कोशी

बिनाविभागीयबाटै बिदा भए कोशी प्रदेशका चार मन्त्री

बाबुराम भण्डारी |
साउन ११, २०८० बिहीबार १७:३० बजे

विराटनगर- उद्धव थापा नेतृत्वको मन्त्रिमण्डलमा पुगेका कोशी प्रदेशका चार बिनाविभागीय मन्त्रीहरू मन्त्रालयको जिम्मेवारी नपाई बिदा भएका छन् । बिहीबार सर्वोच्च अदालतको फैसलाले थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया नै असंवैधानिक ठहर गर्दै नियुक्त बदर गरेपछि उनीहरू बिनाविभागीयबाटै बिदा भएका हुन् ।

असार २१ गते मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता थापाको सरकारमा नियुक्त भएका पाँच जना मन्त्रीहरूमध्ये चार जनाको मन्त्रालयको जिम्मेवारी तोकिनै पाएन । थापाले असार २२ मा कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जवेगुलाई बिनाविभागीय मन्त्री नियुक्त गरेका थिए । उनीहरूले बिनाविभागीय मन्त्रीकै शपथ ग्रहण गरेका थिए ।


दोस्रो पटक असार २४ मा माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की तथा कांग्रेसका रामकुमार खत्रीलाई मन्त्री बनाएका थापाले आचार्यको मात्रै मन्त्रालय तोकेका थिए । मुख्यमन्त्री थापाको सिफारिसमा माओवादी अध्यक्ष पुष्पकमल दाहालका ज्वाइँ आचार्यलाई मात्रै आर्थिक मामिला तथा योजना मन्त्री बनाएका थिए । 

सुनुवार, जवेगु, कार्की र खत्री भने बिनाविभागीय मन्त्रीहरूबाटै बिहीबारदेखि बिदा भएका हुन् । आचार्य पनि मन्त्री बनेको १८औं दिनमा बिदा भए ।

प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपाली कांग्रेसको २९, माओवादीका १२, नेकपा एकीकृत समाजवादीका ४, जसपाका १ गरी ४६ र सभामुख बाबुराम गौतमले प्रदेश सभा सदस्यका हैसियतले गरेको हस्ताक्षरको दाबी पत्र अनुसार थापालाई असार २१ मा मुख्यमन्त्री नियुक्त गरेका थिए । उक्त नियुक्ति असंवैधानिक र गैरसंसदीय भएको भन्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले असार २२ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

बिहीबार उक्त रिटमाथि सर्वोच्चको पूर्ण इजलासले फैसला गर्दै उद्धव थापा नेतृत्वको सरकार गठन गर्ने सुरुवाती प्रक्रियादेखि कै सबै कदम बदर गरिदिएको हो । सोही आदेशबाट मुख्यमन्त्री थापा पनि नियुक्त भएको २२औं दिनमा पदमुक्त भए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x