मधेश

मधेशका पाँच विषयगत समितिका सभापति चयन

सुभाष कर्ण |
असार ३, २०८० आइतबार २०:४९ बजे

जनकपुरधाम- मधेश प्रदेशका विभिन्न सात विषयगत समितिमध्ये पाँच समितिका सभापति सर्वसम्मतिले चयन गरिएको छ । 

शनिबार समितिको निर्वाचनका लागि गरिएको उम्मेदवारी दर्ता भए पनि सत्ता पक्ष र प्रतिपक्षीको बाँडफाँट अनुसार सर्वसम्मतिले सभापतिहरू चयन भएका हुन् । प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १४६ बमोजिम गठित विषयगत समितिकाे सभापति चयन गरिएको छ ।


प्रदेश सभा सचिवालयका अनुसार विकास समिति, अर्थ तथा योजना समिति, प्राकृतिक स्रोत तथा वातावरण समिति, सार्वजनिक लेखा समिति र महिला, बालबालिका तथा सामाजिक न्याय समितिको सभापति निर्विरोध निर्वाचित भएको हो ।

विकास समितिको सभापतिमा जसपा नेपालका सारदा शंकरप्रसाद कलवार, अर्थ तथा योजना समितिको सभापतिमा जनमत पार्टीका सतिशकुमार सिंह, प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा नेकपा माओवादी केन्द्रकी शारदा दास पहाडी, सार्वजनिक लेखा समितिको सभापतिमा प्रतिपक्षी नेकपा एमालेकी मंजुकुमारी थापा मगर र महिला, बालबालिका तथा सामाजिक न्याय समितिको सभापतिमा लोसपकी रुपाकुमारी यादव निर्वाचित भएको जनाइएको छ ।

विषयगत समितिका सभापतिहरूलाई सभामुख रामचन्द्र मण्डलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । शपथ ग्रहण संगै सबैले पदभारसमेत ग्रहण गरेका छन् । कृषि तथा भूमि व्यवस्थापन समिति र प्रदेश मामिला समितिको सभापति चयन हुन बाँकी रहेको छ ।

मधेश प्रदेशमा अर्थ तथा योजना समितिमा सभापतिसहित ११ जना, कृषि तथा भूमि व्यवस्थापन समितिमा सभापतिसहित १२ जना, प्रदेश मामिला समितिमा सभापतिसहित ९ जना, प्राकृतिक स्रोत तथा वातावरण समितिमा सभापतिसहित १२ जना, महिला बालबालिका तथा सामाजिक न्याय समितिमा सभापतिसहित १३ जना, विकास समितिमा सभापतिसहित १२ जना र सार्वजनिक लेखा समितिमा सभापतिसहित १५ जना सदस्य रहने व्यवस्था छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x