कोशी

पर्यटकलाई लोभ्याउँदै तोक्पेगोला

इकागज |
असोज २८, २०८० आइतबार ९:३ बजे

फुङ्लिङ (ताप्लेजुङ)- ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्राकृतिक सुन्दरता लोपोन्मुख अवस्थामा पुग्दा मिक्वाखोला गाउँपालिका-५ तोक्पेगोला क्षेत्रमा भने अझसम्म प्राकृतिक सुन्दरता कायम छ ।

यही सुन्दरताको अवलोकन गर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । जाति र ठाउँको नाम हो, तोक्पेगोला । मिक्वाखोला–५ पापुङमा पर्छ यो ठाउँ । समुद्र सतहदेखि चार हजार १०० मिटर उचाइमा पर्छ तोक्पेगोला । उक्त बस्तीमा ढोक्प्या जातिका करिब १७ घर छन् । स्थानीय ढोक्प्या जाति भनिए पनि सिमान्तकृत समूहमा तोक्पेगोला भनि सूचीकृत गरिएको छ । झुरुप्प घर । 


काठले छाएको छानो । भोटे झ्याल । टाढाबाट देख्नेबित्तिकै लाग्छ कि यो ठाउँ उत्सव स्थल पो हो कि ! किनकी घरैपिच्छे खम्बामा गाडिएका मन्त्रयुक्त ध्वजापताका फरफराउँदा थकित शरीरले शीतलता महसुस गर्छ । गुम्बा र मन्दिरले पौराणिक तथा ऐतिहासिक महत्व झल्काउँछ । हिमाली ठाउँ भएकाले आफैँमा सुन्दर त हुने नै भयो ।

अग्लो चट्टान छिचोलेर बग्ने झरनाको काखको बस्तीबाट वरपरका भिर र चट्टानमा मानव तथा जनावरका आकृतिका देखिन्छन् । पूर्वपट्टिको अग्लो भिरबाट झर्ने झरनाको दृश्य साँच्चिकै लोभलाग्दो छ । झरनाबाट दूध रङको छङ्छङ झर्ने पानीको दृश्य र आवाजले जोकोहीलाई आनन्दित तुल्याउँछ । वरिपरिका चउरमा फुलेका रङ्गीचङ्गी फूलले सुनमा सुगन्ध थपिए झैँ बस्तीको सुन्दरता अझ बढाइदिएको छ ।

महिनैपिच्छे रङ फेर्नु र छिनछिनमा मौसम बदलिरहनु तोकक्पेगोलाको बस्तीको विशेषता हो । कहिले पहेंलो फूलले पहेंलपुर बन्छ । कहिले निलो, रातो र हरियो फूलको सौन्दर्यले अचम्मित बनाउँछ । कहिले सबै फूल सुकेर मरुभूमि जस्तो देखिन्छ । बस्ती क्षेत्र सिजनमा हरियो घाँसे मैदानमा परिणत हुन्छ । एकै छिनमा डाँडाकाँडा र बस्ती बाक्लो कुहिरोले छोपी दिन्छ । कुनै दुलहीले लजाउँदै घुम्टो खोलेको जस्तौ मौसम उघ्रिदिन्छ । 

गाउँमा दुःख बिराम नहोस्, अशान्ति नसहोस्, सधैँ सुख शान्ति होस् भनेर प्रत्येक वर्ष लामा बोलाएर पूजापाठ गर्ने गरेको मिक्वाखोला –५ पापुङका वडाध्यक्ष ग्याञ्जे शेर्पाले बताए । 

भोटे भाषामा ‘लू’ भनिने रहेछ । प्रत्येक घरले पालोपालो गरेर प्रत्येक वर्ष ‘लू’ खेदाउने गरेको उनले बताए । शेर्पाका अनुसार तीन दिनसम्म लामाले मन्त्र जप गरेर अन्तिम दिनरात परेपछि गाउँका सबै भएर थाल बजाउँदै  लू अर्थात् भूत खेदाउने गर्दछन् । बस्तीमा आउँने बाटो सबैमा मन्त्र जपेको विभिन्न मूर्तिहरुले बाटो बन्द गर्दछन् ।

लू देखाउने समयमा बस्तीमा अन्य मान्छे आवतजावत गर्नु हुँदैन भन्ने जनविश्वास रहिआएको स्थानीयको भनाइ छ । लू खेदाउने समयमा बस्तीमा मान्छे आवतजावत गरियो भने बिरामी हुने । मृत्युसमेत हुनसक्ने स्थानीयको जनविश्वास रहेको तोक्पेगोलाका स्थानीय पासाङ भुटी शेर्पाले बताइन् ।

यहाँ पुग्न बर्खामा घामपानीको लुकामारी छिचोल्नै पर्छ । हिउँदमा कठ्याग्रिँदो जाडो । जुन समयमा पुगे पनि गलेर शिथिल बनेको शरीरमा फुर्ती बढ्छ । तोक्पेगोला क्षेत्रमा दर्जनौँ तालतलैया रहेका छन् ।

सोदो पोखरी, भूत पोखरी, तीन पोखरी, थाङ्ला पोखरी, साजु पोखरी र पाथीभरा पोखरी इत्यादि । डाँडाकाँडा, पाखा, पखेरा, छाँगा, वन जङ्गल, जडीबुटीले यो क्षेत्र सजिएको छ । बस्तीदेखि तीन सय मिटर दूरीमा छ, सोदोपोखरी । नागपञ्चमीका दिन पूजा हुन्छ । यहाँ आउन चाहनेको एउटै लक्ष्य हुन्छ, तोक्पेगोला र सोदोपोखरी अवलोकन गर्ने ।

स्थानीय मिलन दोर्जे शेर्पाका अनुसार यहाँका बासिन्दाको मुख्य पेसा पशुपालन हो । गाई, याक तथा चौँरी पालेर जीवनयापन चल्छ । बिहान छाड्दा र गोधुली साँझमा फर्कंदा याक तथा चौँरीको घाँटीमा झुन्ड्याइएको घन्टीको कुन्डुङकुन्डुङ आवाजले मन प्रफुल्ल बन्छ । चीनको तिब्बतसँग सीमा जोडिएको छ यो ठाउँ । तिब्बतको रिउ बजार पुग्न दुई दिन पैदल हिँड्नुपर्छ । चामलबाहेक दैनिक उपभोग्य सामग्री तिब्बतबाट ल्याउने गरेको थियो तर चार वर्षदेखि नाकाबन्द भएको छ । लामो समयसम्म नाका नखुल्दा व्यापार व्यवसाय ठप्प भएको तोक्पेगोलाका स्थानीय तेञ्जिङ शेर्पाले बताए।

यस क्षेत्रमा आवश्यक सामग्री याकमार्फत् ढुवानी गर्छन् । याकलाई ‘हिमाली ट्रक’ पनि भनिन्छ । तोक्पेगोलामा आठ महिनामात्र मान्छे बस्छन् । जाडो र हिउँ छल्न घरपालुवा जनावरसँगै पापुङमा झर्छन् । प्रायः सबैको पापुङमा घर छ । कात्तिकदेखि माघसम्म हिउँ पर्ने र जाडो अधिक हुने भएकाले बस्ती अर्थात् बेंसी झर्छन् । तोक्पेगोला क्षेत्रमा जडीबुटी पनि आम्दानीको स्रोत हो । तोक्पेगोला पुगेर फर्कने भन्छन्, “भर्जिन पर्यटकीय क्षेत्र ।”

कसरी पुगिन्छ ?
सदरमुकामदेखि गाडीमा दोभान–नाल्बु–पापुङसम्म गाडी चल्छ । अर्को दिन हिँडेर तोक्पेगोला पुगिन्छ । कच्ची सडक भएकाले गाडीमा घल्च्याकघुल्चुक सहनुपर्छ । सदरमुकामदेखि हिँडेर हान्दु्रङ–खोक्लिङ–लिवाङ–साँवा हुँदै गाडी पुग्ने ठाउँ पापुङ पुगिन्छ ।

सदरमुकामदेखि गाडी वा हिँडेर जसरी गए पनि तोक्पेगोला पुग्न दुई दिन लाग्छ । दर्जन बढी झोलुङ्गे र काठे पुल तर्नुपर्छ । पापुङ बस्ती छाडेपछि तोक्पेगोला नपुगेसम्म बस्ती छैन । ठाउँठाउँमा भेटिएका गाईगोठ नै होटल हो । पर्यटको चहलपहल हुन थालेसँगै तोक्पेगोलामा भने होटल तथा घरबास (होमस्टे) खुल्नेक्रम सुरु भएको छ । रासस


Author

थप समाचार
x