राजनीति

एमालेबाट चार महानगर मेयरका उम्मेदवार ‘पक्का’, यस्तो छ यी चारको पृष्ठभूमि

कमल विष्ट |
बैशाख ९, २०७९ शुक्रबार १४:९ बजे

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशका ६ महानगरपालिकामध्ये ४ वटामा मेयरका उम्मेदवार तय गरेको छ । 

एमालेको बिहीबार बसेको सचिवालय बैठकले काठमाडौं, ललितपुर, भरतपुर र वीरगञ्ज महानगरमा मेयरका उम्मेदवार टुङ्ग्याएको हो । 


तल्लो समिटीबाट सर्वसम्मत सिफारिस भएर आएका ३ उम्मेदवार हरिकृष्ण ब्यन्जनकार, विजय सुवेदी र विजय सरावगीलाई क्रमशः ललितपुर, भरतपुर र वीरगञ्ज महानगरमा उठ्ने भएका छन् । 

केशव स्थापित सर्वसम्मत सिफारिस नभए पनि पार्टीले काठमाडौं महानगरको मेयरको उम्मेदवार स्थापितलाई बनाउने निर्णय भएको एमालेका एक सचिवालय सदस्यले बताए । सचिवालयले सबै महानगर–उपमहानगरका प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम एकैचोटि भोलि सार्वजनिक गर्ने निर्णय गरेकाले पक्का भएका यी चारको नाम हिजो सार्वजनिक नभएको ती सचिवालय सदस्यले इकागजसँग भने । 

‘सबै महानगर र उपमहागरका प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम अब एकैचोटी भोलिको बैठकबाट सार्वजनिक गरौँ भन्ने हाम्रो निर्णय भयो,’ नाम खुलाउने नचाहेका ती नेताले भने, ‘यी चारसहित भोलिको बैठकले सबै उम्मेदवारको नाम फाइनल गर्नेछ ।’

यस्तो छ एमालेबाट सदर यी चारको पृष्ठभूमि

केशव स्थापित

काठमाडौं महानगरको प्रमुखमा सदर भएका केशव स्थापित बागमती प्रदेशको पूर्व भौतिक पूर्वाधारमन्त्रीसमेत हुन् । स्थापित यसअघि २०५४ सालमा काठमाडौंको प्रमुख भइसकेका छन् । उनले आफ्नो कार्यकालमा काठमाडौंको भौतिक पूर्वाधार र व्यवस्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको मानिन्छ। उनलाई धेरैले दूरदर्शी मेयरका रुपमासमेत चित्रित गर्छन् । 

हरिकृष्ण ब्यन्जनकार

ललितपुर महानगरबासीमाझ राम्रो सार्वजनिक पहिचान भएका हरिकृष्ण व्यन्जकार २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट ललितपुर महानगरको मेयरबाट उठेका थिए । ब्यन्जनकार नेपाली कांग्रेसका निकटतम् प्रतिद्वन्दी चिरीबाबु महर्जनसँग ३ सय २६ मतको झिनो अन्तरले हारेका थिए । महर्जनले २४ हजार ६ सय ४२ मत ल्याएर ललितपुरको मयेरमा निर्वाचित हुँदा ब्यन्जनकारले २४ हजार ३ सय ४२ मत प्राप्त गरेका थिए । 

चुनावमा धाँधली भयो भन्दै उनले अदालतमा मुद्धासमेत दायर गरेका थिए । तर, अदालतले उक्त मुद्धाको छिनोफानो अहिलेसम्म गरेको छैन । 

विजय सुवेदी

एमालेबाट भरतपुर महानगरको मेयरमा सर्वसम्मत सिफारिस भएका विजय सुवेदीले गत निर्वाचनमा पनि मेयरमा आकांक्षा देखाएका थिए । तर, पार्टीले उनलाई टिकेट दिएन, बरु उनलाई चितवन निर्वाचन क्षेत्र नम्बर २ ‘ख’को उम्मेदवार बनाएको थियो । प्रवेशसभाका सांसद सुवेदी केही समय बागमती प्रदेशको मन्त्रीसमेत बनाए थिए । गत स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरको मेयरमा एमालेबाट उठेका देवी ज्ञवाली नेकपा माओवदी केन्द्रकी रेणु दाहालसँग पराजित भएका थिए ।

विजय सरावगी 

गत स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरको मेयरमा तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित विजयी सरावगी दुई महिनाअघि एमालेमा प्रवेश गरेका हुन् । एमालेबाट पक्का मेयरको टिकेट पाउने भएपछि एमाले प्रवेश गरेका उनले १९ हजार ३ सय ९३ मत प्राप्त गरेका थिए । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अजय द्विवेदी १ सय ९६ को झिनो मतअन्तरले पराजित भएका थिए । 

टिकेट पाउनकै लागि एमाले प्रवेश गरेको चर्चा चलेका सरावगी ११ जना वडाध्यक्षसहित एमाले प्रवेश गरेका थिए । व्यपारिक पृष्ठभूमि भएका सरावगी गत निर्वाचनमा तत्कालीन समाजवादी प्रवेश गरेर मेयरमा लडेका थिए । 

गत निर्वाचनमा यस महानगरको मेयरमा एमाले तेस्रो धेरै मत ल्याउने दल बनेको थियो । एमालेबाट मेयरकी उम्मेदवार बसरुद्धिन अन्सारीले ८ हजार ६ सय ८८ मत प्राप्त गरेका थिए ।  


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x