मधेश

मिथिलामा अक्षय नवमी पर्व मनाइँदै

इकागज |
कात्तिक १६, २०७९ बुधबार ६:३८ बजे

महोत्तरी- महोत्तरीसहितका मिथिला क्षेत्रमा आज बुधबार अक्षय नवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाइँदै गरिएको हो ।

मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन गरिने रमाइलो चाडबाडमा गनिन्छ ।


पर्वमा कार्तिक शुक्ल नवमीका दिन अमला (धातृृ) को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ ।  

पर्वविशेषमा आज महोत्तरी जिल्लाका गाउँनगर बस्तीमा बिहानैदेखि युवापङ्क्ति सामूहिक भोजनको तयारीमा जुटेका छन् ।

यो पर्वमा घर नजिकै, बगैँचा वा वनक्षेत्रमै रहेको अमलाको रूखका फेदमा खानेकुरा पकाएर त्यहीँ खाने चलन छ ।

पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित साकाहारी खानेकुरा मात्र भोजमा पकाउने, खाने परम्परा छ ।

पर्वविशेषले अब चिसो मौसम छिप्पिँदै जाने क्रममा खानेकुरामा अमलाको प्रयोग बढाउने सन्देश रहेको  मैथिल संस्कृति परम्पराका जानकार बर्दिबास नगरपालिका–२ का कर्मकाण्डी ब्राह्मण पण्डित महेशकुमार झाले बताए ।

पर्वमा खासगरी किशोर र युवा वनभोजको चाँजोपाँजो मिलाउन व्यस्त देखिएका छन् ।

सांस्कृतिक पर्वहरूमा किशोर र युवाको सहभागिता बढ्नु सकारात्मक भएको पाका मैथिलको प्रतिक्रिया सुनिन्छ । सांस्कृतिक पर्वमा किशोर र युवाको सहभागिताले संस्कृतिको जगेर्ना,  विकास र निरन्तरता पाउनमा सहयोग हुने जिल्लाकै बलवा नगरपालिकाको बलवाबजारका बासिन्दा शिवनारायण झा बताउँछन् ।

पर्वविशेषमा जिल्लाको बर्दिबास नगर क्षेत्रका कारेघोप्टे, माईस्थान, टुटेश्वर, राइमण्डल, कालापानी र गौरीडाँडा वनपार्क नजिकका वन क्षेत्रका अमलाका रुखका फेदमा एकाबिहानै कैयौँ वनभोजका टोली पुगेका छन् । 

खानेकुरामा अमलाको नियमित  प्रयोगमा जोड दिने परम्पराले यो पर्व स्वास्थ्य सचेतनाका लागि सहयोगी भएको बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा किशोर अधिकारीको भनाइ छ ।

मिथिलामा आज (कार्तिक शुक्ल नवमी)को दिनलाई कुष्माण्ड नवमीसमेत भनिने गरिएको छ ।

यसै तिथिमा द्वापर युगमा श्रीकृष्णले कुष्माण्डक दैत्यलाई संहार गरेर कंश वध गर्नपूर्व मधुरा, वृन्दावन र गोवद्र्धन पर्वत क्षेत्र परिक्रमा गरेको जनश्रुति रहेको मिथिला कला, साहित्य र परम्पराका ज्ञाता यस क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउँछन् ।

कार्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाका रुखमा बस्ने हिन्दू मैथिल जनविश्वास  छ ।

अक्षय नवमीका दिन भगवान् विष्णुको आराधनाले इच्छित कामना पूरा हुने र सन्तान सुख प्राप्त हुने हिन्दू मैथिल मान्यता छ ।

इच्छित कामना पूरा हुने भएकाले यस पर्वलाई इच्छा नवमी र अमला (धातृ)को प्रयोगमा जोड दिइने परम्पराले धातृ नवमीसमेत भन्ने गरिएको डा. विमल बताउँछन् ।

अमला स्वस्थ्य खानाको वस्तु भएकाले यो पर्व  स्वास्थ्य सचेतनाकै लागि पूर्वजले सुरु गरेका मैथिल युवा बताउँछन् । रासस


Author

थप समाचार
x