कोशी

निर्वाचन खर्च नबुझाउने कोशी प्रदेशका ४०८ उम्मेदवारलाई जरिवाना

१५ हजार जरिवानामा परे शेरधन राई, रेखा थापा र विजय गच्छदार

बाबुराम भण्डारी |
साउन ९, २०८० मंगलबार २१:५१ बजे

विराटनगर- निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गरेको खर्च विवरण नबुझाउने १२ र समय खर्च विवरण नबुझाउने ३९६ गरी ४०८ जनालाई जरिवाना गरेको छ ।

आयोगको निर्देशनविपरीत खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई निर्वाचन (कसूर तथा सजाय) ऐन २०६७ को दफा ३१ को उपदफा (४) बमोजिम जनही १५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो ।


२०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार भई कानुन अनुसार तोकिएको ३५ दिनभित्र खर्च विवरण नबुझाउने उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खर्च विवरण नै नबुझाउनेमा प्रतिनिधि सभाका ६ र प्रदेश सभाका ६ गरी १२ जना उम्मेदवार रहेका छन् । आयोगले निर्वाचन खर्च पेस नगर्ने उम्मेदवारहरूको विवरण नै सार्वजनिक गरेको हो । 

कोशी प्रदेशमा प्रतिनिधि सभाका २८ निर्वाचन क्षेत्रमा ४३७ जना उम्मेदवार रहेकोमा २३८ जनाले मात्रै खर्च विवरण सार्वजनिक गरेको जनाइएको छ । त्यसैगरी प्रदेश सभातर्फका ५१० जना उम्मेदवारहरू मध्ये ३०१ जनाले मात्रै तोकिएको समयभित्र खर्च विवरण बुझाएको आयोगको विज्ञप्तिमा उल्लेख छ । आयोगको गत वैशाख ४ गतेको निर्णय अनुसार निर्वाचन खर्चको विवरण सार्वजनिक गरी त्यसको जानकारी दिन उम्मेदवारहरूलाई निर्देशन गरिएको थियो । 

आयोगले उम्मेदवारहरूलाई गत वैशाख ६ देखि १२ गतेसम्मको समयभित्र आफूले निर्वाचनमा गरेको खर्च सार्वजनिक गरेको जानकारी सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा गराउन समय दिएको थियो । तर, तोकिएको समयभित्र खर्च वितरण नबुझाएपछि मंगलबार उनीहरूलाई जरिवाना गर्ने निर्णय गरेको जनाइएको छ ।

जरिवानामा परेका उम्मेदवारहरूले ३५ दिनभित्र जरिवाना रकम दाखिला गरी त्यसको भौचरसहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न आदेश दिएको छ । साथै निर्वाचन खर्चको विवरण सात दिनभित्र सार्वजनिक गरी त्यसको जानकारी सम्बन्धित निर्वाचन कार्यालयमा निवेदनसहित पेस गर्न आदेश दिएको हो ।

आयोगले जरिवाना वापतको रकम तोकिएको समयमा नबुझाउने उम्मेदवारहरूले तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी रोक समेत लगाएको छ भने जरिवाना नतिर्नेहरूको हकमा सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयमा जानकारी पठाउने निर्णय गरेको जनाइएको छ । 

यसैबीच निर्वाचन खर्च विवरण समयमा नबुझाएपछि कोशी प्रदेशका पहिलो मुख्यमन्त्री शेरधन राई, सिनेमा क्षेत्रबाट राप्रपाको राजनीतिमा होमिएकी नेतृ रेखा थापा र १२ पटक मन्त्री भइसकेका कांग्रेसका नेता विजयकुमार गच्छदार १५ हजार जरिवानामा परेका छन् ।

राई प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट भोजपुरमा उम्मेदवार थिए । थापा मोरङको क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी थिइन् । त्यसैगरी गच्छदार उनकै चिरपरिचित क्षेत्र सुनसरी–३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिए ।

निर्वाचन आयोगबाट जरिवाना तोकिएका उनीहरू तीनैजना निर्वाचनमा पराजित भएका थिए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x