कोशी

बाढी-पहिरोले क्षतिग्रस्त भएका सडक र पुल चाँडो निर्माण गर्ने कोशी सरकारको निर्णय

बाबुराम भण्डारी |
असार २५, २०८० सोमबार २१:४७ बजे

विराटनगर- अविरल वर्षापछिको बाढी-पहिरोले कोशी प्रदेशका पहाडी जिल्लाहरूमा क्षतिग्रस्त बनाएका सडक र पुलहरू चाँडो मर्मत गर्ने कोशी प्रदेश सरकारले निर्णय गरेको छ ।

सोमबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले संघ र स्थानीय सरकारहरूसँग समन्वय गरी चाँडोभन्दा चाँडो क्षतिग्रस्त संरचनाहरूको निर्माण गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री प्रदीप सुनुवारले जानकारी दिए ।


उनले विपदको अवस्थामा पूर्व तयारीका लागि आवश्यक पर्ने राहत सामग्री र उद्धारको तयारीमा सरकारले थप ध्यान दिने निर्णय गरेको बताए ।

‘विपद् परिहाल्यो भने तत्काल राहत सामग्री र उद्धार कसरी गर्न सक्छौं भनेर पूर्व तयारी गर्ने निर्णय गरेको छ,’ प्रवक्ता सुनुवारले भने, ‘राहतलाई छिटो वितरण गर्ने, क्षतिको विवरणहरू संकलन गर्ने र केन्द्रीय सरकार र स्थानीय सरकारसँग साझेदारी गरी क्षति पुगेका पूर्वाधार संरचना निर्माण गर्न सहजीकरण गर्ने निर्णय भएको छ ।’

मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती कर्मचारीहरूको किताब खानामा कर्मचारी व्यवस्थापन गर्नुपर्ने भन्दै लोकसेवा आयोगको परामर्श लिएर चाँडो निजामती किताब खाना सञ्चालन गर्ने निर्णय गरेको जनाइएको छ ।

त्यसैगरी कोशी प्रदेश निजामती सेवा र स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सेवा सम्बन्धी तालिम, मूल्यांकन, सरुवा र बढुवाका लागि आवश्यक पर्ने कानुन बनाउने निर्णय गरेको मन्त्री सुनुवारले जानकारी दिए ।

साथै सात प्रदेशहरू मध्येबाट कोशी प्रदेशलाई दक्षिण कोरियासँग भाइचारा सम्बन्ध कायम गर्ने विषयमा नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाको कोरिया भ्रमणका बेलामा यसको प्रक्रिया अघि बढेको भन्दै प्रदेश मन्त्रिपरिषद् बैठकले संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता सुनुवारले बताए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x