राजनीति

नेकपा विवाद

ओली-दाहालको अन्तिम ‘अस्त्र’

विनोद देवकोटा |
कात्तिक २१, २०७७ शुक्रबार १४:३३ बजे

काठमाडौं : सत्तारुढ नेकपा विवाद पछिल्लो समय गुट केन्द्रीत भएको छ । नेतृत्व तहमा निर्णायक छलफल हुन नसकेपछि ‘वार कि पार’ गर्न नेताहरू गुट केन्द्रीत छलफलमा जुटेका हुन् । 

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छुट्टा छुट्टै छलफलमा व्यस्त छन् । कर्णाली प्रकरणबाट सुरु भएको पछिल्लो विवाद ‘वार कि पार’ को अवस्थामा पुगेको छ । दुबै पक्ष कसले पहिले फायर खोल्ने भन्नेमा छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीले पटकपटक इतर समूहलाई खुला चुनौती दिइरहेका छन् । 


ओलीले मिलेर जान नसकिने भए अगलअलग भएर जान दाहाललाई आग्रह गरिसकेका छन् । त्यस्तै आफूले कुनै पनि हालतमा प्रधानमन्त्रीबाट पनि राजीनामा नदिने स्पष्ट पारिसकेका छन् । बिहिबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई ‘अलर्ट’ मा आग्रह गरेका थिए । समस्या जटिल रहेकोले अलर्ट रहन ओलीले मन्त्रीहरूलाई आग्रह गरेका हुन् । ओलीको उक्त कुराले पनि नेकपामा अनिष्टको संकेत गर्छ । दाहाल समूह भने रक्षात्मक देखिएको छ । 

तर, दाहाल समूहका नेताहरू भने त्यसलाई पार्टी एकताको भावना अनुरुप भएको ठान्छन् । पूर्व माओवादी पुष्टभूमिका एक नेताले त्यसलाई दाहाल समूह रक्षात्मक अवस्थामा रहेको भन्न नमिल्ने बताए । उनकाअनुसार दाहाल नेपाल समूह अन्तिमसम्म एकता कायम गरेर जानुपर्ने मनसायमा छ । तर, ओलीले लगातार चुनौती दिइरहे निर्णायक मोडमा भने परिस्थिति सोचकोभन्दा फरक हुने उनको भनाइ छ । ‘दाहाल नेपाल समूह अहिले संस्थापन समूह हो’, इकागजसँग उनले भने, ‘हरेक कमिटिमा दाहाल नेपाल समूह पूर्ण बहुमतमा छ । 

सचिवालयदेखि स्थायी समिति र केन्द्रीय समितिमा पनि । संसदीय समितिमा पनि बहुमत छ । यो अवस्थामा रक्षात्मक हुने कुरै हुँदैन । संस्थापनले फुटको कुरा गर्दैन । अल्पमतमा भएको समूहले हो फुटको कुरा गर्ने ।’ दाहाल नेपाल समूहले पनि विभिन्न विकल्पबारे आन्तरिक छलफल गरिरहेको अर्का एक स्थायी समिति सदस्यले बताए । निकटका नेताहरूसँग निरन्तर छलफल चलिरहेको बताउँदै उनले भने,‘ओलीको स्पष्ट रणनीति पूर्व एमाले समूहका नेताहरूलाई आफ्नो पक्षमा पार्ने प्रयास भइरहेको छ, अन्ततः पूर्व माओवादीलाई आइसोलेट गर्ने ओलीको रणनीति छ, त्यसका लागि उनले सत्ता र शक्तिको समेत प्रयोग गरिहेको छन्, नेताहरूलाई विभिन्न प्रलोभन र धम्की दिनेसम्मका काम भएका छन्, यतिसम्म कि राष्ट्रपतिलाई समेत प्रयोग गरिएको छ ।’

ओलीले दाहाल नेपाल समूह भत्काउने प्रयास गरे पनि त्यो सफल नहुने उनले दाबी गरे । नेपाल समूहलाई फर्काउने ओलीको प्रयास सफल हुने नदेखेपछि अहिले समूहका नेताहरूसँग एक्लाएक्लै भए पनि तान्ने प्रयास भइरहेको उनले बताए । ओलीले निरन्तर चुनौती दिइरहेका छन्, तपाईहरूको तयारी चाहि के छ ? भन्ने प्रश्नमा उनले भने, ‘अझै केही समय प्रतिक्षा गर्ने दाहाल नेपालको मनसाय छ । एकता कायम राख्न अन्तिमसम्म प्रतिक्षा गर्ने भन्ने छ । तर विकल्प नहुने कुरै भएन । हामीसँग रहेक कमिटिमा स्पष्ट बहुमत छ । ओलीलाई अनुसाशनको कारबाही हुनसक्छ । अविश्वासको प्रस्ताव ल्याउनेसम्मको निर्णय हुनसक्छ । तर अहिले त्यो कल्पना नगरौं । हामी एकता कायम हुनुपर्छ भन्नेमै छौं । ’

अन्ततः पूर्व माओवादीलाई आइसोलेट गर्ने ओलीको रणनीति छ, त्यसका लागि उनले सत्ता र शक्तिको समेत प्रयोग गरिहेको छन्, नेताहरूलाई विभिन्न प्रलोभन र धम्की दिनेसम्मका काम भएका छन्, यतिसम्म कि राष्ट्रपतिलाई समेत प्रयोग गरिएको छ ।

दाहालसहित उक्त समूहमा माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, बाबदेब गौतम र नारायणकाजी श्रेष्ठ छन् । नेपाल र खनाल पनि हालसम्मसँगै छन् । गौतम खुलेर बोलेका छैनन् । हालसम्म दाहाल पक्षसँगै रहेको बुझ्न सकिन्छ । पूर्व माओवादी कै नेता तथा सचिवालय सदस्य रामबहादुर थापा भने हालसम्म खुलेका छैनन् । दाहालले आजै सचिवालय बैठक बोलाएका छन् । सम्भवतः उक्त बैठकबाटै दाहालले आफ्नो अन्तिम अस्त्र प्रयोग गर्नेछन् । 

यो पनि पढ्नुहोस् 
ओलीको ‘फुटाऊ’ अस्त्र : निशानामा को ?
 

जानकाहरुका अनुसार अन्तिम अस्त्रका रुपमा दाहालले ओलीलाई अनुशासनको कारबाही गर्ने वा संसदीय समितिमा अविश्वासको प्रस्ताव ल्याउन सक्छन् । नेकपाका एक सचिवालय सदस्यका अनुसार आजको बैठकले पार्टीभित्रको समस्या समाधान उपाय खोज्नेछ । ‘सरकार एकतर्फी पार्टीको निर्णयभन्दा बाहिर गयो’, ती सदस्यले भने,‘आजको बैठकले छिनोफानो गर्नेछ ।’ 

ओलीको अस्त्र 

दाहाल नेपाल मात्रै होइन ओली पक्षीय नेताहरू पनि तीब्र आन्तरिक छलफलमा छन् । पूर्व एमाले समूहका नेताहरूले सामूहिक र एक्लाएक्लै छलफललाई निरन्तरता दिइरहेका छन् । सो समूहको पहिलो प्रयास नेपाल समूहलाई इतरबाट फुटाउने छ । 

त्यो सम्भव नभए केही नेतामात्रै भए पनि आफ्नो पक्षमा पर्ने ओलीको रणनीति छ । पूर्व एमालेबाट प्रतिनिधित्व गर्ने नेकपाका एक केन्द्रीय सदस्यले पनि त्यसलाई पुष्टि गरे । ओली निकटका ती नेताले निकटका नेताहरूसँग केन्द्रदेखि जिल्लासम्म निरन्तर छलफल भइरहेको बताए । 

‘पार्टीमा विवाद देखिएपछि आन्तरिक छलफल भइरहेको छ’, उनले भने,‘पूर्व एमाले एक भएरअघि बढ्नुपर्छ भन्नेमा प्रधानमन्त्री हुनुहुन्छ । त्यसमा विभिन्न विकल्पबारे पनि छलफल भइरहेको छ ।’ तर विकल्प के हुन भन्ने प्रश्नमा भने उनले खुलाउन चाहेनन् । ‘अब धेरै दिन यस्तै अवस्था रहदैन’, उनले भने, ‘विकल्प छिट्टै थाहा हुन्छ ।’
दाहालस समूहको अन्तिम अस्त्र ओलीलाई थाहा नहुने कुरै भएन । दाहाललाई खुला चुनौती दिँदै आएका ओलीले पनि अन्तिम विकल्पका रुपमा आफ्नो अस्त्र प्रयोग गर्न सक्छन् । 

ओली निकटका नेताहरूले विकल्पबारे खुलेरै कुरा नगरे पनि आन्तरिक छलफलमा भने विभिन्न विकल्पमा कुरा हुने गरेको छ । पहिलो हो अध्यादेश ल्याएर पार्टी फुटाउने । स्रोतका अनुसार ओली समूहको आन्तरिक छलफलमा पनि यस विषयमा छलफल हुने गरेको छ । ओली निकटका नेताहरूले फेरि अध्यादेश ल्याएर पार्टी फुटाउनुपर्ने विकल्पमा छलफल भएको थियो । 

प्रधानमन्त्री ओलीले गएको बैशाखमा पार्टी फुटाउन सक्ने गरी अध्यादेश ल्याएका थिए । उक्त अध्यादेश विवादित बनेपछि फिर्ता गरेका थिए । कानूनमा कुनै पनि पार्टी विभाजन गर्न केन्द्रीय समिति र संसदीय दल दुबैमा ४० प्रतिशत सदस्य सहमत हुनुपर्छ । जुन हाल प्रधानमन्त्री ओली समूहसँग छैन । अध्यादेश ल्याएर प्रधानमन्त्री ओलीले आफू अनुकल खुकुलो बनाउन सक्छन् ।


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x