत्वको तत्कालीन प्रदेश सरकारले मधेश आन्दोलनका सहिद परिवारका एक/एक जना सदस्यलाई प्रदेश सरकार र सो अन्तर्गतका कार्यालयमा जागिर दिने निर्णय गरेको थियो । सोही निर्णयअनुरूप अनिलालाई कार्यालय सहयोगी पदमा त्यस बेला मुख्य न्यायाधिवक्ताको कार्यालयमा करारमा नियुक्ति दिइएको थियो ।

सहिद रामविवेककी पत्नी अनिलाको एउटा छोरा छन् । छाेरा सात महिनाको पेटमै हुँदा रामविवेकको २०७२ साल भदौ २३ गते अधिकारका लागि गरिएको मधेश आन्दोलनको बेला प्रदर्शनका क्रममा प्रहरीको गोली लागि मृत्यु भएको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x