मधेश

जनकपुरधामका उपमेयरमाथि आक्रमण

सुभाष कर्ण |
असार ५, २०७९ आइतबार १८:५० बजे

जनकपुरधाम - जनकपुरधाम उपमहानगरपालिकाका उपमेयरमाथि केही व्यक्तिले आक्रमण गरेको बुझिएको छ । आइतबार दिउँसो करिब डेढ/दुई बजेतिर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-२३ लादोबेलास्थित रामजानकी दुल्हादुल्हन मन्दिरको अतिक्रमित जग्गा खाली गराउन माग गर्दै ज्ञापन पत्र बुझाउन गएका समूहमा रहेका केही व्यक्तिले उनीमाथि आक्रमण गरेका हुन् ।

श्रोतका अनुसार ती व्यक्तिहरू वडाध्यक्ष राघवेन्द्र साहको अगुवाइमा मेयर मनोज साहलाई ज्ञापन पत्र बुझाउन गएका थिए । मेयर नभेटाएपछि ती समूहले कार्यालयमा डुलिरहेका उपमेयर किशोरी साहलाई ज्ञापन बुझाउँदै चाँडोभन्दा चाँडो अतिक्रमित जग्गा खाली गराउन माग गरिरहेकै क्रममा विवाद भएपछि समूहमा सहभागी एक व्यक्तिले उनीमाथि मुक्का प्रहार गरेका थिए ।


लादोबेलाका स्थानीय समाजसेवी एवम् दाताहरूले रामजानकी दुल्हा भगवान कुट्टीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा जग्गा केही समययता बेचबिखन हुन थालेकोले त्यसलाई अविलम्ब रोक्न माग गर्दा उपमेयर साहले आफू कसैलाई उजाड बनाउन होइन बसाउन आएको हो, गैरकानुनी रहेकालाई खाली गराउन कानुनी प्रक्रियामा समय लाग्‍न सक्ने भनेपछि विवाद भएको जनाइएको छ ।

उपमेयर साहमाथि मुक्का प्रहार भएपछि थप दुर्घटना हुन नदिन नगर प्रहरी तथा सुरक्षामा खटिएका प्रहरीहरूले उनलाई सुरक्षा दिएर कार्यकक्षसम्म पुर्‍याएर सामान्य बल प्रयोग गरी अवस्था साम्य पारेको थियो ।

यता उपमेयर साहले आफूमाथि कुनै आक्रमण नभएको दाबी गरेका छन् । उनले भने, 'आफूमाथि कुनै कसैले आक्रमण गरेको छैन । ज्ञापन पत्र बुझाउन आएका व्यक्तिहरूले अहिले नै डोजर लगाएर खाली गराउन माग गरेपछि खाली गराउँछु  तर कानुनी प्रक्रियामा जान केही समय लाग्‍न सक्ने भनेपछि तिनीहरूले हो हल्ला गरेका थिए ।'
 
उनीहरूले हो हल्ला गरेपछि प्रांगणमा केही भीड लागेको थियो । तरपछि प्रहरीले सो हो हल्ला साम्य पारी तिनीहरूलाई कार्यालयभन्दा बाहिर निकालेको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x