मधेश

बलवा नगरपालिकामा मेयर र उपमेयरबीच विवाद

उपमेयरले प्रशासकीय अधिकृतमाथि बोतल प्रहार गरेकाे आराेप

सुभाष कर्ण |
बैशाख ५, २०८० मंगलबार १९:२६ बजे

जनकपुरधाम- महोत्तरीको बलवा नगरपालिकाकी उपमेयर रामदुलारी देवी ठाकुरले प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार ठाकुरमाथि बोतल प्रहार गरेकी छिन् । अधिकृत ठाकुरले उपमेयरले आफ्नो कार्यकक्षमा आसमान नेपालका कर्मचारीहरूसँग मिटिङ्ग गरिरहेका बेला आफूमाथि पानीको बोतल प्रहार गरेको आरोप लगाएका छन् ।

बलवा नगरपालिका वडा नम्बर–७ बनौटामा निर्माण भइरहेको सडकको काम आफूसँग सोधपुछ नगरी किन रोकेको भन्दै उपमेयरले आफूमाथि पानीको बोतल प्रहार गरेको अधिकृत ठाकुरले बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत ठाकुरले भने, 'उपमेयरकै योजना अन्तर्गत २५ लाखको लागतमा निर्माण भइरहेको सो सडकबारे स्थानीयले ९ फिट मात्र नभइ १४ फिट चौडा गर्नुपर्ने माग गर्दै कार्यालयमा लिखित निवेदन दिएपछि तत्कालका लागि काम रोकिएको थियो, सोही कुरालाई इस्यू बनाएर उपमेयरले मसँग दुर्व्यवहार गर्नुभएकाे हाे ।'


उता, उपमेयर ठाकुरले प्रमुख प्रशासकीय अधिकृतमाथि आफूले पानीको बोतल प्रहार नगरेको दाबी गरेकी छन् । उनले भनिन्, ‘मैले प्रमुख कार्यालय सहयोगीलाई प्रशासकीय अधिकृतलाई बोलाएर ल्याउन ३ पटक उनको कार्यकक्षमा पठाएँ । अटेर गर्दै गएपछि पटकपटक फोन समेत गरेँ । तर, उहाँले कुनै चासो लिएनन् । 
बाध्य भएर म आफैँ उहाँको कार्यकक्षको गेटमा गएर यहाँ आउनुस् तपाईंसँग कुरा गर्नु छ भन्दा उहाँले कुनै रेस्पोन्स नगरी तपाईंसँग कुरा गर्नु छैन भनी अटेर गरेपछि सामान्य भनाभन भएकाे हाे ।'

उपमेयर ठाकुरले भनिन्, ‘नगरपालिकामा कुनै पनि काम हुँदा मलाई बायकट गर्दै मेयर र हाकिम मिलेर सबै काम गर्दै आएका छन् । अनुगमन समितिमा आफ्नो अधिकार रहेको मेयर र अधिकृतले कुनै जानकारी नै नदिई अनुगमन गर्दै आएका छन् । मेरो अनुगमन बिना नै उहाँहरू आपसी मिलोमतोमा भुक्तानी समेत गर्दै आएका छन् ।'

आफूले न्यायिक समितिको व्यवस्थापनका लागि कार्यविधि बनाएर हाकिमलाई तीनपटक बुझाए पनि विगत ११ महिनादेखि कसैले कुनै समन्वय नगरेको उपमेयर ठाकुरले गुनासो गरिन् । नगरप्रमुख रामविजय महतो र प्रमुख प्रशासकीय अधिकृत ठाकुर मिलेर कार्यालयमा बितण्डा मचाएको उपमेयर ठाकुरको आरोप छ ।

‘यस पालिकामा मेयरको काम मात्रै हुने तर मेरो काम नहुने ? के म निर्वाचित जनप्रतिनिधि होइन ? भन्ने उपमेयर ठाकुरको प्रश्न रहेको छ,’ उनले भनिन्, 'मेयर महतोले मेरो योजनाका कामहरू रोक्का गर्न लगाउनु भाकाे छ, गुनासो गर्दा तपाईंको कामहरू रोक्का गरेको छु जे मन लाग्छ गर्नुस् भन्दै उल्टै थर्काउने गरेका छन् ।'

उपमेयर ठाकुरले लगाएको आरोपबारे नगरप्रमुख महतोले उपमेयरले नगरपालिकामा बिना कुनै विषयको पटकपटक विवाद गर्दै आएको बताए । उनले भने, ‘अहिले हामीसँग प्रशासनिक भवनको अभाव छ । हामी सबै कुरा मिलाउनमा लागेका छौं । भवनको अभावमा कर्मचारीलाई पनि काम गर्न समस्या भइरहेको छ । तर, बीचबीचमा उपप्रमुखले सामान्य कुरालाई पनि इस्यू बनाएर विवाद खडा गर्नुहुन्छ ।'

'जहाँसम्म अनुगमन र न्यायिक समितिको कुरा हो, त्यसमा आफूले उहाँको अधिकार क्षेत्रमा कतै कुनै हस्तक्षेप गरेको छ । कानुनी रूपमा कुनै पनि विकासे योजनाको भुक्तानी उपमेयरले अनुगमन नगरेसम्म हुँदैन, यस्तो अवस्थामा आफूमाथि आरोप लगाउनु गलत हो,' उनले भने ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x