कोशी

माओवादीका सांसद मगरले मतदातालाई सम्बोधन गर्दै लेखे :

'पार्टी नीति सिद्धान्त र पद्धतिभन्दा बाहिर गयो, राजीनामा गर्नु परे पनि तयार छु'

प्रधानमन्त्री दाहालका ज्वाइँ दोस्रोपटक मन्त्री बनेपछि माओवादीभित्र चर्कियाे विवाद

बाबुराम भण्डारी |
असार २४, २०८० आइतबार १६:२६ बजे

विराटनगर- नेकपा माओवादी केन्द्रभित्र कोशी प्रदेश सरकारमा मन्त्री पठाउने विषयमा देखिएको गम्भीर मतभेद सतहमै आएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालका ज्वाइँ जीवन आचार्य दोस्रो पटक मन्त्री बनेपछि माओवादीभित्र विवाद चर्किएको हो ।

मन्त्री छनौट समावेशी नभएको भन्दै उदयपुरको प्रदेश सभा क्षेत्र नम्बर २ (१) बाट निर्वाचित माओवादी केन्द्रका सभा सदस्य नारायणबहादुर मगरले सामाजिक सञ्जालमा जिल्लावासी मतदातालाई सम्बोधन गर्दै राजीनामा दिन परे तयार रहेको उल्लेख गरेका छन् ।


मगर २०७४ को पहिलो निर्वाचनमा माओवादी केन्द्रको आधिकारिक उम्मेदवारविरुद्ध भर्‍याङ चुनाव चिह्नबाट बागी उम्मेदवार बनेर निर्वाचित भएका थिए । यसपटक पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका मगर माओवादी केन्द्र संसदीय दलका ज्येष्ठ सदस्य समेत हुन् ।

मगरले यसपटक मन्त्री हुने दाउमा थिए । तर, दोस्रो प्रदेश सभापछि बनेको एमाले नेतृत्वको पहिलो सरकारको मन्त्रिमण्डलमा उनी अटाएनन् । पुनः शुक्रबार कांग्रेससँगको गठबन्धनमा सरकार बन्दा पनि मगर चर्चा रहेर मन्त्री बन्ने लिस्टबाट हटाइएका हुन् ।

उदयपुरको प्रतिनिधि सभा क्षेत्र २ को प्रदेश सभा क्षेत्र (२) बाट निर्वाचित नेपाली कांग्रेसका रामकुमार खत्रीले भने आइतबार नै बिनाविभागीय मन्त्रीको शपथ ग्रहण गरेका छन् । खत्री र मगर एउटै प्रतिनिधिसभा क्षेत्रबाट पर्ने भएपछि माओवादीले अन्तिम समयमा संखुवासभा क्षेत्र नं. १ (१) बाट निर्वाचित राजेन्द्र कार्कीलाई मन्त्रिमण्डलमा पठाएको हो ।

कार्कीले पनि बिनाविभागीय मन्त्रीको शपथ ग्रहण गरिसकेका छन् । मगरले यसपटक पनि मन्त्रीको लाइनबाट हटेपछि सामाजिक सञ्जालमै असन्तुष्टि व्यक्त गरेका हुन् । ‘हाम्रो पार्टी नेकपा माओवादी केन्द्रको नीति सिद्धान्त र पद्धतिभन्दा बाहिरको कुरा हो यो, त्यसैले मलाई मतदान गर्नुहुने आम जनतासँग सल्लाह लिनेछु,’ उनले भनेका छन्, ‘दुई–दुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मूल्यांकन गर्न सकेन, कोशी प्रदेश सरकार गठनप्रति मेरा विमति छ, आवश्यक परे मलाई मतदान गर्ने सार्वभौम जनतासँग परामर्श गरेर प्रदेशसभा सदस्य पदबाट समेत राजीनामा दिने मनसाय बनाइसकेको छु ।’

माओवादीमा अघिल्लो पटक मन्त्री बनेकालाई दोहोर्याएर मन्त्री नबनाउने भन्दै संसदीय दलभित्रै विवाद भएको थियो । तर, पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमै उनका ज्वाइँ जीवनले आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालिसक्दा सँगै मन्त्री पदको शपथ ग्रहण गरेका राजेन्द्र कार्की भने बिनाविभागीय मन्त्री भएर मुख्यमन्त्री कार्यालयको एउटा कक्षमा सीमित भएका छन् ।

पार्टीभित्र दोहोरिएर मन्त्री नबन्ने पक्षमा केन्द्रीय सदस्य एवं पूर्व भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाइँले स्पष्ट धारणा सार्वजनिक गरेका छन् । त्यसैगरी मन्त्रीका आकांक्षी रहेका प्रदेश सभा सदस्य गणेश उप्रेतिले पनि आलोपालोमा मन्त्री हुनुपर्ने कुरामा जोड दिँदै आएका छन् ।

कोशी प्रदेशमा सभामुखसहित १३ सिट रहेको माओवादीमा इन्द्रबहादुर आङ्बो भने पाए मुख्यमन्त्री हुने गरी दलको नेतृत्व गर्दै आएका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x