कोशी

कोशी प्रदेशमा पछिल्लाे तीन वर्षमा हराएका ९२४० मध्ये २२८४ जना अझै भेटिएनन्

बाबुराम भण्डारी |
बैशाख २७, २०८० बुधबार १५:५० बजे

विराटनगर । कोशी प्रदेशमा मात्रै तीन वर्षयता ९ हजार बढी मानिस हराएका छन् । हराएका मध्ये २४ प्रतिशत बढी मानिस भने अझै भेटिएका छैनन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष २०७७–७८ देखि चालु आर्थिक वर्ष २०७९–८० को चैत महिनासम्म ९ हजार २४० जना व्यक्ति हराएका छन् । २ हजार २८४ जना अझै पनि नभेटिएको जनाइएको छ । अहिलेसम्म ६ हजार ९५६ जना व्यक्तिहरू भने फेला परेका छन् ।


चालु आर्थिक वर्षको ९ महिनामा मात्रै कोशी प्रदेशमा २ हजार ६५८ जना व्यक्ति हराए । हराएका मध्ये १ हजार ९५१  व्यक्ति मात्रै फेला परेको कोशी प्रदेश प्रहरीको तथ्यांकमा उल्लेख छ ।

आर्थिक वर्ष २०७८–७९ मा ३ हजार ७८५ जना व्यक्ति हराएकोमा २ हजार ८८७ जना फेला परेका छन् । त्यस्तै ०७७–७८ मा २ हजार ७९७ जना हराएकोमा २ हजार ११० जना भेटिएको कोशी प्रदेश प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल दाहालले जानकारी दिए ।

प्रदेशको शान्ति सुरक्षा लगायतका विभिन्न विषयमा त्रिवर्षीय तुलनात्मक कार्य विवरण प्रस्तुत गर्दै उनले गत आर्थिक वर्षको अनुपातमा ट्राफिक दुर्घटनामा भने ८ दशमलव ६४ प्रतिशतले कमी आएको पनि जानकारी दिए । आर्थिक वर्ष २०७८–७९ को चैतसम्ममा दुई हजार ८३५ वटा दुर्घटना भएकोमा चालु आर्थिक वर्ष ०७९–८० को यही अवधिमा दुई हजार ५९० वटा मात्रै दुर्घटना भएका छन् । दुर्घटनामा कमी आएका कारण मृत्युको संख्या पनि घटेको छ । चैत महिनासम्मको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा २५ दशमलव ४२ प्रतिशतले दुर्घटनामा कमी आएको जनाइएको छ । २०७८–७९ मा ४०९ वटा सवारी दुर्घटना भएकोमा चालु आवको चैतसम्म कुल ३०५ वटा मात्रै दुर्घटना भएको जनाइएको छ ।

आर्थिक वर्ष २०७७–७८ यता तीन बर्षमा ५७ हजार २०४ वटा ट्राफिक सचेतनाका कार्यक्रम सञ्चालन गरिएको प्रहरीको दाबी छ । जसबाट कोशी प्रदेश भरीमा १८ लाख ८० हजार ४५० जनाले ट्राफिक सचेतना प्राप्त गरी लाभान्वित भएको जनाइएको छ । कोशी प्रदेशमा तीन वर्षयता ७ लाख ३१ हजार ३५१ वटा सवारी साधनमाथि ट्राफिक प्रहरीले कारवाही गरेको छ । जसबाट ३५ करोड ७० लाख ६९ हजार ५०० रुपैयाँ जरिवाना असुल भएको प्रहरीको भनाइ छ ।

यसैबीच कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजेशनाथ बास्तोलाले प्रदेशको शान्ति सुरक्षा लगायत आफ्नो जिम्मेवारीमा रहेका सवै काम इमान्दारितापूर्वक गर्ने बताएका छन् ।

पत्रकारहरूसँगको कुराकानीमा उनले समग्र शान्ति सुरक्षा र जनताको जिउधनको सुरक्षाका लागि जनचेतनामूलक कार्यक्रमलाई तीब्रता दिने, अपराध नियन्त्रणका कार्यक्रम सञ्चालन गर्ने, फरार अभियुक्तहरूको खोजी र पक्राउ अभियानलाई तीब्रता दिने र भन्सार छलीबाट हुने चोरी निकासी निस्तेज तथा लागूऔषध ओसारपसार नियन्त्रणमा कडाइ गरिने प्रतिवद्धता जनाए ।

डिआइजी बास्तोलाले प्रहरी संगठन भित्रको आन्तरिक सुद्धिकरण र व्यवस्थित परिचालनलाई आफूले ध्यान दिने बताए । तोकिएको दरबन्दीमै प्रहरी कर्मचारीले काम गर्ने वातावरण बनाउने दाबी गरे । कोशी प्रदेशमा हाल करिब १० हजार प्रहरी कार्यरत रहे पनि २ हजार ५०० प्रहरी काजमा काम गर्दै आएको उनले बताए । 

समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत समाजमा हुने कानुन उल्लंघन र अपराधका घटनालाई न्यूनीकरण समेत आफूले मातहतका जिल्लाका प्रहरी कार्यालयहरूलाई निर्देशन गरिसकेको बताए । समुदायसँग मिलेर गरिने कामलाई प्रहरीले प्राथमिकतामा राखेको बताए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x