मधेश

धनुषामा मिटरब्याज सम्बन्धी समस्या समाधान हुँदै

सुभाष कर्ण |
असार १७, २०८० आइतबार २०:४६ बजे

जनकपुरधाम- मिटरब्याज (अनुचित लेनदेन) पीडित तथा साहुका बीचको समस्या धनुषामा समाधान हुँदै गएको छ ।

जिल्ला प्रशासन कार्यालयले लिने र दिने दुवै पक्षलाई राखेर मिटरब्याज हेर्ने शाखामा सहमति गराएपछि मिटरब्याज पीडितको समस्या समाधान भइरहेको जनाइएको छ ।


धनुषमा नयाँ निवेदन दर्ता भएका मध्ये ९२ वटामा दुवै पक्षका बीचमा आफू मिलापत्र गरी समस्या समाधान गराउँदै आएको धनुषामा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताएका छन् ।

यसअघि पुराना निवेदन मध्ये १६७ वटामा सहमति भएको थियो भने ५९ वटा निवेदनमा छलफल भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय धनुषामा मिटरब्याजको २ हजार ६ सय १५ वटा निवेदन परेको छ ।

यस्तै अवस्था रहेको खण्डमा सबै निवेदनहरूमाथि छलफल गरेर टुङ्गो लगाउनमा १ वर्ष लाग्ने अवस्था रहेको छ । मिटरब्याज पीडितको समस्या समाधान गर्नका लागि गठन गरिएको जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना भएका कारणले पनि धनुषामा पीडितको सुनुवाइ भइरहेको जनाइएको छ । 

मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी अध्यादेश आएका कारणले पुराना कागजहरू बदर हुने डरका कारणले ब्याजमा रकम दिनेहरू मिल्न थालेका छन् भने केही मिटरब्याजका निवेदन दिएकाले रकम दिँदा साहुसँग भरपाई नलिँदा पनि समस्या भइरहेको प्रजिअ दाहालले बताए ।

मिटरब्याज पीडितसँगै रकम दिनेहरू पनि पीडित देखिएकाले त्यसमा दुवै पक्ष तथा छरछिमेकीहरूलाई राखेर समस्याको निकास गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x