मधेश

मुख्यमन्त्रीले हटाएका प्रादेशिक अस्पतालका डाक्टरलाई अदालतले गर्‍याे पुनःस्थापित

सुभाष कर्ण |
बैशाख ४, २०८० सोमबार २१:५ बजे

जनकपुरधाम- प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डाक्टर प्रमोद यादवलाई उच्च अदालत जनकपुरधामले पुनःस्थापित गरेको छ ।

छानबिनका क्रममा लापरबाही गरेको पाइएपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कारबाही स्वरूप पदमुक्त गरी मन्त्रालय तानेका थिए । तर, उच्च अदालत जनकपुरधामले डाक्टर प्रमोद यादवलाई प्रादेशिक अस्पताल जनकपुरको निर्देशककै रूपमा कामकाज गर्न अन्तरिम आदेश जारी गरेको हो ।


डा. यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध उच्च अदालत जनकपुरमा उत्प्रेषण मुद्दा दायर गरेकोमा न्यायाधीश ढालकुमार खड्काको एकल इजलासबाट डाक्टर यादवलाई निर्देशकका रूपमा कामकाज गर्न फैसला सुनाएको हो । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७७ को दफा १८(२) मा अस्पताल निर्देशकको पदावधि ५ वर्षको हुने भनी निश्चित अवधि हुने व्यवस्था गरेको पाइन्छ ।

निश्चित अवधि कायम रहेको पदाधिकारीहरूलाई काज सरुवा गर्ने व्यवस्था मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७७ मा व्यवस्था नरहेकोमा अस्पतालको निर्देशकले गर्ने कार्यबाहेक अन्यत्र कामकाजमा खटाउने गरी भएको भनिएको निर्णय प्रथम दृष्टिमा कानुन संगत नदेखिएको उच्च अदालतको ठहर छ ।

निवेदनको अन्तिम किनारा नलागुञ्जेल प्रदेश सरकार मन्त्रिपरिषद कार्यालयको पत्र हाल कार्यान्वयन नगर्न विपक्षीको नाममा मुलुकी देवानीसंहिता, २०७४ को दफा १५८ एवं उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरिएको छ ।

निवेदकको तर्फबाट अधिवक्ता दिपेन्द्रकुमार साहले बहस गरेका थिए । प्रादेशिक अस्पताल जनकपुरको ल्याबमा गलत रिपोर्ट दिएको पाइएपछि निर्देशक डा. यादव जिम्मेवारीबाट हटाइएका थिए ।

ल्याब रिपोर्टमा लापरबाही देखिएपछि मुख्यमन्त्री सरोजकुमार यादवले निरीक्षण गर्दा डा. यादव डियुटीमा नपाइएपछि निर्देशक यादवलाई कारबाही स्वरूप प्रदेशको सामाजिक विकास मन्त्रालयले जिम्मेवारीबाट मुक्त गरी चैत ९ गते मन्त्रालय तानिएको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x