मधेश

मिटरब्याजी आरोपी : प्रहरीद्वारा पक्रिन्छन्, तर लगत्तै छुट्छन्

आरोपी भन्छन्– कुनै लेनदेन छैन, पीडितको आवाज–धितो राखेको जग्गा दिएनन्

सुभाष कर्ण |
साउन ४, २०८० बिहीबार १०:५३ बजे

जनकपुरधाम । धनुषामा मिटरब्याजी सम्बन्धी समस्या झन् झन् बल्झिँदै गएको छ । सरकारले अनुचित लेनदेन सम्बन्धी ऐन पारित गरेपछि एकपक्षले आरोप लगाउने अर्को पक्षले आरोप लगाउनेसँग कुनै सम्बन्ध नै नरहेको घटना बाहिरिन थालेको छ ।

यसै क्रममा बुधबार मिटरब्याजी आरोपमा धनुषाधाम नगरपालिका कजरा गाउँ निवासी शिवजी यादव पक्राउ परे । तर जिल्ला प्रशासन कार्यालयले अदालतबाट निषेधाज्ञा जारी रहेको भन्दै छाडिदियो । यद्यपि पीडित भनिएकाहरुले राजनीतिक प्रभाव र आपसी मिलेमतोमा रिहा गरिएको आरोप लगाइरहेका छन् ।


मिटरब्याजी पीडित धनुषाधाम निवासी राकेश साहका समूहले एक पत्रकार सम्मेलन आयोजना गरी पटक पटक पक्राउ पर्दै आएका मिटरब्याजी आरोपित शिवजी राजनीतिक प्रभावमा छुट्दै आएको दाबी गरे । ‘फेरि पक्राउ गरियो तर कारबाहीको गर्नुको सट्टा राजनीतिक प्रभावमा जिल्ला प्रशासन कार्यालय छाडिदिएको छ ।’ उनले भने ।

करोडौ रुपैयाँ बराबरको मिटरब्याजका आरोप लागेका यादवलाई इलाका प्रहरी कार्यालय धनुषाधामले बुधबार बिहानै पक्राउ गरेर कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो । तर जिल्ला प्रशासन कार्यालयले उनलाई उजुरीमाथि कुनै चासो नलिई छाडेको आरोप मिटरब्याजी पीडित धनुषाधाम नगरपालिका २ निवासी नागेश्वर साहको रहेको छ ।

उनले भने, ‘आफूले पाँच करोड रुपैयाँको जग्गा रजिष्ट्री गरेर शिवजी यादव र उनका भाइ किशोरी यादवसँग कारोबार गरे । कयौं पटक रकम दिइसकेछु, हरहिसाब गरेर जग्गा फिर्ता गर्न ताकेता गर्दै आलटाल गर्दै आफ्नो जग्गा बेइमानी गरिसकेको छ ।’ यसअघि पनि दुई दुई पटक प्रहरीले पक्राउ गरेर छाडिदिएको उनले सुनाए । १० दिनदेखि फरार रहँदै आएका शिवजीलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रशासन कार्यालयमा जिम्मा लगाउँदा राजनीतिक दबाव र प्रभावमा छुटिसकेकाले आफूहरू न्याय पाउने भने आश मरिसकेको राकेशले गुनासो गरे ।

उनीहरुका अनुसार धनुषाधामस्थित शिवशंकर वस्त्रालय सञ्चालन गर्दै आएका शिवजीले गाउँ घरमा सोझासाझा मानिसहरुलाई ब्याजमा पैसा लगाई ब्याज तिरिदिएको भएपनि कागजात नच्यातेर धरौटीबापत रजिष्टरी गरिएका जग्गा बिक्री गरिदिने, थप रकम माग्ने र जग्गा फिर्ता गर्न भनेपछि उल्टै मुद्दा हाल्ने लगायतका कार्य गर्दै आएका छन् ।

मिटरब्याजपीडित राकेशले भने आफूले २०७२ सालमा निगौल र धारापानीको ५ करोडभन्दा बढीको एक सालमा ऋण चुक्ता गर्ने शर्तमा धरौटीवापत जग्गा रजिष्ट्री गरेर २५ लाख रुपैया ऋण लिएको बताए । एक साल नबित्दै १० लाख र २ लाख गरी १२ लाख चुक्ता गरिदियौं साँवा ब्याज सहित रकम चुक्ता गरेर जग्गा फिर्ता माग गर्दा आलटाल गर्दै आएको छ । उनले थप्दै भने, ‘न त बक्यौता रकम लिन मानिरहेका छन् न जग्गा फिर्ता नै गर्न चाहिरहेका छन् । निगौलको जग्गा विक्री गर्दै आएका छन र धारापानीको जग्गा समेत बिक्री गर्ने तरखरमा रहेको छ ।’

यसैबीच मिटरब्याजका आरोप लागेका शिवजी यादवले राकेश साह नेतृत्वका चार जना व्यक्तिले आफूमाथि संघातिक आक्रमण गरेको आरोप लगाएका छन् । उनले पनि एक पत्रकार सम्मेलन आयोजना गरी धनुषाधामबाट जनकपुरधाम आउने क्रममा शिसमपुर चौकमा राकेश साहको नेतृत्वमा नागेश्वर साह, राजेश्वर साह र समोद साहसहितका व्यक्तिले आफूलाई निर्घात रुपमा कुटपिट गरी रुपैयाँ लुटेको आरोप लगाए ।

उनले भने ‘शिसमपुर चोकमा राकेश साहसहितका व्यक्तिले आफूलाई गाडीबाट झारेर हेलमेट र लाती र मुक्काले कुटपिट गर्दै आफूसँग रहेको ९५ हजार रुपैयाँ र मोबाइलसमेत लुटेर इलाका प्रहरी कार्यालयको जिम्मा लगाए । आफूलाई के कति कारणले कुटपिट गरेको थाहा पाएनौं । तर ईलाका प्रहरी कार्यालय धनुषाधाममा गएपछि मिटरब्याजीको उजुरी रहेको थाहा पाएँ ।’

मिटरब्याज सम्बन्धी आरोप रहेकोबारे उनले आफूमाथि आक्रमण गर्नेहरुसँग लेनदेन सम्बन्धी कुनै कारोबार नरहेको दाबी गर्दै व्यक्तिगत इर्स्याका कारण आक्रमण गरेको बताए । आफूमाथि मिटरब्याजीको उजुरी दिने राकेशबीच कुनै प्रकार लेनदेन नरहेको बताउँदै शिवजीले भने, ‘धनुषाबाट हटाउन व्यक्तिगत इर्स्यामा मिटरब्याजीको आरोप लगाउँदै आफूमाथि आक्रमण गरेर प्रहरीको जिम्मा लगाएको हो ।’

पछिल्लोपटक आफूले पैसा तिरेर खरिद गरेका जग्गा मौखिक रुपमा फिर्ता गर्न धाकधम्की तथा मानसिक यातना दिदै आएपछि थुनामा राखेर जबरदस्ती जग्गा फिर्ता गराउन सक्ने आशंका लागेपछि उच्च अदालतमा मुद्दा दर्ता गराएको उनको दाबी छ ।

सो मुद्दामा उच्च अदालतले जिल्ला प्रशासन कार्यालयसहितका विपक्षीहरुको नाममा धरपक्कड वा थुनामा नराख्न आदेश जारी गरेको अवस्थामा आफूलाई पक्राउ गरेर जिल्ला प्रशासन कार्यालयमा लग्नु उचित नरहेको उनले बताए ।

यता घटनाबारे प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले शिवजीविरुद्ध मिटरब्याजी सम्बन्धी उजुरी परेकाले हाजिर गराउन इलाका प्रहरी कार्यालयमा पत्राचार गरेको बताए । सोही आधारमा ईप्रकाले जिल्ला प्रशासन कार्यालयमा छलफलका लागि ल्याइएको थियो । तर उजुरी दिने पक्ष ढिलो गरी आएकाले छलफल हुन सकेन।

पीडितले पक्षले आपसी मिलोमतो र राजनीतिक प्रभावमा मिटरब्याजीलाई रिहा गरिएको आरोपबारे प्रजिअ दाहालले भन, ‘अदालतबाट निषेधाज्ञा जारी भएको कारण हामीले राख्न नमिल्दा छाड्नु परेको हो ।’


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x