मधेश

धनुषामा होलीका बेला ५६० प्रहरी परिचालन गरिने

सुभाष कर्ण |
फागुन २०, २०७९ शनिबार १९:२७ बजे

जनकपुरधाम- होलीलाई लक्षित गरी धनुषा जिल्लामा ५ सय ६० जना प्रहरी परिचालन गरिने भएको छ ।

विशेष सुरक्षा योजना बनाएर जिल्ला प्रहरी कार्यालय धनुषाबाट ४८७ र प्रदेश प्रहरी कार्यालयबाट ७३ जना गरी कूल ५६० जना प्रहरी परिचालन गरिने धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् ।


उनले होली पर्वलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन उक्त संख्यामा प्रहरी परिचालन गर्न लागिएको बताए । होलीकै दिन विगतमा जिल्लामा विभिन्न आपराधिक घटना भएकाले शान्ति सुरक्षामा कुनै कमी आउन नदिन प्रहरी कर्मचारीलाई उच्च सतर्कता राख्दै विशेष सुरक्षा योजना परिचालन गरिने उनले जानकारी दिए । 

उनले भने, 'उच्चश्रृंखल गतिविधि गर्ने, इच्छाविपरीत लोला हान्ने, रङ दल्नेमाथि निगरानी तथा नियन्त्रण गर्न सादा पोशाकका प्रहरीसहित मोबाइल भ्यान, कन्ट्रोल रूम भेकल, क्विक रेस्पोन्ट टिम लगायतको टिम पनि परिचालन गरिने छ ।'

होलीका नाममा होहल्ला गर्ने, जबर्जस्ती रङ दल्ने, लोला हान्ने जस्ता क्रियाकलाप गरिए नियन्त्रणमा लिएर कारबाही गरिने बताउँदै त्यसरी जबरजस्ती रङ दल्नेलाई अभद्र व्यवहारमा मुद्दा चलाइनेछ जानकारी दिए ।

उनले ट्राफिक प्रहरीले मापसे चेक गर्ने, ट्राफिक नियमविपरीत सवारी चलाएको हेलमेट नलगाई सवारी चलाएको जस्ता क्रियाकलाप नियन्त्रण गर्ने पनि जनाए ।

यसैबीच मिथिला माध्यमिकी परिक्रमालाई मध्यनजर गर्दै धनुषा सुरक्षा समितिले जनकपुरधाम नगर क्षेत्रमा एक किलोमिटर दूरीसम्म मद्यमांस बिक्रीमा रोक लगाइएको र होलीका दिन मासु, मदिरा बिक्री वितरणमा पूर्ण रूपले निषेध गरेको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x