कोशी

दुई महिनादेखि मधेश प्रदेश सभा बैठकविहीन

मुख्यमन्त्री भन्छन्: सबै दिन बैठक बसाउनु पर्ने जरूरी छैन

सुभाष कर्ण |
भदौ २९, २०८० शुक्रबार १७:४६ बजे

जनकपुरधाम - बिजनेश अभावमा मधेश प्रदेश सभा दुई महिनादेखि बैठक विहीन रहेको छ । 

पहिलो अधिवेशन सम्पन्न भएको दुई महिना बितिसक्दा पनि मधेश सरकारले दोश्रो अधिवेशनका लागि आव्हान नगर्दा दुई महिनादेखि प्रदेश सभाको बैठक बस्न नसकेको हो । पहिलो अधिवेशनको अन्त्य असार ३१ गते भएको थियो । त्यसपछि प्रदेश सभामा बिजनेश अभावमा कामविहीन नै बनेको छ । 


मधेश प्रदेश सभा सचिवालयका अनुसार २०७९ मंसिरको चुनावपछि गठन भएको प्रदेश सभाको पहिलो अधिवेशनमा ३६ वटा बैठक बसेकोमा ७ वटा विधेयक दर्ता भएको थियो । जसमध्ये केही ऐनलाई संशोधन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक २०७९ र बजेट सहितका तीन वटा विधेयक मात्र पारित अन्य चार वटा थन्किएर राखिएका छन् । 

प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्थानीय सेवाको गठन सम्बन्धमा र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक र मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था विधेयकलाई विषयगत समितिमा छलफलका थन्किएर राखिएको छ ।

प्रदेश सभाको दोस्रो अधिवेशन सुरु गर्न आफूले पटक पटक आग्रह गर्दा पनि सरकारले कुनै चासो नलिएको सभामुख रामचन्द्र मण्डलले बताए । उनले भने, 'प्रदेश सभाको बैठक अधिवेशन अनुसार हुने भएकाले पहिलो अधिवेशन अन्त्य भएपछि सरकारले अर्को बैठकका लागि व्यवस्था नगर्दा बस्न नसकेको हो । सरकारलाई दोस्रो अधिवेशन सुरु गर्ने व्यवस्था मिलाउन दुई/तीन पटक आग्रह गरिसकेको छु, तर कुनै वास्तै गरिएको छैन ।' 

प्रदेश सभाको अधिवेशन आव्हानका लागि मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने र सो अनुसार सरकारले बैठकका लागि आव्हान गर्ने व्यवस्था छ । लामो समयदेखि प्रदेश सभाको बैठक बस्न नसक्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तागठबन्धनकै अन्य दलहरू असन्तुष्ट देखिएका छन् ।

एमाले संसदीय दलका नेता सरोजकुमार यादवले केही दिनअघि मुख्यमन्त्री सरोजकुमार यादवले बोलाएको सर्वदलीय बैठकमा प्रदेशसभा अधिवेशन आव्हानको विषयमा छलफल भएको बताए । त्यतिबेला मुख्यमन्त्री यादवले चार/पाँचदिन भित्रै अर्थात भदौ १७ वा १८ गते बैठक बोलाउने वातावरण बनाउने आश्वासन दिएको तर अहिलेसम्म के कति कारणले रोकिएको बुझ्न नसकेको बताए । 

उनले पटक पटक मुख्यमन्त्रीजीलाई प्रदेश सभाको बैठक बोलाउन चेतावनी सहितको आग्रह गर्दा मुख्यमन्त्रीले सर्वदलीय बैठक राखेका थिए । सर्वदलीय बैठकमा चार/पांचदिन भित्र मन्त्रिपरिषद्को बैठक बसेर सदन सुचारु गर्ने प्रतिबद्धता जनाएको थियो । तर सदन सुचारु त मन्त्रिपरिषद्को बैठकसम्म बोलाउन सकेको छैन । यसले के देखाउंछ सरकार जनता र सदनप्रति गैरजिम्मेवार छन् ।

सर्वदलीय बैठकमा मुख्यमन्त्रीले भदौ १७ वा १८ गते बैठक बोलाउने आश्वासन दिएको कुरा सत्ता गठबन्धन दल घटक नेकपा माओवादी केन्द संसदीय दलका नेता भरतप्रसाद साहले पनि पुष्टि गरे । उनले भने, 'प्रदेश सभाको बैठक त के मुख्यमन्त्री सरोजकुमार यादवले गठबन्धन घटक दलहरुसंग सरकार संचालन लगायत कुनै विषयमा पनि समन्वय समेत गरेका छैनन् ।'

यता प्रदेश सभाको बैठकबारे मुख्यमन्त्री सरोजकुमार यादवले वर्षको ३६५ दिन नै प्रदेश सभाको बैठक बोलाउनुको कुनै अर्थ नभएको बताए । उनले भने, 'प्रदेश सभाको बैठक बोलाएर के हुन्छ काम पनि त चाहियो नि, आवश्यकता भए बैठक बोलाई हाल्छु नि ।'

बिजनेश अभावले सरकारले सदनको बैठक बोलाउन नसकेको आरोप लाग्दै आएको भन्ने जिज्ञासामा उनले भने, 'बिजनेश हामीसँग छैन भन्ने त्यस्तो कुरो होइन । पहिलो अधिवेशन सम्पन्न भएको छ, दोश्रो अधिवेशनको हामी तयारीमा छौं, केही विधेयक छलफलको क्रममा समितिमा रहेको छ । त्यसमा टुँगो लागेपछि प्रदेश सभाको बैठक बसाउने हो । ती विधेयकको टुँगो नलागेपनि चाँडै नै दोश्रो अधिवेशनका लागि आह्वान गर्नेछौं ।'

उनका अनुसार सरकारले यो बीचमा केही कार्यालयहरुको सेवा विस्तार, समायोजन लगायतका महत्वपूर्ण काम गरेको छ । मधेश प्रदेश सभाको पहिलो कार्यकालमा ६२ वटा विधेयक दर्ता भएका थिए । जसमध्ये ५५ वटा पारित भएर प्रदेश प्रमुखबाट प्रमाणीकरण समेत भइसकेका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x