मधेश

पानी नपर्दा कम्पनीमा रासायनिक मल थन्कियो

सुभाष कर्ण |
असार ७, २०८० बिहीबार २०:२८ बजे

जनकपुरधाम- पटकपटक मल अभाव भएपछि किसानहरू आन्दोलित हुँदै आएका थिए । तर, अहिले समयमा पानी नपर्दा कृषि सामग्री कम्पनी लिमिटेडमा मल थन्किन पुगेको छ । 

जनकपुरधामस्थित कम्पनीको शाखा कार्यालयको गोदाममा ठूलो मात्रामा रासायनिक मल स्टक रहेको छ । कम्पनीका शाखा कार्यालय प्रमुख रविकुमार केसरीका अनुसार अहिले गोदाममा युरिया १ हजार १३१ दशमलव ७५० मेट्रिकटन,डिएपि ९६२ दशमलव ८५० मेट्रिकटन र पोटास् २ दशमलव ७५० मेट्रिकटन स्टक रहेको छ । 


उनले चालु आर्थिक वर्षमा अहिलेसम्म ४ हजार २७० दशमलव ७०० मेट्रिकटन युरिया, २ हजार ३४९ दशमलव ८ सय मेट्रिकटन डिएपि र २११ मेट्रिकटन पोटास वितरण गरिएको बताए । समयमै वर्षा नभएका कारण किसानहरूले धान रोपाइँ पूर्ण रूपमा सुरुवात नगरेकाले मल स्टक रहन गएको उनकाे भनाइ छ । उनले भने, 'पानी पर्न थालेपछि एक सातामै ती मल खपत हुनेछ । तर, पानी नपर्दा किसानहरूले रासायनिक मल किन्न नआएको हो ।'

'हाम्रो गोदाममा रासायनिक मल पर्याप्त मात्रामा स्टक रहे पनि धनुषा र महोत्तरी जिल्लाका लागि अपुग नै छ,' उनले भने, 'कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयको वार्षिक लक्ष्य युरिया ९ हजार, डिएपि ६ हजार र पोटास ५५१ मेट्रिकटन रहेको छ । जुन कम्पनीको मौज्दात भन्दा धेरै बढी रहेको छ ।' केसरीले बाँकी रहेको मल अब केही दिनमा आउने बताए । 

आन्तरिक विवादका कारण स्थानीय तहले सिफारिस नदिँदा धनुषा र महोत्तरी जिल्लामा रहेका २ सय ६ वटा थोक बिक्रेताहरूलाई माग अनुसारको मल उपलब्ध गराउन नसक्दा समेत गोदाममा मल थन्किएको बुझिएको छ । 

संघीय सरकारले धान, गहुँ, मकै र तरकारी खेती गर्ने किसानहरूलाई प्राथमिकतामा राखी सहुलियत दरमा रासायनिक मल उपलब्ध गराउँदै आए पनि मल सम्बन्धमा सिफारिस गर्दा स्थानीय तहले विवाद गर्ने र समयमा सिफारिस नगर्दा थोक बिक्रेताहरूले माग गरे जति मल दिन नसक्दा बढी मात्रामा मल बिक्री हुन नसकेको प्रमुख केसरीले बताए ।

सरकारले किसानहरूलाई सहुलियत दरमा युरिया मलप्रति बोरा रु ८ सय ४३ ,डिएपि प्रति बोरा रु २ हजार २ सय ९३ र पोटासप्रति बोरा रु १ हजार ६ सय ९३ रुपैयाँमा उपलब्ध गराउँदै आएको छ । तर, धनुषा र महोत्तरीका थोक बिक्रेताहरूले दुर्गम गाउँमा सो मल ल्याउँदा ढुवानी खर्च बढी लाग्ने, बाटोमा प्रहरीले क्षमताभन्दा बढी लोड गरेको भनेर जथाभावी रकम माग्ने गरेकाले महंगोमा मल बेच्नुपर्ने बाध्यता रहेको बिक्रेताहरूको भनाइ छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x