मधेश

अतिरिक्त हुलाकका कर्मचारीहरू आन्दोलनमा

सुभाष कर्ण |
असार १०, २०८० आइतबार १७:४९ बजे

जनकपुरधाम- काजबाट हटाएर सरकारले अन्याय गरेको भन्दै अतिरिक्त हुलाक कार्यालय खारेजको निर्णय फिर्ताको माग गर्दै अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । 

आर्थिक वर्ष २०८०/८१ को बजेटमा अतिरिक्त हुलाक कार्यालय खारेजको निर्णय सरकारले न्यायपूर्ण व्यवहार नगरेको भन्दै तिनीहरू जनकपुरधामस्थित हुलाक कार्यालयमा तालाबन्दी गरी गत असार ५ गतेदेखि नै आन्दोलनमा छन् ।


नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनको अगुवाइमा उनीहरूले जिल्ला हुलाक कार्यालय अगाडि धर्नामा बसेका छन् । अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरू विभिन्न ४ वटा माग अगाडि सारेका छन् ।

अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन धनुषाको विरोध कार्यक्रमका संयोजक जिल्ला अध्यक्ष प्रदीपकुमार यादवले आफूहरूलाई सरकारले व्यवस्थापन नगरेसम्म आन्दोलन जारी रहने चेतावनी दिए । 

अतिरिक्त हुलाक खारेजको निर्णय तत्काल फिर्ता गर्न, अतिरिक्त हुलाकमा लामो समयदेखि कार्यरत कर्मचारीहरूको रोजगारी नखोस्न, हुलाकको संरचना खारेज होइन यसको सेवाको पुनःसंरचना गर्न र राजीनामा दिइ सेवाबाट नियमित रूपमा अवकाश भएका वा हुने कर्मचारीहरूको सेवा अवधि तथा सेवा सुविधा सुनिश्चित गर्नुपर्ने उनीहरूको माग रहेको छ । 

अतिरिक्त हुलाक, इलाका हुलाक तथा जिल्ला हुलाक कार्यालयहरूमा माग पूरा नभएसम्म प्रदर्शनका साथै कामकाज ठप्प पारी तालाबन्दी जारी राख्ने अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन धनुषाका अध्यक्ष दिनेश यादवले बताए । 

आन्दोलनरत पक्षले गरेको आन्दोलनका कारण कामकाजमा प्रभाव परेको हुलाक कार्यालय धनुषाका प्रमुख साहले बताए । उनले भने, 'उनीहरूको आन्दोलन ५ गतेदेखि रहे पनि कार्यालयका काम शुक्रबारदेखि प्रभावित रहेको छ ।'


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x