कोशी

रवि लामिछानेले भने- हामीले गृहमन्त्रीको राजीनामा माग्यौं भने लिएरै छाड्छौं

बाबुराम भण्डारी |
साउन ६, २०८० शनिबार १०:४८ बजे

विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करी काण्डमा अनुसन्धान गर्न सरकारलाई समय दिइनुपर्ने बताएका छन् । पछिल्लो पटक एक सय किलो बढी सुन भित्रिएको विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागिहाल्नुपर्ने समय नभएको पनि उनले बताए । 

शनिबार विराटनगरमा सञ्चारकर्मीहरुको भेटमा अध्यक्ष लामिछानेले सरकारले गलत तरिकाले अनुसन्धान भएको खण्डमा भने रास्वपाले त्यतिकै नछाड्ने चेतावनी दिए । उनले रास्वपाले गृहमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था भएको खण्डमा राजीनामा लिएरै छाड्ने दाबी गरे । लामिछानेले विमानस्थलबाट नेपालमा लामो समयदेखि सुन तस्करी हुँदै आएको र धेरै पटक मानिसहरु पनि समातिने घटनाले सुन तस्करी सेटिङबाटै हुने कुरा प्रमाणित गरेको बताए ।


‘कसैको राजीनामा मागेपछि लिनुपर्छ, राजीनामा माग्ने कुरा बुझेर हेरेर थाहा पाइसकेपछि गर्ने कुरा हो, भर्खरै यो विषय (सुन तस्करी) आएको छ, सरकारकै कुनै न कुनै निकायले पत्ता लगाएको पनि हो, केही समय पर्खिनुपर्छ, हेर्नुपर्छ’ उनले भने, ‘तुरुन्तै प्रतिक्रिया दिइहालौं भन्ने प्रतिक्रियाको दौडमा हाम्रो पार्टी छैन, गलत भयो भने हामीले राजीनामा माग्नु पर्‍याे भने लिएरै छाड्ने हो ।’ उनले सुन तस्करीको अनुसन्धान लगायतका विषयमा अघि बढेकोले सरकारका निकायलाई अनुसन्धान गर्ने समय दिनुपर्ने र त्यसलाई धैर्यताका साथ हेर्नुपर्ने बताए । लामिछानेले नेपालमा लामो समयदेखि सुन तस्करीमा जालो ठूलो रहेको कुरा तस्करीमा संलग्न रही समातिएकाहरुबाटै आएको बताए ।

‘समातिएकाहरुबाट नै म त सानो माछा हो ठूलो माछा बाँकी नै छ भन्ने भनाई आएका छन्, आम सर्वसाधारणको त एउटा मोबाइल छिर्दैन भने बिना सेटिङ त यति धेरै सुन छिर्दैन, सानो एउटा चिज त मेटल डिटेक्ट हुन्छ, मिलेमतो बेगर त हुँदैन’ लामिछानेले भने, ‘तर कसको र कुन ढंगको मिलेमतो हो भन्ने कुरा अनुसन्धानले मात्रै खुल्ला ।’

राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ भएकाले कतिपय अवस्थामा गल्ती कमजोरी पनि हुनसक्ने बताए । तर अहिले सबैले कहाँ गल्ती गर्छ भनेर पर्खिएर बस्ने गरेको र पूर्वाग्राही भएर धारणा बनाउने गरेको गुनासो गरे । सानातिना गल्तीलाई पर्खिएर बस्ने भन्दा कुन मुद्दा उठायो भन्ने हेर्नुपर्ने बताए ।  ‘नयाँ शक्तिप्रति पूर्वाग्रही भएको हो कि भन्ने लागेको छ, संसदमा रास्वपाले कहानेर कहाँ गल्ती गर्यो भन्ने भन्दा संसदलाई अपराध चोख्याउने भाँडो नबनोस् भनेर हेर्ने कुरा महत्वपूर्ण हो ? उनले भने, ‘यसमा बहस भएन, रास्वपा कहाँनेर चुक्यो भन्ने मात्रै बहस भयो ।’

उनले केही नेपाल ऐन संसोधन विधेयकमा अपराधीहरुलाई चोख्याउने गरी समावेश गरिएको विषयप्रति आपत्ति जनाए । 
‘तपाईं कुनैपनि हत्या हिंसामा लाग्नुभयो, कुनै काण्ड गर्नुभयो र राजनीतिक मुलधारमा आएँ भनेपछि जुनसुकै अदालतमा विचाराधिन भएपनि फिर्ता लिन सक्ने भन्ने प्रावधान ठिक छ ?’ उनले भने, वर्षौंदेखि संसदमा अनुभव भएका दलहरुले देशको अहित हुने कुरामा प्रसय दिने किसिमले संसदमा विधेयक ल्याउनुलाई अचच्म मान्ने किन रास्वपाले सानो प्रक्रिया बुझेन भन्ने कुरालाई मान्ने ?’

सेनाको संख्या घटाउने बिषयसँग जोडेर पनि रास्वपालाई जबरजस्ती रुपमा बिषयबाहिर मोड्न खोजेको आरोप लगाए । उनले सेनाको संख्याको विषयमा भन्दा पार्टीले आर्मी चिफको बरियातालाई तल ल्याउन खोजिएको प्रति जोडदार कुरा उठाएको बताए ।

पार्टी भर्खरै स्थापना भएकोले जनतासँग गरेका बाचा पुरा भए भएनन् भनेर अहिले नै मुल्यांकन गर्नु हतारो हुने बताए । उनले भने– ‘त्यसरी मुल्यांकन गर्नु अलिकति अर्ली हुन्छ कि ? सय दिन पनि भएको छैन हामी निर्वाचित भएको, हामीलाई भन्नका लागि समय भएको छैन, तर हिजो बोलेका कुरामा हामी अडिग छौं ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x