कोशी

शेखरले विराटनगर पुगेर भने : तटस्थ बस्नुपर्ने सभामुखले हस्ताक्षर गर्नुभयो, निकास एमालेले खोज्ने हो

बाबुराम भण्डारी |
असार २२, २०८० शुक्रबार १६:३२ बजे

विराटनगर- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सरकार गठनको दाबी पत्रमै हस्ताक्षर गरेपछि उत्पन्न भएको संवैधानिक विवादको निकास एमालेले खोज्नुपर्ने बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा ओर्लिएर सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले सभामुख गौतम संविधान र संसदीय परम्परा अनुसार अगाडि बढ्न नसकेको बताएका हुन् ।

‘म विपी र गिरिजाप्रसादको कर्मथलोबाट बोल्दैछु, सभामुखले संविधान र संसदीय पराम्परा अनुसार अगाडि पर्नुपर्ने थियो,’ कोइरालाले भने, ‘एमालेले त कोर्ट मै जान्छु भनिराखेको छ, अब अदालतले निर्क्यौल गर्ला, अदालतले जे गर्छ त्यो हामीले स्वीकारेर हिँड्नुपर्छ, नत्र देशमा अराजकता निम्तिन्छ ।’


कोइरालाले अदालतबाटै केही न केही निकास निस्किने बताएका हुन् । उनले जोसुकैले पनि लोकतान्त्रिक परिपाटीबाट संसदीय अभ्यास र संविधानलाई टेकेर अगाडि बढ्नुपर्ने सुझाव दिए ।

संसदीय व्यवस्थामा गणितको पनि खेल हुने कुरालाई स्वीकार्नु पर्ने तर सभामुखले तटस्थ बस्नुपर्ने अवस्थामा दलको सदस्यको हैसियतले हस्ताक्षर गर्ने कार्य भने उचित नहुने नेता कोइरालाले बताए । उनले भने, ‘त्यसले भोलिका दिनमा अप्ठेरो परिस्थिति सिर्जना हुनसक्छ ।’ 

कोशी प्रदेशमा सभामुख गौतमकै लिखित समर्थनमा कांग्रेस संसदीय दलका नेता उद्वव थापा बिहीबार मुख्यमन्त्रीमा चयन भएका भएर शुक्रबार विहान पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शुक्रबार मुख्यमन्त्री पदको शपथ लिएर कांग्रेसका प्रदीप सुनुवार र नेकपा एसका कमलप्रसाद जवेगुलाई बिनाबिभागीय मन्त्री नियुक्ति गरिसकेका छन् ।

यता सभामुखको कदमलाई असंवैधानिक भन्दै उनले पदीय मर्यादा भुलेर हस्ताक्षर गरेकोमा नेकपा एमाले र राप्रपाले औपचारिक रूपमा विरोध जनाइसकेका छन् । आजै एमाले संसदीय दलले सर्वोच्च अदालतमा रिट समेत दर्ता गर्ने तयारीमा रहेको जनाइएको छ ।

अर्को प्रसंगमा कांग्रेस नेता कोइरालाले प्रधानमन्त्रीले बोल्दै आएका कुराले मुलुकमा गलत भाष्य निर्माण गर्न खोजेको आरोप लगाए । प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले नेपालको संसदको गरिमालाई नै ठेस पुर्याएको बताए ।

प्रधानमन्त्री भइसकेपछि दाहालले जे बोल्नु हुन्छ, जहाँ बोल्नुहुन्छ त्यो देशको प्रधानमन्त्रीको हैसियतैले बोलेको हुने भएकोले त्यसका बारेमा वहाँले नै सोच्नुपर्ने सुझाव दिए । ‘वहाँले कुन परिप्रेक्ष्यमा बोल्नुभयो तर अत्यन्तै गलत भाष्य निर्माण भएको छ,’ उनले भने, ‘त्यसले संसदको गरिमालाई ठेस पुर्याएको छ, नेपाली जनताको भावनालाई पनि ठेस पुर्याएको छ ।’

कोइरालाले पार्टीका दुई महामन्त्रीहरूले सभापतिहरूको भेला राखेर सहि काम गरेको बताए । तर, पार्टी सभापतिलाई नै त्यसबारे खबर नगरेको विषय पनि उठेको बताए । उनले भने, ‘खबर गरेको हो कि होइन मैले बुझ्न पाएको छैन, तर सभापति जि जानु भएन, सभापति जीलाई खबर गरेर गरेको भए अति उत्तम हुन्थ्यो, कार्यक्रमचैं नेपाली कांग्रेसलाई बल पुग्ने गरी नै भएको छ ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x