राजनीति

स्थानीय तह निर्वाचनमा उम्मेदवारले कहिले गर्न पाउँछन् प्रचारप्रसार ?

अतिन आचार्य |
बैशाख ८, २०७९ बिहीबार १९:५२ बजे

फाइल तस्बिर

काठमाडौँ- आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवारले ११ दिन मात्र प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगको ऐनमा स्थानीय तहको निर्वाचनका लागि १५ दिन मात्र प्रचारप्रसार गर्न पाइने व्यवस्था उल्लेख छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुर्य प्रसाद अर्यालले निर्वाचन कार्यक्रम ११ गतेबाट सुरु हुने जानकारी दिए ।


'१७ गते स्वतन्त्र लगायतका सबै उम्मेदवारलाई चिन्ह प्रदान हुन्छ', अर्यालले भने',  चिन्ह भएकाहरूले पहिलेदेखि प्रचार गरिरहेका छन् । स्वतन्त्रमा उठ्ने उम्मेदवारले चिन्ह पाएका हुँदैनन् । चिन्ह पाएपछि उनीहरूले भने ११ दिनसम्म प्रचारप्रसार गर्छन् । १७ गतेबाट २७ गतेसम्म प्रचारप्रसार गर्न पाउने छन् ।'

उनका अनुसार ११ गते १२ गतेसम्म उम्मेदवार मनोनयन दर्ता हुन्छ । १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने । १४ र १५ गते मनोनयन दर्ताको जाँचबुझ गरी छानबिन हुन्छ ।

आयोगले १५ गते मनोनयन उम्मेदवारको नामावली प्रकाशन गर्छ । १६ गते उम्मेदवारले नाम फिर्ता लिने, नामावली प्रकाशन र १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको अर्यालले प्रस्ट पारे ।

विगतमा पनि स्थानीय निर्वाचनको प्रचारप्रसार ११-१२ हुने गरेको थियो । आयोगको ऐन अनुसार स्थानीय निर्वाचन १५ दिनभन्दा बढी प्रचारप्रसार गर्न पाइदैन । स्थानीय तहको प्रचारप्रसार विशेषगरी १५ दिनभित्र सबै सक्नुपर्छ ।

आयोगका अनुसार चिन्ह नपाएसम्म उम्मेदवारले प्रचार गर्दैनन् । स्वतन्त्र उम्मेदवारलाई कुन चिन्ह पर्छ थाहा हुन्न । चिन्ह पाएपछि उम्मेदवारले १७ गतेबाट प्रचारप्रसारको कार्यक्रम सुचारु हुन्छ ।

प्रतिनिधि सभाको निर्वाचन प्रचार भने करिब एक महिनासम्म पाइने व्यवस्था छ । २१ दिनदेखि बढीमा वा एक महिनासम्म प्रचार गर्न पाइने अर्यालले जानकारी दिए ।

मदिरा निषेधका लागि स्थानीय सुरक्षाका लागि केही कडाइ गर्न सक्ने उनले बताए । मौन अवधि प्रारम्भ भएपछि मतदान केन्द्रको वरिपरि निषेध हुन्छ । होटल तथा रेष्‍टुरेन्ट निगरानीमा रहने छन् ।

यस पटकको स्थानीय निर्वाचन आउन २२ दिन बाँकी छ । कार्यकर्ताले दलको चिन्ह अंकित टिसर्ट र टोपी लगाउन नपाउने भएका छन् । निर्वाचन आयोगले चैत २५ गतेदेखि निर्वाचन आचार संहिता पनि लागू गरिसकेको छ ।

राजनीतिक दलको सभामा सहभागीहरूले झण्डा अंकित लोगो, स्टिकर वा कपडा, टोपी वा क्याप लगाउन पाउने छैनन् । भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट समेत लगाउन पाउने छैनन् ।

उम्मेदवारको कार्यालयमा ३×३ फिट कपडाको झण्डा, तुल र चिन्ह पाइने व्यवस्था छ । त्यसदेखि बाहेक अन्य प्रचार सामग्री श्रव्यदृश्य सामग्री प्रयोग गर्न पाइने छैन ।आमसभा र जुलुसमा १८ वर्षभन्दा कम उमेरका बालबालिका प्रयोग निर्वाचन आचारसंहिता विपरीत मानिनेछ ।

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x