मधेश

नागरिक उन्मुक्ति र नेसपाबीच एकीकरण

मधेशवादी दलहरुले आफ्नो भजाउने काम मात्र गरे: चौधरी

सुभाष कर्ण |
साउन १४, २०८० आइतबार १५:४७ बजे

जनकपुरधाम - नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं नेता रेशम लाल चौधरीले मधेशवादी दलहरूले आफूसँग धोखाधडी गरेको आरोप लगाएका छन । 

आइतबार जनकपुरधाममा आयोजित नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौधरीले आफू साढे आठ वर्ष जेलमा बस्दा यहाँका मधेशवादी दलले आफूलाई स्वीकार गरेनन् । चुनावमा मेरो नाम भजाउने काम मात्र गरे । 


उनले भने जुन मधेशवादी दललाई मलाई जेलबाट चुनाव लडाउनेदेखि शपथ खुवाउनेसम्मको हैसियत राखे त्यसले तिनीहरूले मेरो रिहाइका लागि किन गरेनन् । उनीहरूको चाल बुझेपछि आफू जेल बसाइकै क्रममा नागरिक उन्मुक्ति पार्टी गठन गरेर थरुहट प्रदेशमा १६ वटा सांसद जित्न सफल भए ।

नेता चौधरीले अहिले थरुहट प्रदेशमा शासन गरिरहेको आउँदो निर्वाचनमा मधेश प्रदेशमा अत्यधिक मतले जितेर मधेश सरकारको नेतृत्व गर्ने दाबी गरे । उनले भने, 'अहिले नेपाल सद्भावना पार्टीसँग एकीकरण भएको छ । दुई/चारवटा मधेशवादी दलहरू अझै सम्पर्क छन उनीहरूसँग पनि एकीकरण गरी आउँदो निर्वाचनमा मधेशमा पनि नागरिक उन्मुक्ति पार्टीले आफ्नो सरकार बनाउनेछ ।' 

कार्यक्रममा नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले मधेश क्रान्तिको योद्धाको रुपमा नेता चौधरी पनि मधेशवादी दलबाट आबद्ध भएको क्रममा जेलमा बसे तर मधेशवादी दलहरूले उनलाई रिहा गराउनुको सट्टा चुनावमा नाम भजाएर मत बटोर्ने काम मात्र गरे ।

अहिलेको नागरिक उन्मुक्ति थारुहरुको हकहित मात्रै होइन मधेशी जनताको उन्मुक्तिका लागि समेत सक्रिय रहेको कारण आफूहरू एकीकरण गर्न बाध्य भएको उनले बताए । उनले भने, 'नेपाल सद्भावना पार्टी र नागरिक उन्मुक्ति पार्टीको एकीकरणले आउँदो दिनमा मधेशलाई नयाँ दिनुका साथै निर्वाचनमा समेत राम्रो मत ल्याएर मधेश सरकारमा आफ्नो प्रतिनिधित्व जनाउनेछ ।'

एकीकरणका लागि महाधिवेशनसम्मका लागि दुवै दलबीच ३ बुँदे सहमति समेत भएको छ । सहमति अनुसार आगामी एकता महाधिवेशनसम्मका लागि एकीकृत पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नै रहनेछ, महाधिवेशनसम्म पार्टीको झण्डा, चुनाव चिन्ह, छाप र विधान नागरिक उन्मुक्ति पार्टीकै रहनेछ  केन्द्रीय निकायदेखि स्थानीय तहसम्मका पदाधिकारी तथा सदस्यहरूको समायोजन दुवै पार्टी आन्तरिक सहमति अनुसार हुनेछ ।

सो एकीकरण कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारु लगायत दुवै पार्टीका केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x