कोशी

उद्धव थापाको प्रतिक्रिया : सर्वोच्चको आदेश स्वीकार्य छ, अर्को सरकार कांग्रेसले नै दाबी गर्छ

बाबुराम भण्डारी |
साउन ११, २०८० बिहीबार १७:५० बजे

विराटनगर- सभामुखको समेत हस्ताक्षरमा दाबी पेस गरेर कोशी प्रदेशको मुख्यमन्त्री बनेका नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले सर्वोच्चबाट बर्खास्तीपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।

थापाले सर्वोच्चको आदेशलाई स्वीकार्य भएको पनि प्रतिक्रिया दिएका छन् । तर, सर्वोच्चको आदेश अनुसार सात दिनभित्र कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।


‘कांग्रेसकै सरकार बन्छ, यस विषयमा गठबन्धनमा समस्या छैन, हामीबीच कुरा पनि हुनुपर्दैन, थप केही भए शीर्ष नेताहरू नै बस्नु हुन्छ,’ उनले भने, ‘दाबीले हामीले नै गर्ने हो, जहाँबाट यो विषय टुंगिएको छ त्यहीबाट सरकार गठन हुन्छ ।’

सर्वोच्चका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको बिहीबारको पूर्ण इजलासले थापा नेतृत्वको सरकार गठन प्रक्रिया बदर गर्दै कोशी प्रदेशमा ७ दिनभित्र अर्थात साउन १७ भित्र नयाँ सरकार गठन गरिसक्न आदेश दिएको छ ।

आदेशमा ‘संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अर्को सरकार गठन गर्ने विकल्प रहेसम्म सो विकल्प अपनाउनु वाञ्छनीय देखिएको,  उक्त धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठन गर्न मिल्ने नै अवस्था रहेको, र जुन बिन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत् तबरले प्रक्रिया अगाडि बढाउन मनासिव हुने देखिएको हुँदा आजका मितिले सात दिनभित्र (२०८०/४/१७ गतेभित्र) नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेशको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नु भनी प्रत्यर्थी कोशी प्रदेशका प्रदेश प्रमुख समेतको नाममा परमादेश जारी हुने ठहर्छ’ भनी उल्लेख छ ।

यही आदेश अनुसार अब सात दिनभित्र कोशी प्रदेशमा नयाँ सरकार गठन हुनेछ । केन्द्रीय सत्ता गठबन्धनको निर्णयले कोशी प्रदेशमा कांग्रेस संसदीय दलका नेता थापा मुख्यमन्त्रीको उम्मेदवार बनाइएका थिए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x