मधेश

मिटरब्याजी र लघुवित्त पीडितले घेरे मुख्यमन्त्री कार्यालय

सुभाष कर्ण |
फागुन १८, २०७९ बिहीबार २०:४६ बजे

जनकपुरधाम- जनकपुरधाममा मिटरब्याजी र लघुवित्त वित्तीय संस्थाविरुद्ध विरोध प्रदर्शन गर्दै पीडितहरूले मधेश प्रदेशका मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन् ।

बिनाधितो ऋण दिनेसहितका विभिन्न प्रलोभन देखाई महिलालाई समूह गठन गरेर आर्थिक शोषण गरेको भन्दै मिटरब्याजविरुद्ध संघर्ष समिति नेपालको आयोजनामा पीडितहरूले बिहीबार प्रदर्शन गरेका हुन् ।


ऋण मिनाहाको माग गर्दै आक्रामक रूपमा आन्दोलनमा उत्रिएका उनीहरूले स्थानीय रंगभूमि मैदानबाट प्लेकार्डसहित विरोध प्रदर्शन गर्दै जिल्ला अदालत, उच्च अदालत, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गरे ।

ऋण लिँदा आकर्षक अफर भन्ने र पछि ३६ प्रतिशतसम्मको ब्याज असुलेर ऋणीलाई घरसम्म पुगेर गालीगलौज गर्ने र सञ्चालक रातारात करोडपति बनेको उनीहरूको आरोप छ । गाउँ-बस्ती र सहर-बजार जताततै महिला समूह गठन गर्दै बिनाधितो ऋण दिने प्रलोभनमा बचतको नाममा रकम लुटेर आफू मोटाउने र समुदायलाई कंगाल बनाउने गरेको पाइएकाले आन्दोलनमा उत्रिनु परेको प्रदर्शनमा सहभागीहरूले बताएका छन् ।

प्रदर्शनमा सहभागीहरूले सुदखोरहरूलाई गिरफ्तार गर, तमसुक व्यवस्था खारेज गर, मिटरब्याजीको सम्पति छानबिन गर, पीडितको सम्पति फिर्ता गर, मिटरब्याजीले गरेको यौन शोषणको छानबिन गरी दोषीलाई कारबाही गर लगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरेका छन् ।

विपन्न नागरिकको जीवनस्तर उकास्न भन्दै बिनाधितो समूहको जमानतमा ऋण दिने र पछि राष्ट्र बैंकले तोकेको भन्दा फरक गरी विभिन्न शीर्षकमा मोटो रकम असुल्ने गरेको बताएका छन् ।

आन्दोलनका अगुवा नेता संघर्ष दाहालले मिटरब्याजी तथा लघुवित्त वित्तीय संस्थाहरू ५० हजार ऋण दिँदा सेवा शुल्कका नाममा ३ हजार सुरुमै लिने र ३६ प्रतिशतसम्म ब्याज असुल्ने गरेको आरोप लगाए । उनले भने, ‘व्यापार व्यवसाय, उत्पादन र प्रवर्द्धनमा वार्षिक १५ प्रतिशत ब्याजमा बिनाधितो ऋण दिन्छु भनेर आश्वसन दिन्छन् । तर, पछि कारोबार गर्दै जाँदा ३६ प्रतिशतसम्म पुर्‍याउँछन् ।’


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x