अर्थ / बाणिज्य

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य- अर्थमन्त्री पुन

इकागज |
बैशाख १६, २०८१ आइतबार १०:४३ बजे

काठमाडौँ - तेस्रो लगानी सम्मेलन सुरु भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको बताएका छन् ।

लगानी बोर्डका उपाध्यक्षसमेत रहेका मन्त्री पुनले उद्घाटन सत्रमा सम्बोधन गर्दै नेपाललाई गन्तव्यको रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताएका हुन् ।


उनले सम्मेलनमार्फत नेपालले विदेशी तथा स्वदेशी लगानी प्रबर्द्धन गर्न नियामक क्षेत्रमा हालै गरिएका सुधारहरूबारे जानकारी गराउनु तथा लगानीका लागि तयार भएका परियोजनाहरू सहित विभिन्न क्षेत्रका आयोजनाहरूको विस्तृत प्रदर्शनी गर्नु पनि सम्मेलनको उद्देश्य रहेको बताए ।

उनले लगानीकर्ता र सरोकारवालाबीच धेरै सम्झौता र समझदारीका साथै परियोजना विकास र व्यवस्थापनसम्बन्धी सम्झौता हुने विश्वास लिएको भन्दै नेपालका आर्थिक सूचकहरू स्थिर र सकारात्मक बन्दै गएको भन्दै नेपालले पछिल्लो समय स्वच्छ ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि र कृषि आधारित उद्योगका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरे ।

उनले भने, ‘व्यावसायिक वातावरण  सुधार गर्ने र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले हामीले विभिन्न नीतिगत सुधार गरेका छौँ, नीतिगत र व्यवसाय शुरु गर्दा लाग्ने प्रक्रियागत झन्झटमा सुधार, सार्वजनिक शासनमा पारदर्शिता र जवाफदेहीता सुनिश्चित गरिएको छ।’

आगामी दिनमा पनि यस प्रक्रियालाई निरन्तरता दिइनेछ, नेपालले पछिल्लो समय स्वच्छ ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि र कृषि आधारित उद्योगका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको तथ्यबाट पनि नेपाल लगानीका लागि उपयुक्त र आकर्षक गन्तव्य भएको पुष्टि भएको उनको भनाइ छ ।

उनले थपे, ‘नेपालले औद्योगिक विकास, पूर्वाधार विकास, रोजगारी सिर्जना, निर्यात प्रवर्द्धनका साथै ज्ञान, सीप र प्रविधि हस्तान्तरणका लागि उत्प्रेरकको रूपमा विदेशी लगानीलाई स्वागत गर्ने नीति अख्तियार गरेको छ ।’

अर्थमन्त्री पुनले उच्च आर्थिक वृद्धिको लक्ष्य छुन आन्तरिक लगानी र बजार मात्र पर्याप्त नरहेकाले नेपालले विदेशी लगानी प्रवद्र्धनमा जोड दिएको बताए। सरकार निजी क्षेत्रसँग निजी प्रत्यक्ष लगानीका साथै सार्वजनिक-निजी साझेदारीमार्फत सहकार्य गर्न प्रतिवद्ध रहेको  बताए ।


Author

थप समाचार
x