कोशी

कोशी प्रदेश मध्यावधिमा जानसक्ने कांग्रेसको चेतावनी

बाबुराम भण्डारी |
जेठ ४, २०८० बिहीबार २१:४८ बजे

विराटनगर - सरकार गठनको खाकाविनै नेपाली कांग्रेसले एमाले नेतृत्वको कोशी प्रदेशको सरकारमा रहेको १० दलीय केन्द्रीय गठबन्धनको घटक नेकपा माओवादी केन्द्र र जनता समाजवादीलाई समर्थन फिर्ता लिन दवाव दिएको छ । कांग्रेस संसदीय दलको बिहीबार बसेको बैठकले माओवादी र जसपाले तत्कालै एमाले नेतृत्वको सरकारबाट बाहिरिएर अर्को सरकार बनाउने प्रक्रियाको बाटो खोल्न आग्रह गरेको हो ।

बैठकले माओवादी र जसपालाई सरकारबाट हट्न कांग्रेसले औपचारिक रुपमै आग्रह गर्ने निर्णय गरेको संसदीय दलका नेता उद्धव थापाले बताए । कोशी प्रदेशमा एमाले र कांग्रेसबीचको सरकार बन्न सक्ने सम्भावनाबारे गोप्य वैकल्पिक छलफल समेत चलिरहेको बेला उनले केन्द्रीय गठबन्धनविपरित माओवादी र जसपा वर्तमान सरकारमै बसिरहे कांग्रेसले आफ्नो कार्यक्रम बनाएर जानेदेखि मध्यावधि निर्वाचनसम्म पुग्ने सक्ने समेत चेतावनी दिएका छन् । थापाले माओवादी र जसपाले केन्द्रीय गठबन्धनको भावना विपरित एमाले नेतृत्वको सरकारमा बसिरहेका कारण नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन नसकेको संकेत गरे । उनले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट अगावै केन्द्रीय गठबन्धनमा रहेको माओवादी र जसपाले समर्थन फिर्ता लिएर गठबन्धनकै नेतृत्वको अर्को सरकार बनाउने बाटो खुल्ला गर्नुपर्ने बताए ।


‘अहिले कोशी प्रदेश सरकारमा १० दलीय गठबन्धनभित्र माओवादी केन्द्र र जनता समाजवादी पार्टी रहेको छ, उहाँहरुलाई हामीले तुरुन्तै यो सरकारलाई दिएको समर्थन फिर्ता लिन हुनका अनुरोध गर्ने निर्णय गरेका छौं, लिखित रुपमै दुईवटा दललाई यो जानकारी गराउँछौं’ थापाले भने, ‘चाँडो १० दलीय गठबन्धनको सरकार होस्, गठबन्धनमा रहेका दलहरुले तुरुन्त आफ्नो समर्थन फिर्ता गरेर नयाँ सरकार निर्माणको कार्य प्रारम्भ होस्, लिएनन् (समर्थन फिर्ता) भने हामी पनि आफ्नो कार्यक्रम बनाएर जान्छौं ।’

थापाले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसअघि नै भनेजस्तो सबै दल सहभागी हुने सहमतीय सरकार बन्ने सम्भावना भने कोशी प्रदेशमा नरहेको ठोकुवा गरे । सहमतिको सरकार बनाउन नसकिने बिषयमा केन्द्रमा दलका सबै नेताहरुलाई कांग्रेसले जानकारी गराइसकेको उनले बताए ।

‘सहमतिको सरकार बनाउने भनेर हामीले प्रयास गरेका छैनौं’ उनले भने, ‘नयाँ सरकार गठनका लागि सभामुखले राजीनामा पनि दिनुपर्दैन, मत पनि हाल्नु पर्दैन, विकल्पमा रहेको राप्रपा छ, सल्लाह संवाद गरेर समर्थनबाट पनि सरकार बनाउन सकिन्छ ।’

त्यति गर्दा पनि कोशी प्रदेशमा १० दलीय गठबन्धनको सरकार बन्ने अवस्था नभए नेपाली कांग्रेस मध्यावधिमा जान तयार रहेको थापाले घोषणा गरे । उनले भने, ‘भएन भने पनि ३० दिनको सरकार त बन्छ, हामी ३० दिनको सरकारमा पुग्छौं, केहि भएन भने अन्तिममा मध्यावधि हुन्छ, मध्यावधिमा जान्छौं, हामी मध्यावधिमा जान तयार छौं ।’

१० दलीय गठबन्धनभित्रका दुईवटा दल सरकारमा हुने र कांग्रेस सरकार बाहिर रहने कुरा उचित नभएको उनको भनाई थियो । प्रदेश सभाको अंकगणितले सरकार बन्न अप्ठेरो नहुने उनले दाबी गरे । राप्रपासँग सम्वाद गरेर अर्को सरकार बनाउन सकिने सम्भावना रहेको भन्दै त्यसअघि नै माओवादी र जसपाले सरकार छाडेर बाटो खोल्नुपर्ने कांग्रेसको भनाई छ ।

माओवादी र जसपाले तत्कालै एमाले नेतृत्वको सरकारबाट बाहिरिएर अर्को सरकार बनाउने प्रक्रियाको बाटो खोल्नुपर्नेमा कांग्रेस सांसदहरु एकमत देखिएका छन् ।

प्रदेश बेनामे थियो, नामकरणको जस अपजस लिन्छौं

यसैबीच कांग्रेस संसदीय दलका नेता थापाले पहिलो पाँच बर्षसम्म प्रदेशको नामकरण नभएका कारण जनताबाट आलोचना खेप्नु परेको बताए । उनले कांग्रेसले समेत जस अपजस लिएर कोशी प्रदेश नामाकरण सम्भव भएको बताए ।

‘जस पनि अपजस पनि हामीले लिनुपर्छ, अघिल्लो प्रदेशसभा बेनामे रह्यो, नाम दिन सकेन, अहिले पनि हामी आउँदा सुरुमै जनताबाट आलोचना खेप्नु पर्यो, भत्तामात्रै खान्छन् भन्ने आरोप आयो’ उनले भने, ‘हुँदैन भन्यौं भने हामी नामको बिरोधी हुने भयौं, हाम्रो कारणले नाम नआउने भन्ने हुने भयो, त्यसकारणले दोष, जस अपजस जे हुन्छ नाम दिएर जाउ भन्ने निश्कर्षमा पुगेका हौं ।’

उनले प्रदेशसभा प्रदेशको नाम खोइ भनेर कुरा उठेपछि कांग्रेसभित्र छलफल भएको र प्रदेशको नाम दिएर जानुपर्ने बाध्यात्मक अवस्था बनेको सुनाए । कोशी नामको प्रस्तावमा कांग्रेसका सांसदहरुले मन दुखाएर रुँदै मतदान गरेको उनको भनाई थियो । 

उनले कोशी प्रदेश नामाकरणपछि उत्पन्न परिस्थितिले प्रदेशको वातावरणलाई असन्तुलित र द्वन्द्वतर्फ अघि बढाएको भन्दै सरकार र आन्दोलनकारी दुवै वार्ताका लागि तयार हुनुपर्ने बताए । आन्दोलनकारीहरुलाई संविधानसम्मत् रुपमा शान्तिपूर्ण रुपमा विरोध गर्न आग्रह गरे ।

‘मन दुखाएर भएपनि, आलोचनात्मक समर्थन गरेर भएपनि नामको पाटोमा कांग्रेस विरोधी नहोस्, यो प्रदेशले नाम पाओस् भनेर हामी निर्णयमा पुगेका हौं’ थापाको प्रष्टिकरण थियो ।
 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x