कोशी

शैक्षिक प्रचारका सामग्रीले फोहोर बन्याे विराटनगर

बाबुराम भण्डारी |
जेठ ३, २०८० बुधबार १४:२ बजे

विराटनगर । विभिन्न कन्सल्टेन्सी र निजी शैक्षिक संस्थाहरूले परीक्षाको मौका छोपेर सामुदायिक र संस्थागत विद्यालयहरू अगाडि गर्ने अनेकौं प्रचार प्रसार र त्यस्तो प्रचार सामग्रीका कारण विराटनगर महानगरको बजार क्षेत्र नै फोहोर बनेको छ । उनीहरूले विद्यार्थीलाई लक्षित गरी विद्यालयको अगाडि एजेन्ट नै खटाएर शैक्षिक सामग्रीहरू बाँड्न लगाउँदै आएका छन् । फोहोर बढेपछि महानगरले नियन्त्रणका लागि प्रयासस्वरुप त्यस्ता सामग्री प्रचार गर्ने र सडकमै फाल्ने व्यक्तिहरूको पहिचान गरी कारवाहीको प्रक्रिया सुरु गरेको छ ।

विद्यार्थीलाई ब्रोसर लगायतका सामग्रीहरू बाँड्ने, भित्तामा टाँस्ने, विद्यालय अगाडि प्रचार सामग्री फ्याक्ने लगायतका कार्य गर्नेहरूलाई महानगरपालिकाले नियन्त्रणमा लिन थालेको जनाइएको छ । महानगरको सरसफाई व्यवस्थापन शाखाले मंगलबार मात्रै त्यस्तो शैक्षिक सामग्री फाल्ने र प्रचार गर्ने दुई जनालाई पक्राउ गरेको छ । शाखाले विराटनगर निलसदनबाट १४ र १८ वर्षीय बालकलाई शैक्षिक प्रचार सामग्रीसहित पक्राउ गरेको जनाएको छ ।


कन्सल्टेन्सी र निजी शैक्षिक संस्थाहरूले बालबालिकाहरू प्रयोग गरेर आफ्ना प्रचार सामग्री बाँड्दै आएका छन् । जसका कारण सडक नै फोहोर हुने गरेको छ । शिक्षा फाउण्डेशन नामको एजुकेशन कन्सल्टेन्सीको नामबाट त्यस्तो सामग्री वितरणमा संलग्न दुवैलाई नियन्त्रणमा लिएर कन्सल्टेन्सीका सञ्चालकलाई महानगरपालिकामा हाजिर हुन बोलाइएको सरसफाइ व्यवस्थापन शाखा प्रमुख पुनम दाहालले बताए । महानगरपालिकाले सडकमा शैक्षिक सामग्रीहरू फाल्ने कार्यमा संलग्न रहेका कन्सल्टेन्सीहरूलाई अधिकतम् एक लाख रुपैयाँसम्म जरिवाना गर्ने तयारी गरेको उनले जानकारी दिए । 

विराटनगरभित्र फोहोरमैला निष्कासन, संकलन तथा अन्तिम विसर्जन सम्बन्धी निर्देशिका २०६८ को व्यवस्थाअनुसार उनीहरूलाई कारवाही हुने व्यवस्था छ । महानगरपालिकाको सरसफाइ व्यवस्थापन शाखा प्रमुख पुनम दाहालले अहिलेसम्म ४० जना बढीलाई कारवाहीको दायरामा ल्याइएको जानकारी दिए । तर पहिलो पटक भएकाले उनीहरूलाई सचेत गराउने र सामान्य जरिवाना गरिदै आएको बताए ।

‘पहिलो पटक गल्ती गरेकोले कारवाही गर्दै आएका छौं, आठ जनालाई कारवाहीका लागि पत्र नै काटेका छौं’ उनले भने, ‘केहीले क्षमा पनि मागेका छन्, कारवाही पनि गरिरहेका छौं ।’

स्रोतका अनुसार महानगरले विराटनगरको कान्तिपुर इन्स्टिच्यूट र निहारिका कलेज लगायतलाई शैक्षिक संस्थाहरूलाई सडकमा शैक्षिक प्रचारजन्य सामग्री फालेर फोहोरमैला गरेको भन्दै सम्पर्कमा आउन पत्रचार गरेको छ ।

विद्यार्थीहरूको परीक्षाको मौका छोपेर उनीहरू लोभ्याउने उद्देश्यले प्रयोग गरिने शैक्षिक प्रचारका कारण विराटनगरका आदर्श विद्यालय, पोखरिया माध्यमिक विद्यालय, जनता स्कुलअगाडि अत्यधिक फोहोर थुप्रिंदै आएको छ ।

त्यसैगरी कन्सल्टेन्सीहरूले विराटनगरको अरनिको स्कुल, कोबास कलेज, शिक्षादिप कलेज लगायतका स्थानमा प्रचारात्मक सामग्री फाल्ने गरेका कारण फोहोरमैला बढेको महानगरपालिकाको सरसफाइ व्यवस्थापन शाखाले जनाएको छ ।

निजी शैक्षिक संस्था र कन्सल्टेन्सीहरूले विशेष गरी सामुदायिक विद्यालयमा एसइई तथा कक्षा ११ र १२ को परीक्षा चलिरहेको बेलामा विद्यालयकै अगाडि प्रचार सामग्री बाँड्दै आएका छन् । त्यसरी बाँडिने सामग्रीहरू विद्यार्थीहरूले सडकमै फाल्ने गरेका हुन् । जसका कारण महानगरपालिकाको सडक कागजको फोहोरबाट प्रदुषित बन्दै गएपनि कडाई गर्न थालिइएको हो ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x