मधेश

मधेश गृह मन्त्रालयमा जनयुद्धका शहीद परिवारले गरे तालाबन्दी

सुभाष कर्ण |
असार १७, २०८० आइतबार १६:८ बजे

जनकपुरधाम- मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा जनयुद्धका शहीद परिवारले तालाबन्दी गरेका छन् । मधेश शहीद प्रतिष्ठानले घोषणा गरे अनुरूप ३ लाख रुपैयाँ नदिएको भन्दै जनयुद्धका शहीद परिवारले मन्त्रालयमा आइतबार तालाबन्दी गरेका हुन् ।

विभिन्न जिल्लाबाट आएका जनयुद्धका शहीद परिवारले मन्त्रालयमा तालाबन्दी गर्नुअघि मुख्यमन्त्री सरोजकुमार यादवलाई भेट्न खाेज्दा उनी बाहिर रहेकाले भेट हुन नसकेपछि उनीहरू आक्राेशित भएका थिए ।


मधेश सरकारले गत वर्ष नै जनयुद्धमा शहीद भएका परिवारलाई किस्ताबन्दीमा ३ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो । प्रतिष्ठानले तीन वर्षसम्म एक/एक लाख रुपैयाँ उपलब्ध गराउने कार्यक्रम अन्तर्गत यसपटक शहीद परिवारले पैसा नपाएका कारण आफूहरूले तालाबन्दी गरेकाे  शहीद परिवारका सदस्य राजु महतोले बताएका छन् ।

सरकारले गत फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको शहीदको नाम र ठेगानाको आधारमा रकम दिने भनेको छ । तर, शहीद परिवारले गत वर्ष जस्तै प्रमाण पत्रको आधार पाउनु पर्ने माग गरेका छन् । शहीद घोषणामा कतिपयको नाम र ठेगाना गलत भएकाले प्रतिष्ठानले सच्याएर मात्र दिने र सो काम सरकारको रहेकाे तर विभिन्न बहाना बनाउँदै प्रतिष्ठान रकम उपलब्ध नगराएकाे महतोको भनाइ छ ।

असार मसान्तभित्र राहत रकम नपाए छुट्याइएको बजेट फ्रिज हुन जाने सम्भावनाकाे दृष्टिगत गर्दै दबाब दिने उद्देश्यले तालाबन्दी गरिएकाे उनले बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x