कोशी

कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउन सभामुखको अलग्गै हस्ताक्षर

सभामुखकै हस्ताक्षरले ४७ पुगेको भन्दै प्रदेश प्रमुखले नियुक्त गरे मुख्यमन्त्री

बाबुराम भण्डारी |
असार २१, २०८० बिहीबार १९:६ बजे

विराटनगर- कोशी प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । तर, उनको नियुक्ति प्रक्रियालाई लिएर भने अन्योल समेत देखिएको छ । थापालाई मुख्यमन्त्रीमा नियुक्तिका लागि पेस गरिएको दाबीमा सभामुख बाबुराम गौतमलाई अलग्गै प्रदेश सभा सदस्यका रूपमा हस्ताक्षर गरेर प्रदेश सभाको बहुमत संख्या ४७ पुर्याइएपछि यो विषय विवादित बन्ने देखिएको हो ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने गठबन्धन दलहरू मध्ये नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १२, नेकपा एकीकृत समाजवादीको ४, जनता समाजवादीको १ र सभामुख बाबुराम गौतमलाई स्वतन्त्र सांसदका हैसियतले हस्ताक्षर गराएको पत्रका आधारमा प्रदेश प्रमुख परशुराम खापुङ्गले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।


प्रदेश प्रमुख खापुङ्गले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठनका लागि बिहीबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

उपधारा (२) मा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ । तर सभामुखलाई अलग्गै प्रदेश सभा सदस्यका रुपमा उल्लेख गरेर ९३ सदस्यीय कोशी प्रदेश सभाको बहुमत संख्या ४७ पुर्याएको मुख्यमन्त्रीका लागि पेस भएको दाबी पत्रमा उल्लेख छ । सोही दाबी अनुसार प्रदेश प्रमुख खापुङ्गले पनि धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

स्वतन्त्र भूमिकामा रहनुपर्ने नैतिक जिम्मेवारीमा रहेका सभामुख गौतमले सरकार गठनकै प्रक्रियामा सांसदका रूपमा संलग्नता देखाएपछि सरकार गठनसम्बन्धी हालसम्म प्रचलित प्रक्रिया र अभ्यास नै विवादित बनेको हो ।

सभामुखलाई सरकार गठनको कार्यमा संलग्नता देखाउने परिकल्पना संविधानको नरहेको संविधानविद् भिमार्जुन आचार्यले उल्लेख गरेका छन् । उनले यस्तो कार्य असंसदीय र असंवैधानिक समेत भएको बताएका हुन् ।

‘सभामुख कै संलग्नतामा सरकार गठनको परिकल्पना संविधानले गरेको छैन, यस्तो कार्य असंसदीय र असंवैधानिक छ,’ उनले ट्वीटमा लेखेका छन्, ‘सभामुखको पद राजनीतिक रूपमा तटस्थ मानिन्छ, कोशी प्रदेशका सभामुखको यस्तो कार्य संसदको अपहेलनाजन्य कार्य हो, यसरी सरकार गठन गर्नुभन्दा त प्रदेश सरकार नै नरहनु ठीक हुन्छ ।’

गठबन्धन दलहरूले मुख्यमन्त्री दाबीका लागि बुझएको पत्रमा ‘प्रदेश प्रमुखज्यूबाट नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम २ वा २ भन्दा बढी दलहरूका समर्थनमा बहुमत प्राप्त सरकारका लागि मिति २०८७।०३।१७ गते आव्हानको सूचना भएकोले सोही सूचना बमोजिम कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरू नेपाली कांग्रेसका प्रदेश सभा सदस्य संख्या २९, नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य संख्या १२, नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य संख्या ४, जनता समाजवादी पार्टी नेपालका प्रदेश सभा सदस्य संख्या १ गरी ४ राजनीतिक दलका सदस्य संख्या ४६ र माननीय बाबुराम गौतम समेत जम्मा ४७ जना सांसद सदस्य हाल प्रदेश सभामा तत्काल कायम रहेका सदस्य संख्या ९३ जना सदस्यको बहुमत संख्या भएको’ उल्लेख छ ।

४७ जना प्रदेश सभा संदस्यहरूले नेपाली कांग्रेस संसदीय दलका नेता थापालाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कोशी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्त गर्न दलहरूको समर्थन र हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि चार राजनीतिक दल र माननीय बाबुराम गौतमका तर्फबाट दाबी प्रस्तुत गरिएको पत्रमा जनाइएको छ ।

कोशी प्रदेशका सभामुख गौतम माओवादी केन्द्रबाट ओखलढुंगाको प्रदेश सभा निर्वाचन क्षेत्र १ (२) बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी २०७९ पुस २८ मा सभामुखमा निर्वाचित भएका थिए । 

सभामुख निर्वाचित भएपछि स्वतन्त्र भूमिकामा रहनुपर्ने जिम्मेवारी अनुसार दल त्याग गर्दै निष्पक्षताको पदमा आसीन भएका गौतमले सरकार निर्माणमा क्रममा स्वतन्त्र सांसदको हैसियतले हस्ताक्षर गरेपछि थप विवादमा मुछिएका छन् । सभामुखको हस्ताक्षर समेतको आधारमा मुख्यमन्त्री दाबी पेस गरेका थापालाई प्रदेश प्रमुख खापुङ्गले पनि मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।

सभामुखलाई प्रदेश सभा सदस्यका रूपमा दाबी पत्रमा अलग्गै हस्ताक्षर गराइएकोमा स्वयं नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरूले समेत आश्चर्य व्यक्त गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका एक प्रदेश सभा सदस्यले त आफूलाई यसबारे कुनै जानकारी नै नभएको बताएका छन् ।

मुख्यमन्त्रीमा थापाको नियुक्ति नै विवादित बन्ने देखिएपछि सभामुख गौतमले पनि हस्ताक्षर गरेको सरकार गठनको दाबी पत्रमा प्रदेश प्रमुख खापुङ्गले लगाएको तोकआदेशलाई च्यातेर प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले सञ्चारकर्मीहरूलाई उपलब्ध गराएका थिए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x