कोशी

अब जोगवनी नाकाबाट १०० रुपैयाँ बढीको सामान ल्याउँदा भन्सार अनिवार्य

बाबुराम भण्डारी |
साउन २, २०८० मंगलबार ११:५८ बजे

विराटनगर । नेपाल–भारत अन्तर्राष्ट्रिय सीमानाको दशगजामै रहेको जोगवनीबाट एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य रुपमा भन्सार काट्न थालिएको छ । जोगवनीबाट सय रुपैयाँभन्दा बढीको सामान ल्याउन रोक लगाइएपछि विराटनगरका बजार पसलमा उपभोक्ताहरू त बढेका छन्, तर अर्कोतिर विराटनगरका व्यापारीहरुले भने मुल्यवृद्धि सुरु गरेको उपभोक्ताहरुले दाबी गरेका छन् ।

नाकाबाट एक सय रुपैयाँ बढीको दैनिक उपभोग्य सामान ल्याउने नेपाली उपभोक्ताहरूलाई सीमामा खटिएका सुरक्षाकर्मीहरूले सोमबारदेखि रोकेर अनिवार्य रुपमा भन्सार कटाउन थालेका हुन् । भन्सार चोरी तस्करी नियन्त्रण गर्न र स्वदेशमै सामान खरिद गरी आन्तरिक राजश्व अभिवृद्धि गर्ने उद्देश्यका साथ जोगवनी नाकामा कडाइ गरिएको जनाइएको छ । विराटनगर महानगरपालिका मेयर नागेश कोइरालासमेतको सक्रियतामा स्थानीय उद्योगी व्यवसायीसम्वद्ध संघसंस्थाका प्रतिनिधिहरुको सहमतिमा जोगवनी पुग्ने उपभोक्ताहरुलाई निरुत्साहित गर्न यस्तो अभियान चलाइएको हो ।


जोगवनीमा सस्तोमा सामान किनमेल गर्न भन्दै दैनिक हजारौं सर्वसाधारण पुग्ने गरेका छन् । तर त्यसरी गएका अधिकांश उपभोक्ताहरुले तौलमा ठगिएर आउने गरेको गुनासो पनि गर्दै आएका छन् । विराटनगरको सुस्ताउँदो बजार चलायमान बनाउने भन्दै जोगवनीमा गरिने किनमेललाई भन्सार प्रशासन, सुरक्षा निकाय, महानगरपालिका र उद्योग बाणिज्य सम्बन्धी संस्थाहरुको सहमतिमा रोक्ने प्रयास सुरु गरिएको जनाइएको छ ।

विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले महानगरपालिकासँगको सहकार्यमा सुरक्षा निकायसँग समन्वय गरेर सोमबारदेखि नाकामा कडाइ गरिएको बताए । उनले भन्सार विभागले २०७५ सालतिरै गरेको निर्णयलाई कार्यान्वयन गर्ने क्रममा सबै क्षेत्रसँग समन्वय गरेर अघि बढेको दाबी समेत गरे । ढकालले नेपालीहरुमा स्वदेशमै सामान किनमेल गर्ने बानीको विकास घटेको भन्दै यो अभियानले त्यसलाई समेत निरुत्साहित गर्ने बताए ।

‘नेपाली उपभोक्ता भएर अर्को देशबाट सामान ल्याउन पाउनु पर्छ भन्नु नै गलत हो, यस्तो माग गर्न पाइँदैन’ भन्सार प्रमुख ढकालले भने, ‘सबै निकायसँग समन्वय गरेर भन्सार नाकाबाट हुने गैरकानुनी किनमेललाई दायरामा ल्याउनैपर्छ, यसले एउटा फाइदा नेपाली बजारमा विस्तारमा गर्छ भने आन्तरिक राजश्वमा समेत सकारात्मक असर पार्ने निश्चित छ ।’

उनले विराटनगर महानगरपालिकाको सहयोगमा नेपालतर्फ रानी र भारतको सीमावर्ती जोगवनीबाट एक सय रुपैयाँमाथिका कुनै पनि वस्तु खरिदमा रोक लगाइएको बताए । बरु जोगवनी गएर सामान खरिद गर्ने प्रवृत्ति रोक्न सबै क्षेत्रको सहयोग रहनुपर्नेमा उनले जोड दिए । ‘सबै निकायको सहकार्यमा कडाइ गर्ने काम सुरु भएको छ, यसबाट अब पछि हट्न सक्दैनौं, विराटनगर महानगरले मात्रै नभई भारतीय खुल्ला सीमानासँग जोडिएका मोरङका अरु पालिकाहरुले समेत यस्तै निर्णय गरेर भन्सारलाई सहयोग गर्नुपर्दछ’ उनले भने, ‘अभियान प्रभावकारी बनेको खण्डमा मात्रै स्वदेशी बजार विस्तारमा सहयोग पुग्छ ।’ 

ढकालले विराटनगर भन्सार कार्यालयले सोमबारदेखि दैनिक एक हजार जनालाई करको प्रक्रियामा ल्याउने दाबी गरे । कडाइ भएपछि जोगवनीबाट सामान खरिद आउनेहरू एक सय रुपैयाँ बढीको खरिदमा यात्रु शाखामा गएर भन्सार काट्न बाध्य भएका छन् । भन्सार नाकामा कडाइ नगर्दा पनि दैनिक रुपमा साढे तीन लाख रुपैयाँसम्म राजश्व असुली हु“दै आएको भन्सार प्रशासनको तथ्यांक छ । कडाइपछि सोमबार एक लाख ३७ हजार ५२९ रुपैयाँमात्रै असुली भएको प्रमुख भन्सार अधिकृत ढकालले जानकारी दिए । 

नाकामा कडाइ भएपछि विराटनगरबाट जोगवनी जाने नेपाली उपभोक्ताहरुको संख्या सोमबारदेखि ह्वात्तै घटेको छ । ढकालका अनुसार मंगलबारपनि विराटनगरबाट जोगवनी जानेहरुको चहल पहल न्यून संख्यामा देखिएको जनाइएको छ ।

यसअघिसम्म चिनी चियापत्ती, मरमसलाजन्य वस्तु, बिस्कुट, भुजिया र दालमोठ, तेल, दाल चामल, काजु किसमिस र लत्ता कपडा जस्ता दैनिक उपभोग्य वस्तुको खरिदका लागि नेपाली उपभोक्ताहरु ठूलो संख्यामा जोगवनी जाने गरेका थिए ।

नयाँ नियमपछि न्यून आय भएका परिवारलाई गुजारा गर्ने गाह्रो पार्ने गरी जोगवनी नाकामा कडाइ गरिएको भन्दै कतिपयले भने विरोध जनाएका छन् । खाद्यजन्य वस्तुलाई भन्सार तिरेर पनि ल्याउन नपाएको उपभोक्ताहरुले गुनासो गरेका छन् । भन्सार प्रमुख ढकालले भने खाद्य सामग्रीको क्वारेन्टाइन जाँच नगरी भन्सार काट्न नमिल्ने व्यवस्था रहेको बताए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x